रसुवाको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डको विकासका लागि एकीकृत विकास योजना निर्माण गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गोसाइँकुण्डको विकासका लागि एकीकृत विकास योजना निर्माण गरेको हो ।
मन्त्रालयले बिहीबार सदरमुकाम धुन्चेमा जिल्लाका सरोकारवाला निकायसँगको अन्तर्क्रिया कार्यक्रममा गोसाइँकुण्डको बृहत्तर विकासका लागि एकीकृत विकास योजना निर्माण गरिएको जनाएको हो । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन आवास तथा सहरी विकास महाशाखाका महाशाखा प्रमुख राजेशकुमार पौडेलका अनुसार ३३ करोड आठ लाख एक हजार सात सय ६२ रुपैयाँ ९२ पैसाको योजना निर्माण गरिएको छ ।
योजनाअनुसार गुम्बा घरको सिभिल निर्माण, मन्दिर निर्माण, शौचालय निर्माण, रेलिङ, ढुंगाको गारो लगाई तारबार लगाउने, ढल, उपचारस्थल निर्माण, ६ वटा ट्रस भवन निर्माण, प्लम्बिङ कार्य, चोलाङपाटीदेखि लौरीविनासम्मको भऱ्याङ निर्माण, त्रिशूलधारा भऱ्याङ निर्माण, हेलिप्याड निर्माण गरिने भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका– ५ मा पर्ने गोसाइँकुण्डमा एकीकृत विकास आयोजना निर्माण गर्न गत वर्ष विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनअनुसार आयोजना क्षेत्रमा अहिले २५ घरधुरीका एक सय ५० जना रहेका छन् । सन् ०४० सम्ममा ३१ घरधुरीमा एक सय ८८ जना रहने अनुमान गरिएको छ ।
योजनाअनुसार खानेपानी वितरणका लागि २० वर्षको समयावधि प्रक्षेपण गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको बताइएको छ । जसअनुसार वितरण प्रणाली बनेमा १२ हजार दुई सय २० लिटर पानी वितरण हुने भएको छ । जसमा मुख्य पाइप लाइन दुई दशमलव १६ किलाेमिटर मुख्य पाइपलाइन र चार दशमलब ६१ किलाेमिटर शाखा पाइपलाइन रहने भएको छ । वितरण लाइन तथा घरको धारा जडानमा भने उपभोक्ताले १० प्रतिशत श्रमदान गनुपर्ने बताइएको छ ।
सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकासलाई टेवा पुग्ने गरी भौतिक पूर्वाधारको विकास गर्ने योजनामा आफूहरू रहेकोसमेत बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन आवास तथा सहरी विकास महाशाखाका महाशाखा प्रमुख राजेशकुमार पौडेलले बताए । सदरमुकाम धुन्चेबाट योजनास्थलसम्मको दूरी ११ दशमलव आठ मिलोमिटर रहेको बताइएको छ ।
त्यस्तै, अन्तर्क्रिया कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकास निर्माणको प्रारम्भिक चरणको काम सुरु भएको बताए । गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकासका लागि सरोकारवाला माझ विस्तृत परियोजना प्रतिवेदन छलफलमा ल्याएसँगै निर्माण प्रक्रियाको पहिलो चरणको कामको सुरुवात भएकोसमेत उनले बताए । बहुवर्षे कार्यक्रमअन्तर्गत निर्माणको काम गर्न सकिने गरी संघ, प्रदेश, स्थानीय सरकार तथा जनअभियानसँगै महाअभियानका रूपमा निर्माणको कामअघि बढाइने बताउँदै मन्त्री फुँयालले गोसाइँकुण्ड एकपटक पुग्नैपर्ने गन्तव्यका रूपमा विकास गरिने बताए ।
समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका– ५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगादशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ । काठमाडौंबाट गोसाइँकुण्ड सामान्यतः तीन दिनमा पुगिन्छ । एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि हिसाब गर्दा करिब एक हप्तामा छुट्याउनुपर्छ । गोसाइँकुण्ड जानलाई धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । चल्तीको पदमार्ग भने काठमाडौं–धुन्चे–गोसाइँकुण्ड नै हो । काठमाडौंबाट धुन्चेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीविना र दोस्रो दिन गोसाइँकुण्ड पुगिन्छ । अर्को, काठमाडौं–सुन्दरीजल–हेलम्बु–ठाडेपाटी बाटो आउँछ । कमै यात्रुले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्छन् ।
पौराणिक कालमा समुद्र मन्थन गर्दा निस्केको कालकुट विषको डाहा शान्त पार्न भगवान् शिवले कुण्डको सिर्जना गरेको किंवदन्ती छ । पौराणिक कथनअनुसार, परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष भगवान् शिवले सेवन गरेका थिए । अनि, त्यो विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा पुगे । गोसाइँबाबाका रूपमा त्यहाँ पुगेका भगवान् शिवले त्रिशूल भित्तामा हिर्काए र गंगा जल अर्थात् त्रिशूल धाराको उत्पति भयो । त्यही त्रिशूल धाराको पानी बाट गोसाइँकुण्ड बन्यो ।
त्रिशूल हिर्काउँदा आएको पानी निकास हुने नदीको नाम पनि त्रिशूली रहन गएको पौराणिक कथन छ । कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । त्यस्तै, पितृ तर्नुका साथै चिताएका सबै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रिने गरे पनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि आन्तरिक पर्यटकको बढेका छन् । न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूहमा नेपाली पर्यटकहरू आउने गरेको पाइएको छ ।
उच्च हिमाली क्षेत्रमा अवस्थित गोसाइँकुण्ड जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । यसको वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब एक सय आठ कुण्ड छन् । यहाँ १४ प्रजातिका गुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चराचुरुंगी पनि पाइन्छ । घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना, बुद्धडाँडा र गणेशगौँडा मनोरम दृश्यका गन्तव्य हुन् । त्यस्तै, कुण्डनजिकै अमरसिंह गुफा र अमरसिंह थापाको चिहान छ ।