यतिवेला सडकमा राजसंस्थाका पक्षमा किन प्रदर्शन भइरहेको छ ? समयका हिसाबले यसको सन्देश के हो ?
अहिले नेपाली जनतामा रहेको असन्तुष्टिको स्वाभाविक अभिव्यक्तिका रूपमा यसलाई लिनुपर्छ । १० वर्षको हिंसात्मक विद्रोह र ०६२÷६३ को परिवर्तनपछि जनताले आमरूपमा परिवर्तनको जुन अपेक्षा गरेका थिए, त्यसको अनुभूति १४ वर्षयता जनतालाई भएन । पछिल्लो परिवर्तनपछि नयाँ नेपाल बनाउने, जनताको समृद्धि कायम गर्ने, जनतालाई दासताबाट मुक्ति दिलाउने परिवर्तनकारी पक्षले भनेका थिए, तर परिस्थिति ठीक त्यसको विपरीत छ । जनतामा परिवर्तनको अनुभूति भएको छैन । बरु, यसबीचमा भ्रष्टाचार, आन्तरिक मामिलामा बाह्य चलखेल, धर्मपरिवर्तन, कुशासन बढेको छ । वास्तवमा देश अहिले संकटमा छ । तत्कालीन विद्रोही र आन्दोलनकारी पक्ष भ्रष्टाचारमा संलग्न छन् भन्ने तथ्यहरूले बताइरहेका छन्, हामीले भनिरहनुपर्दैन । यी सबै विसंगतिमा परिवर्तनकारी पक्षधर नेताको गैरजिम्मेवारी त छँदै छ, आमरूपमा अहिले यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ ।
सडक प्रदर्शन तपाईंहरूको योजनाअनुसार संगठित रूपमा भइरहेको हो कि नेतृत्व गर्ने अरू पक्ष छन् ?
अहिले सडकमा भइरहेको प्रदर्शन वा असन्तुष्टि जे भन्नुस् यो स्वतस्फुर्त रूपमा आएको जमात हो । यो एकीकृत वा केन्द्रीकृत रूपमा भएको होइन । विभिन्न नागरिक समितिहरू गठन भएर कार्यक्रम भइरहेको छ । स्थानीय रूपमा स्वतस्फुर्त रूपमा जनताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । राप्रपा संस्थागत रूपमा यसमा संलग्न छैन । तर, हाम्रा कार्यकर्ता सडकमा छन् । हामीले उनीहरूलाई रोकेका छैनौँ, बरु जाऊ भनेर प्रोत्साहित नै गरिरहेका छौँ । राप्रपाको स्थायी नीति के छ भने हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जोकोहीले गर्ने आन्दोलन वा कार्यक्रममा हाम्रो नैतिक समर्थन स्वतः रहन्छ । अहिले भइरहेका कार्यक्रमलाई राप्रपाको नैतिक समर्थन र ऐक्यबद्धता छ । अहिले भइरहेको प्रदर्शनले जनमत सिर्जना गर्न खोजिरहेको छ । अहिलेसम्म सहमतिका आधारमा, संवैधानिक परिधिबाट सुधारको चाहना मुखरित भएको छ । हामीले भन्दै आएका छौँ कि निरन्तरतासहितको परिवर्तन हुनुपर्छ । कसैलाई निषेध गर्ने होइन, सबै अटाउने परिवर्तन चाहिन्छ । तर, हाम्रो आवाजलाई सुनिएन । ०६३ पछिको राजनीतिक मार्गचित्र नै त्रुटिपूर्ण छ भनेर हामीले भन्दै आएका छौँ । अहिले आमरूपमा असन्तुष्टिले यो पुष्टि भएको छ । देश यो संकटतर्फ जान्छ र यो परिस्थिति आउँछ भन्नेमा हामी स्पष्ट थियौँ । त्यसकारण अब देशलाई संकटबाट मुक्त गर्न, एउटा मात्र विषयमा होइन, समग्रमा नै समाधानको उपायसहित संघर्षमा हामी पनि जाँदै छौँ । हामी संघर्षको तयारीमा छौँ । पछिल्लो परिवर्तनको १४ वर्षको अभ्यासले स्पष्ट देखाइसकेको छ कि अब व्यक्ति वा पार्टी परिवर्तनले मात्रै जनताको मुद्दा सम्बोधन हुँदैन । व्यापक सुधारमा जानुपर्छ । ०६३ पछिको त्रुटिपूर्ण राजनीतिक मार्गचित्रलाई त्यागेर नीतिगत र व्यवस्थागत परिवर्तनतर्फ अघि बढ्नुपर्छ ।
राजा आऊ, देश बचाऊ भन्ने नारासहित भइरहेका प्रदर्शन संविधानविपरीत होइन र ? कुनै पनि प्रदर्शन संविधानअनुसार हुनुपर्छ नि, होइन र ?
