मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format o९:o९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दसैँपछि खेलाडी प्रशिक्षणमा अग्रसर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिपछि एकदिवसीय मान्यताप्राप्त नेपाली क्रिकेट टोलीको प्रशिक्षण मंसिरको दोस्रो सातादेखि हुनेछ, दश महिनापछि क्रिकेटर प्रशिक्षणमा फर्कनेछन्, फुटबल टोली अहिले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलको तयारीमा र करातेका खेलाडी टोकियो ओलम्पिक प्रशिक्षणमा छन्

विगत आठ महिनादेखि ठप्प रहेको मुलुकको खेलकुदले बिस्तारै गति लिने प्रयासमा देखिन्छ । कतिपय खेलका खेलाडी प्रशिक्षणमा फर्कन तरखरमा छन् । केही खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । कुनै खेल भर्चुअल अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको छ । दसैँ ब्रेकपछि राष्ट्रिय खेलकुद परिषद्ले फुटबलपछि क्रिकेटलाई प्रशिक्षणको अनुमति दिएको छ । परिषद्को अनुमतिपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई प्रशिक्षणमा डाक्ने गृहकार्य गरेको छ । विभिन्न खेलले आफ्ना खेलाडीलाई अन्तरिकमा सक्रिय बनाउन तयारी गरिरहेका छन् । 

क्रिकेट प्रशिक्षण मंसिरको दोस्रो साता
नेपाली टोलीले गत माघपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलेको छैन । परिषद्को स्वीकृतिपछि क्यानले मंसिरको दोस्रो सातादेखि खेलाडीलाई अब प्रशिक्षण गराउने भएको छ । दश महिनादेखि प्रशिक्षणविहीन खेलाडी मंसिरको दोस्रो साताबाट अभ्यासमा फर्कन पाउँदा हर्षित हुने नै छन् । ‘हामीले स्वीकृति पाइसकेका छौँ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले नयाँ पत्रिकासँग भने, ‘यसको गृहकार्यमा हामी जुटेका छौँ ।’

यद्यपि खेलाडी प्रशिक्षणमा फर्किंदा क्यानले केही समस्या सामना गर्नुपर्ने देखिन्छ । प्रशिक्षणमा आएका खेलाडीलाई होटेलको व्यवस्थापन गर्नुपर्ने हुन्छ । पहिलो त उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्छ । यो समयमा काठमाडौंमा सस्तो होटेल उपलब्ध हुन सक्नेमा आशंका क्यान सचिव प्याकुरेलले गरेका छन् । ‘अहिलेको अवस्थामा सबै खेलाडीलाई सस्तो होटेलमा राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘फेरि क्वारेन्टाइनमा पनि राख्नु पर्छ, त्यहाँ नै आर्थिक पक्ष अर्को पाटो छ ।’ 

काठमाडौंमा कोरोना हटस्पट भइरहेका कारण पनि खेलाडीलाई प्रशिक्षणमा राख्नु अर्को जोखिम भएको उनी मान्छन् । खेलाडीको स्वास्थ र कोभिड–१९ बाट सुरक्षित बनाउन पनि त्यहीअनुसार योजना बनाउनुपर्ने धारणा उनको छ । ‘प्रशिक्षणको अनुमति पाए पनि हामी समक्ष धेरै समस्या छन्, काठमाडौं दिनप्रतिदिन कोभिड–१९ बाट असुरक्षित भइरहेको छ, यस्तोमा खेलाडीलाई सुरक्षित राख्नुपर्ने पहिलो दायित्व हाम्रो नै हो,’ प्याकुरेल भन्छन्, ‘त्योवेलाको परिस्थिति पनि हेर्नुपर्छ ।’ 

क्यानका सचिव प्याकुरेलले निश्चित प्रोटोकलअनुसार खेलाडीलाई प्रशिक्षणमा राख्ने बताए । क्यानले आइसिसी र सरकारले तोकेको प्रोटोकलअनुसार अभ्यासमा डाक्ने तयारी गरेको क्यान सचिव प्याकुरेलको भनाइ छ । ‘पक्कै पनि दोस्रो साताबाट प्रशिक्षणमा बोलाउन केही प्रोटोकल अपनाउनुपर्ने हुन्छ, हामी मुख्य त सरकार र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)कै नियम पालना गछौँ ।’ 

क्यानले खेलाडीलाई बोलाउँदा अर्को समस्या भनेको कसले प्रशिक्षण दिने भन्ने प्रश्न छ । गत वर्ष उमेश पटवालले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ । क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकका लागि आह्वान गरेको थियो । यसमा ७७ जनाले मुख्य प्रशिक्षक बन्नका लागि दरखास्त राखेका छन् । क्यानले अन्तर्वार्ताको सूची तयार गरी पत्र पठाएको छ । आइसिसीले अन्तर्वार्ताको मिति घोषणा नगर्दा समस्या भएको क्यानले जनाएको छ । 

