१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग

भिडियो भन्दा नाटकले मिठो सम्बन्ध बनाउँछ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:२o:oo

भर्खरै सुमन राई र मेलिना राईले स्वर भरेको गीत सार्वजनिक भयो, ‘आऊ न माया...’ । यस गीतको म्युजिक भिडियोभित्र छन्, दयाहाङ राई र विमला खाजुम । हरि लम्सालको शब्द र संगीतमा सिर्जित यस गीतका निर्देशक हुन्– किरण चाम्लिङ । 

निकै पहिले पनि चाम्लिङ निर्देशक नै थिए– नाटक निर्देशक । बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गृहमा मञ्चन भएको थियो, ‘लाटो पहाड’ । कवि–लेखक उपेन्द्र सुब्बाकृत कथासंग्रह ‘लाटो पहाड’को दुई कथालाई नाट्य रूपान्तरण गरेका थिए चाम्लिङले । आफ्नैजस्तो कथा भएकाले पनि ती कथालाई नाटकमा जुनी फेरिदिएको चाम्लिङको दाबी छ । 
साथै गत वर्ष चाम्लिङकै निर्देशनमा ‘जोखना’ नाटक पनि मण्डला थिएटरमा मञ्चन भयो । वियस राईकृत ‘हिउँमाझी’ कथाकृतिको कथालाई आख्यानकार राजन मुकारुङले नाट्य रूपान्तरण गरेका थिए । 

यसबीचमा चाम्लिङको निर्देशनमा दर्जनभन्दा बढी म्युजिक भिडयो आइसकेका छन् । दर्शकले भिडियोको परख लिइसकेका छन् । खानुपर्ने गाली खाइसकेका छन् । पाउनुपर्ने प्रशंसा पाइसकेका छन् । सोलोडोलोमा चाम्लिङको परिचय यतिमै सकिन्छ । र सकिँदैन पनि... । 

०००
मण्डला थिएटर छेवैको कफी क्याफे । बिहानै भएकाले होला क्याफे शान्त छ । उस्तो भिड छैन । केही हल्ला गरी–गरी म्युजिक भिडियोकै गफ गरिरहेका एक टेबल मान्छेबाहेक अरू ग्राहक छैनन् भन्दा पनि हुन्छ । यस्तै हो, नेपाली चलचित्र र म्युजिक भिडियोको गफको हल्ला काम सुरु हुनुअघि खुवै हुन्छ, जसै काम सुरु हुन्छ, हल्ला कम हुँदै जान्छ । काम सकिँदासम्म प्रायः हल्ला गर्नेहरूको आवाज नै गायब भइदिन्छ । 

एक टेबल मान्छेलाई छिचोल्दै हामी कुनाको रित्तो टेबलमा पुग्यौँ । हल्ला सकस मानीमानी आइपुग्ने ठाउँ छ । हल्लाभन्दा निकै टाढा छौँ । हामीसम्म हल्ला आइपुग्दा निकै मधुरो र अस्पष्ट बनेर आइपुग्छ । 

‘म्युजिक भिडियो कि नाटक ज्यादा चुनौती पूर्ण हो ?’ 
‘म्युजिक भिडियोमा कथा भन्ने तरिका अलि फरक होला, तर काम त दुवै काम नै हो । दुवै चुनौतीपूर्ण छ ।’
यतिवेलासम्म हाम्रा लागि कफी आइसकेको छ । 

नाटक गर्दा महिनौँ टिमसँग रहेर काम गर्नुपर्छ । महिनौँ सँगै रहँदा अपनत्व महसुस भइसकेको हुन्छ । सबै एकैपरिवारका सदस्य भइसकेका हुन्छन् । दुःख–सुख बाँडचुँड हुन्छ, तर लुछाचुँड हुँदैन । उता म्युजिक भिडियो त एक दिनको काम हो । बढीमा दुई दिनको । कलाकार भेटियो, छुट्टियो । सम्पूर्ण टिम भेटियो, छुट्टियो । भिडियो तयार भयो, त्यसैलाई हे¥यो, भ्युज गन्यो बस्यो । 

चाम्लिङलाई पनि लाग्छ, ‘नाटकमा जुन तरिकाले महिनौँ छलफल गरेर काम गरिन्छ, इमोसनल अट्याचमेन्ट हुन्छ, भिडियोमा त्यो हुँदैन ।’ भिडियोमा त सबै टिमसँग राम्रोसँग चिनजान पनि नहुने गरेको चाम्लिङको अनुभव छ । भिडियोमा कलाकार, निर्माता पनि जोडिएर आउने भएकाले नाटकमा जस्तो खुलेर काम गर्न अलि सकिँदैन कि जस्तो पनि चाम्लिङलाई लाग्छ । उनी भन्छन्, ‘फेरि काम त कामै हो । चुनौतीपूर्ण नै हुन्छ ।’
म्युजिक भिडियो भनेपछि गीत सुन्नुप¥यो । शब्द केलाउनुप¥यो । धुन थाहा पाउनुप¥यो । गायक, संगीतकार, गीतकार साथै अन्यको पनि आ–आफ्नो इमोसन जोडिएका हुन्छन् । ती सबैलाई सम्बोधन गर्नुप¥यो । र, कुनै आइडिया या त कन्सेप्ट तयार गरेर कलाकारलाई खेलाउनुप¥यो । यस हिसाबले पनि चाम्लिङ भिडियो निर्माण आफैँमा चुनौतीको पहाड हो भन्छन् । 

तर, सिंगो नाटकभन्दा एउटा भिडियो आर्थिक हिसाबले महँगो हुने गर्छ । एउटै कलाकारले एकदेखि डेढ लाखसम्म एउटा भिडियोका लागि लिने गरेका खबर आइरहन्छन् । महँगो पनि र छोटो समयमा पनि गर्नुपर्ने भएकाले एक किसिमको दबाब महसुस चाम्लिङ सधैँ गरिरहन्छन् । ‘यी चुनौतीका बाबजुद पनि मेरो कोसिस सधैँ राम्रो भिडियो बनाउने नै हो । जुन भिडियो गीतलाई म्युट गरेर हेर्दा पनि दर्शकलाई मजा आओस्,’ चाम्लिङको भनाइ छ, ‘साथै गीतले हाम्रा कथाहरू, हाम्रो जीवनशैलीलाई पनि समेट्नुपर्ने सोच दिमागमा आइरहन्छ । तर, मेरो मुख्य ध्येय भिडियोले केही न केही बोल्नुपर्छ भन्ने हो ।’

०००
म्युजिक भिडियो गरिरहे पनि चाम्लिङले परख गर्ने त नाटक नै हो । नाटकमै काम गर्न चाहन्छन् । केही डकुमेन्ट्री र फिचर फिल्ममा काम गर्ने योजनामा पनि छन् । तर, कहिले ? 
‘जहिले आर्थिक स्रोत, राम्रो टिम र कथाको जुगड हुन्छ । त्यसैको तयारी पनि हो मेरो म्युजिक भिडियोको काम ।’

यो कोरोनाको सन्त्रास सकिएलगत्तै नाटकमाथि काम गर्ने योजनामा छन् चाम्लिङ । लकडाउनको सदुपयोगका लागि भनेर पनि म्युजिक भिडियोमा काम गरेको बताउँछन् । तर, आफूले जे गरे पनि सिर्जनाभन्दा बाहिर गएर काम नगरेको चाम्लिङको स्वीकारोक्ति छ । भन्छन्, ‘अन्तिममा त मेरो यात्रा नाटकदेखि नाटकसम्मै हो ।’
००० 
 

ad
ad