मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
२०७७ कार्तिक २६ बुधबार ०१:५७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

होस्टेलको रकम नतिरेको भन्दै एमबिबिएसका दलित विद्यार्थी परीक्षा फारम भर्नबाट रोकिए

Read Time : > 3 मिनेट
२०७७ कार्तिक २६ बुधबार ०१:५७:००

होस्टेलको रकम एकमुष्ट बुझाउन नसकेपछि विशेष छात्रवृत्तिअन्तर्गत एमबिबिएस अध्ययनरत तीन दलित विद्यार्थीलाई कलेजले परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ । 

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत सप्तरी छिन्नमस्ता गाउँपालिकाका दिनेशकुमार मरिक (डोम), जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत सर्लाहीका निर्मल राम र पतञ्जली आयुर्वेद मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमार राम परीक्षाको फारम भर्नबाट वञ्चित भएका छन् । 

धुलिखेलमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमारको बिल चार लाख ७५ हजार पुगेको छ । ‘चार लाख ७५ हजारको बिल छ, पैसा नतिरेको कारण अहिलेसम्म मेरो रजिस्टे«ेसनसमेत भरिदिएको छैन । कति दिन कलेजले गेटबाट फर्काइदिएको छ,’ उनले भने ।

नेसनल मेडिकल कलेजमा अध्ययनरत दिनेशकुमारका बुबा युक्तिलालले ब्याजमा पैसा खोजेर मंगलबार छोराको परीक्षा फारम भर्न कलेजलाई अनुनयविनय गरे । तर, कलेजले पूर्ण भुक्तानी नगरेसम्म फार्म भर्न नदिने अडान कायमै राख्यो । यस विषयमा बुझ्न कलेजका निर्देशक बसरुद्दिन अन्सारीलाई फोन गर्दा उठाएनन् । 

त्यस्तै, जानकी मेडिकल कलेजमा अध्ययनरत निर्मल रामलाई पनि कलेजले होस्टेलको खर्च नतिरेको भन्दै परीक्षा फारम भर्न दिएको छैन । ‘मैले कलेज प्रशासनसँग होस्टेल खर्चपछि तिर्ने सर्तमा फारम भर्न दिन चार–चार घन्टा आग्रह गर्दासमेत दिइएन,’ उनले भने, ‘मैले प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयमा गत फागुनमै निवेदन दिएको र त्यहाँबाट सहयोग पाए तत्काल कलेजको रकम तिर्ने प्रतिबद्धता गर्दासमेत कुनै सुनुवाइ भएन ।’

दुई वर्षअघि पनि नेसनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनत सर्लाहीको ईश्वरपुर नगरपालिका– १ का रुकेश राम र उनका भाइ प्रमोद राम दोस्रो वर्षको परीक्षा दिनबाट वञ्चित भएका थिए । राम दाजुभाइ त्यसविरुद्ध शिक्षा मन्त्रालय पुगेका थिए । त्यहाँबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न भनियो । तर, प्रमुख जिल्ला अधिकारीले कलेजविरुद्ध उजुरी दर्ता गर्नै मानेनन् । 

त्यसपछि राम दाजुभाइले प्रदेश २ सरकारसँग गुहार मागे । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभाअन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा गत मंसिर ८ गते उजुरी पनि दिएका थिए ।

प्रदेश सरकारले गत १८ मंसिरमा राम दाजुभाइ र अर्का एकजना दिनेश मरिक डोम गरी तीनजनालाई तीन लाख ५० हजारका दरले रकम दिने निर्णय गरेको थियो । तर, राम दाजुभाइले कलेजलाई तिर्नुपर्ने २० लाख सात हजार ५० रुपैयाँ छ । त्यसैले अझै पनि यी दुई भाइको डक्टर बन्ने सपनामा ग्रहण लागेको छ । 

करिब शून्य आय भएका दलित समुदायमध्ये पनि शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि पारिएका डोम, वादी, चमार र मुसहर समुदायका विद्यार्थीलाई चिकित्साशास्त्र वा इन्जिनियरिङ विषयको स्नातक तहका कार्यक्रममा पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले विशेष छात्रवृत्ति कार्यक्रम ल्याएको छ । उनीहरूले यी विषयमा स्नातक तहमा भर्ना हुने अवसर प्राप्त गरेमा लाग्ने खर्च बेहोर्ने सरकारको आव ०७१÷७२ को बजेटमा उल्लेख छ । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष ०७२÷७३ बाट विशेष छात्रवृत्तिसम्बन्धी कार्यविधि, २०७२ मार्फत कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