फर्किए कराते खेलाडी प्रशिक्षणमा
सन् २०२१ मा जापानको टोकियोमा ओलम्पिक खेलकुद प्रतियोगिता हुँदै छ । नेपालले वाइल्डकार्ड तथा छनोटमा सहभागी भई ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य राखेको छ । टोकियो ओलम्पिक लक्षित नै कराते पनि एक खेल हो । परिषद्को स्वीकृतिपछि करातेका खेलाडी यसै सातादेखि सातदोबाटोस्थित कभर्ड हलमा प्रशिक्षणमा फर्के । 

करातेका खेलाडीले निश्चित मापदण्ड पालना गरी अभ्यास गरिरहेको प्रशिक्षक दीपक श्रेष्ठले बताए । अहिले ओलम्पिक छात्रवृत्ति पाएका अनु अधिकारी र नवीन रसाइलीले अभ्यास गरिरहेका छन् । ‘प्रशिक्षणमा फर्कन पाउँदा खुसी लागेको छ,’ रसाइलीले भने, ‘यहाँ आउँदा धेरै गल्ती सच्याउन र पक्ष सिक्न पाइन्छ ।’

प्रशिक्षक श्रेष्ठले कोभिड–१९ को ताका अन्तर्राष्ट्रिय संघले अपनाएको नियम नै लागू गरी प्रशिक्षण गरेको बताए । ‘अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रले अपनाएको विधि नै नेपाली खेलाडीले अपनाएका छन्,’ उनले भने, ‘नेपाली खेलाडीलाई पनि मास्क लगाएर अभ्यास गराउनुपर्ने समय आएको र फिटनेसका लागि पनि प्रशिक्षणमा बोलाउनुपरेको छ ।’

फुटबल मैत्रीपूर्ण खेलमा सहभागी
कोभिड–१९ को महामारीबीच फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न बंगलादेश हिँडेको छ । विदेशी भूमिमा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न लागेको फुटबल नै नेपालको पहिलो हो । बंगलादेशको प्रस्तावमै नेपालले दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यससँगै नेपालमा फुटबल गतिविधि सुचारु गर्न सकिने सन्देश दिएको छ । युरोपमा बन्द रंगशालाभित्र नै माथिल्लो डिभिजन लिग फुटबल प्रतियोगिता सञ्चालित छन् । 

फेरि फुटबल वर्षभरि नै सक्रिय रहने खेलमा पर्छ । काठमाडौंमा हुने ए र बी डिभिजन लिग तथा मोफसलको गोल्डकप फुटबल प्रतियोगिताले खेलाडीलाई वर्षभरि नै व्यस्त बनाइराख्छ । कोभिड–१९ ले खेलाडी आठ महिनादेखि नै घरमै बस्न बाध्य भए । अहिले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलपछि घरेलु फुटबल बिस्तारै सुचारु गर्ने अखिल नेपाल फुटबल संघको लक्ष्य छ । 

तेक्वान्दोको तयारी 
लकडाउनको समयमा नेपाल तेक्वान्दो संघले आफ्ना खेलाडीलाई अहिलेको प्रविधिअनुसार भर्चुअलको माध्यमबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराएको थियो । तेक्वान्दोले आफ्ना खेलाडीलाई कुनै न कुनै भर्चुअल प्रतियोगिताका लागि तयारी गरी नै राखेको छ । यसैक्रममा काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप हुन लागेको छ । 

यस प्रतियोगिताको तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ । यस किसिमको प्रतियोगिता नेपालमा पहिलोपटक हुन लागेको संयोजक कुमार लामा घिसिङले बताए । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीनसय ६२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगितामा नेपालका १ सय ९० र अन्य राष्ट्रका १ सय ७१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

च्याम्पियनसिपमा हङकङ, मलेसिया, श्रीलंका, म्यानमार, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, नाइजेरिया, बंगलादेश, टिमोर, दक्षिण कोरिया, बेलायत, कम्बोडिया तथा फिलिपिन्सका खेलाडीले भाग लिनेछन् ।

स्वीकृतिको प्रतीक्षामा भलिबल
नेपालको राष्ट्रिय खेल भलिबल परिषद्को स्वीकृतिको प्रतीक्षामा छ । लामो समयदेखि भलिबलका खेलाडी कोर्टमा फर्कन पाएका छैनन् । उनीहरूले घरमै अभ्यास गरिरहेका छन् । प्रोटोकलअनुसार सामूहिक खेलको प्रशिक्षण गर्न अलि कठिनाइ छ । नेपालमा मात्र नभएर दक्षिण एसियाका भलिबल खेलाडी अहिले प्रशिक्षणविहीन छन् । खेलाडीलाई सक्रिय बनाउने संघले जनाएको छ । संघले आन्तरिक रूपमा भलिबलका गतिविधि गर्ने योजन बनाएको छ । यद्यपि स्वीकृति पाउँदा संघलाई खेलाडीको बसोवासदेखि कोभिड–१९ बाट सुरक्षित राख्नुपर्ने अर्को समस्या छ ।