जनआवाजलाई षड्यन्त्र भन्नु आधारहीन हो । सडक प्रदर्शन लुकाएर भएको छ र ? जनता नै सडकमा आएका छन् । यो संविधानविरोधी प्रदर्शन पनि होइन । हामीले विगतमा संविधानसभामा नै हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा आवाज उठायौँ । र, ०७२ मा जारी भएको संविधानमा जनअभिमतबाट व्यवस्थासमेत परिवर्तन गर्न सक्ने अधिकार सुनिश्चित छ । मुलुकको स्वतन्त्रता, राष्ट्रिय एकता र सार्वभौमसत्ताबाहेक सबै विषय परिवर्तन गर्ने आधार संविधानमा सुनिश्चित गरिएको छ । त्यसकारण गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता अपरिवर्तनीय विषय होइनन् । जनअभिमतबाट यो परिवर्तन हुन नसक्ने भन्ने हुँदैन । तर, जनअभिमतलाई जालझेलबाट दबाउन खोजियो भने सडकबाट परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । मेरो आग्रह छ, जनतालाई रोक्ने होइन, जनताको आवाज सम्बोधन गरौँ । किनभने युवाहरू स्वतः सडकमा आएका छन् । उनीहरूको जायज आवाजलाई सकारात्मक रूपमा लिइएन भने सबै पक्ष एकैसाथ सडकमा उत्रिनुपर्ने अवस्था आउन सक्छ । पछिल्ला परिवर्तनका संवाहकहरूले राम्रो काम गरिदिएको भए यो अवस्था आउने थिएन । तर, म यो पनि स्पष्ट गर्न चाहन्छु कि अहिले भएका प्रदर्शन कुनै नेता वा व्यक्तिलक्षित छैनन् ।
अहिलेको सडक प्रदर्शन कहाँसम्म पुग्ला ?
यो झनै बढ्दै जाने सम्भावना देख्छु । बुटबल, कोहलपुर हुँदै अहिले हरेक दिनजस्तो कार्यक्रम भइरहेको छ । मैले भनेँ, यो आवाजलाई ठीक ढंगले सम्बोधन भएन भने यो अभियान केन्द्रीकृत र एकीकृत रूपमा अघि बढ्छ । राप्रपा पनि यसमा सामेल हुन्छ । म यो पनि स्पष्ट भन्न चाहन्छु कि हामीले विगतको व्यवस्था पुनस्र्थापित गर्न खोजेको होइनौँ । प्रतिगमन अब सम्भव छैन र आवश्यक पनि छैन । परम्परागत शक्ति र परिवर्तनकारी शक्तिबीच सामञ्जस्य खोजौँ भनेका छौँ । यो पनि स्पष्ट गर्न चाहन्छु कि ०६३ पूर्वको राजसंस्था पुनस्र्थापित हुन सक्दैन । किनभने यहाँ गणतन्त्र पक्षधर जनमत पनि ठूलो छ । उनीहरूलाई पनि चित्त बुझ्ने गरी लोकतन्त्रको परिधिमा रहने राजसंस्थाको परिकल्पना हामीले गरेका छौँ । हामीले राजतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको परिकल्पना गरेका छैनौँ । धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र भनेका छौँ । संघीयताका पक्षमा छैनौँ, तर त्यसका कतिपय राम्रा पक्षलाई विकेन्द्रीकरणका सन्दर्भमा उपयोग गरौँ भनेका छौँ । प्रदेश आवश्यक छैन भन्ने त प्रमाणित नै भइसकेको छ ।
प्रदर्शनमा निर्मलनिवास अर्थात् पूर्वराजाको भूमिका कस्तो पाउनुभएको छ ?
यसमा निर्मलनिवास वा पूर्वराजाको भूमिका छ जस्तो मलाई लाग्दैन । बरु निर्मलनिवासबाट कहिलेकाहीँ हामीले राजनीतिक संरक्षण कतैबाट पनि पाएनौँ भन्ने गुनासो सुन्ने गरेका छौँ । यो अभियानमा ८० प्रतिशत राप्रपाका कार्यकर्ता वा हामीलाई विश्वास गर्नेहरू छन् । मानिसहरू स्वतस्फुर्त रूपमा निस्केका छन् । जिल्ला–जिल्लाबाट हामीलाई के गरौँ भनेर फोन गर्ने कार्यकर्तालाई प्रदर्शनमा भाग लिनुस् भनेका छौँ ।