१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हाजिरी रजिस्टरसमेत आफैँले राखेर तलब पकाउँदै यी स्वास्थ्यकर्मी, चार महिनादेखि स्थास्थ्य चौकी गएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:३२:oo

उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुन्डाे स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ ।

स्वास्थ्य चौकीमा कार्यरत तीनजना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुईजना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो ।

अहिले स्थानीय पासाङ टोमा रोकाय र हितकुमारी रोकायले स्वास्थ्य चौकी धानेका छन् ।

शे–फोक्सुन्डाे गाउँपालिका– ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत अहेव पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको स्थानीय तेजेन्द्र गुरुङले बताए ।

‘गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एकपटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो ?’ गुरुङले प्रश्न गरे ।

‘’सरकारी नुनपानी खाएर विकट क्षेत्रका जनताको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन, उनीहरू तुरुन्त स्वास्थ्य चौकीमा पुग्नुपर्छ, होइन भने हामी सम्बन्धित निकायसम्म पनि पुग्छौँ ,” उनले भने ।

साउनमा घर गएका चन्द्रदेव यादव पनि असोज पहिलो सातामा आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य चौकीमा हाजिरी रजिस्टर हेर्दा नभेटिएकाले उनीहरूले घरमै हाजिरी लगेको हुन सक्ने आशंका गरिएको स्थानीय गुरुङले बताए । 

स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म कर्मचारी नपुगेपछि बाध्य भएर सञ्चारमाध्यममार्फत यसबारेमा सरोकारवाला निकायलाई झकझकाउने प्रयास गरेको स्थानीयले बताएका छन् । 

तीनैजना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नफर्किएकाे वडा अध्यक्ष निमा लामाले बताए ।

‘स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहा छैन, कति बिरामी आउँछन् कस्ता बिरामी आउँछन् त्यसको रेकर्ड पनि छैन, उनीहरूले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्,’' लामाले भने ।

स्वास्थ्यकर्मी नहुँदा वडा नं. ८ मा पर्ने रिग्मा, सुम्दुवा, छेक्पा र ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनले बताए ।

ad
ad