कार्यविधिको परिभाषामा निम्न आय भन्नाले राष्ट्रिय योजना आयोगबाट गरिएको सर्वेक्षणमा न्यून आय भएको परिवार सम्झनुपर्छ भन्ने उल्लेख छ । छात्रवृत्ति पाउने योग्यतामा नेपाली नागरिक हुनुपर्ने, दलित भएको प्रमाणित हुनुपर्ने, एसएलसीमा प्रथम श्रेणीमा पास भएको हुनुपर्ने, सम्बन्धित शिक्षण संस्थाको प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना वा भर्ना हुने निश्चित आधार पेस गर्नुपर्ने उल्लेख छ । 

फितलो कार्यान्वयन

विश्वविद्यालय अनुदान कोषमार्फत सञ्चालन हुने सो छात्रवृत्तिका लागि आव ०७२÷७३ मा चार र ०७३÷७४ मा दुई विद्यार्थीले नाम निकालेका थिए । ०७४÷७५ भने एकजनाले पनि नाम निकालेनन् । आव ०७५÷७६ मा भने पाँचजना एमबिबिएस र एकजना इन्जिनियर गरी ६ जनाले पढ्ने अवसर पाएका छन् । चालू वर्षम्मा पाँचजनाले इन्जिनियर पढ्न नाम निकालेका छन् । 

अहिलेसम्म ११ जना एमबिबिएस र ६ जना इन्जिनियर गरी १७ जना दलित विद्यार्थीले पढ्न अवसर पाएकामा १६ जना एउटै समुदाय (चमार) का छन् भने एकजना डोम जातिका छन् । कार्यक्रम सुरु भएको पाँच आर्थिक वर्ष बित्दासमेत मुसहर र वादी समुदायका एकजना पनि विद्यार्थीले पढ्ने अवसर पाएका छैनन् । 

यस्तो छात्रवृत्ति पाएका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगले बस्न र खानबाहेक कुनै रकम नलिन कलेजहरूलाई भनेको छ । तर, कलेजले भने ल्याब, पुस्तकालय, भर्ना शुल्क र अन्य भनेर यति धेरै रकमको बिल थमाएको छ । अनि दिन नसक्दा परीक्षाबाटै वञ्चित गरिएको छ । 

यो कलेजले विद्यार्थीलाई सरकारले तोकेभन्दा बढी शुल्क मागेर तनाव दिएको भन्दै विद्यार्थीले अनुदान आयोग तथा शिक्षा मन्त्रालयमा उजुरी पनि गरे । २७ असोज ०७४ मा आयोगले यसबारे बुझ्न सदस्य राधाकृष्ण घिमिरेको संयोजकत्वमा विनोद भट्टराई र कृष्णहरि प्रजापति सदस्य रहेको छानबिन समिति पनि बनायो । समितिको प्रतिवेदनअनुसार कलेजले आव ०७२÷७३ मा अध्ययनरत विद्यार्थीका लागि भर्ना शुल्क २५ हजार, अन्य वार्षिक शुल्क एक लाख ३४ हजार नौ सय ५० र वार्षिक होस्टेल तथा मेस शुल्क एक लाख ३७ हजार ६ सय, आव ०७३÷७४ मा भर्ना शुल्क ३५ हजार र पहिलो वर्षको वार्षिक शुल्क दुई लाख ९५ हजार ६ सय, दोस्रो वर्षको दुई लाख ७० हजार र वार्षिक होस्टेल तथा मेस शुल्क एक लाख ३७ हजार ६ सय तोकेको थियो । 

नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले विद्यार्थीहरू गुनासो गर्न जाँदा ‘जहाँ गए पनि केही फरक पर्दैन’ भन्दै धम्क्याउने गरेका छन् । अन्सारी यसअघि तत्कालीन एमालेका तर्फबाट वीरगन्ज महानगरपालिकामा मेयरका उम्मेदवारसमेत थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले होस्टेलमा बसेको र खानाको विषय विवाद भए विद्यार्थी र कलेजबीच नै छलफल गरेर टुंग्याउनुपर्ने बताए । ‘विवाद कलेजमा नटुंगिए त्यसलाई हेर्ने डिन कार्यालयले हो । कलेजलाई सम्बन्धन दिनेदेखि सबै अधिकार त्यहाँ छ । डिन कार्यालयले विद्यार्थीको कुरा सुनिदिनुप¥यो र समस्या समाधान गरिदिनुप¥यो । त्यहाँबाट पनि समाधान नभएमा अहिले चिकित्सा शिक्षा आयोग बनिसकेको छ । यस्ता सबै उजुरी हेर्ने आयोगले नै हो,’ उनले भने ।