
भक्तपुर अस्पतालमा पनि कोरोना परीक्षण सेवा र सघन उपचार कक्ष (आइसियू) सञ्चालन हुने भएको छ । दुवै सेवाको बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् ।
अस्पतालले प्रदेश सरकारको सहयोगमा सेवा थप गरेको हो । जिल्लामा संक्रमणको दर उच्च बन्दै गएपछि समुदायस्तरमा कोरोना फैलिन नदिनका लागि परीक्षण र संक्रमितको उपचार प्रभावकारी बनाउन अस्पतालमा सेवा थप गरिएको हो ।
प्रदेशका अन्य अस्पतालभन्दा भक्तपुर अस्पताल उत्कृष्ट भएको र सेवा विस्तारका लागि प्रदेश सरकार सकारात्मक रहेको मन्त्री दुलालले बताए । उनले प्रदेश अस्पतालको आन्तरिक सुदृढीकरणका लागि नेतृत्व व्यवस्थापनमा जोड दिँदै स्थानीयको पहलकै कारण अस्पतालको विकास सम्भव भएको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल साबित भएकोमा खुसी प्रकट गरे । मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताए ।