मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ३ सोमबार
  • Saturday, 23 November, 2024
शीतल दाहाल
२o७७ कार्तिक ३ सोमबार o८:२o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लिंगसत्ता स्वीकार्य छैन

Read Time : > 4 मिनेट
शीतल दाहाल
नयाँ पत्रिका
२o७७ कार्तिक ३ सोमबार o८:२o:oo

भर्खरै चिनजान भएका एक पुरुष मित्रले आफू दुई छोरीको पिता भएको तर तेस्रो सन्तानको रूपमा छोराको चाहना नराखेको कुरा गर्वले सुनाए । सन्तानका रूपमा यो जन्ममा छोराको जायजन्म नभए मरेपछि पिण्ड दिएर स्वर्ग तार्ने व्यक्ति हुनेछैनन् भन्ने सोच राख्ने हाम्रो जस्तो समाजमा छोरी मात्रै पाएर खुसी हुने बाउ हुन् या आमा, भेट्टाउनु अनौठो तर खुसीकै कुरो हो ।

सतहमा बुझ्दा लैंगिक विभेद नगर्नेझैँ देखिने छोरीहरूका ती पिताले एक प्रसंगमा उल्लेख गरेका थिए कि दोस्रो सन्तानको रूपमा फेरि छोरी जन्मेलगत्तै उनले श्रीमतीको स्थायी बन्ध्याकरण गराइदिने फैसला गरे । पढेलेखेका उनले श्रीमतीसँग एक वचन नसोधी सीधै डाक्टरसँगको सल्लाहमा श्रीमतीको स्थायी बन्ध्याकरण गराउन ढिला गरेनन् । कान्छी छोरी जन्मिएकै दिन श्रीमतीको गर्भाशयको स्थायी बन्ध्याकरण गराइयो । उनकी कान्छी छोरी अहिले सात वर्षकी भइन् । 

स्थायी बन्ध्याकरणकै प्रसंगमा अर्काे पनि चाखलाग्दो सन्दर्भ छ– चिनजानकै एक परिवारका जेठो छोराले गत वर्ष आत्महत्या गरे । दुई छोरामध्ये एकले आत्महत्या गरेपछि छोराको मृत शरीरमा अँगालो हाल्दै आमाले भनिन् ‘मलाई दुई छोरापछि एक छोरी पनि पाउन मन थियो । पापीले मलाई घुँचेडेर अपरेसन गर्न अस्पताल लग्यो ।’ ‘पापी’ अर्थात् उनको लोग्ने, उनले आफ्नो इच्छाबेगर स्थायी बन्ध्याकरण गर्न लगाएकोमा पहिलोपटक बाध्य भएर मुख खोलिन् ।

छोराको मृत्युको अति पीडामा हृदय बाँध्न नसकेर उनले त समय घर्किसकेपछि नै भए पनि मुख खोलिन्, तर माथि उल्लेखित दुई छोरीकी आमाले अझैसम्म लोग्नेसँग सोध्न सकेकी छैनन्, ‘तिमीले मलाई एक वचन पनि नसोधी आफ्नै मनमौजीमा मेरो गर्भाशयको स्थायी बन्ध्याकरण किन गरायौ ? मेरो शरीरलाई कसरी उपयोग गर्ने भन्नेबारे मेरो अनुमति र सहमतिबेगर नै किन निर्णय लियौ ?’

डाटा र तालिकाको कुम्लोकाम्लोतिर नजाऊँ । अहिले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकका अधिकांश स्वास्नीहरूले आफ्नो रोजाइअनुसार गर्भधारण गर्न पाउँदैनन् । छोरा पाउँदा खसी काट्ने समाज छोरीलाई पटक्कै रुचाउँदैन, पहिलो सन्तानका रूपमा छोरी जन्मिए दोस्रोपटकको गर्भको क्रममा अल्ट्रासाउन्ड विधिबाट लिंग पहिचान गर्न हतारिन्छ । अर्थात्, छोरी भए गर्भमै तिनको हत्या, छोरा भए सन्तोषको लामो श्वास फेरिन्छ । छोरा पाएकामा मन्दिरमा भेटी चढाउने, पशुबलि चढाउने या अन्य खालका भाकल पूरा गर्छन्, कतिपय परिवार ।

प्राकृतिक रूपमा बच्चा पाउने प्रमुख प्राकृतिक अंग गर्भाशय महिलाकै हो, तर यसमाथिको अधिकार महिलाको हो या पुरुषको ? गर्भाशय महिलाको हो भने गर्भभित्र के रहने, के नरहने भन्ने फैसला महिलाको हो या समाजको ? गर्भभित्र छोरी होस् या छोरा, दुइवटी छोरी जन्मिसकेका हुन् या दुई छोरा, त्यसको फैसलाको अधिकार त गर्भ बोक्नेलाई नै हुनुपर्ने होइन र ! त्यसमाथि गर्भाधारण आफैँमा जटिल र जोखिमपूर्ण विषय हो । अमेरिकाजस्तो विकसित र व्यवस्थित स्वास्थ्यसेवा भएको मुलुकमा समेत प्रत्येक वर्ष एक लाख गर्भवती आमामध्ये करिब १६ आमाले ज्यान गुमाउँछन् । विकासोन्मुख देशहरूमा निश्चय नै गर्भवती महिलाहरूको मृत्युदर अकल्पनीय छ ।

हाम्रोमा त झनै कहालीलाग्दो विषय के छ भने प्रसूति मृत्युदर, भ्रूण पहिचान र त्यसपछि गरिने भ्रूणहत्याका आधिकारिक विवरण नै राज्यसँग छैन । अझ रमाइलो कुरा यहीँबाट सुरु हुन्छ– आफ्नो जीवन नै जोखिममा राखेर नयाँ जीवन उमार्ने महिलालाई नै नसोधी फेरि कहिल्यै उनी गर्भधारण गर्न नसक्ने बनाइने कस्तो काइदाको चलन छ । ज्यान दाउमा राखेर रगतले लत्पतिँदै बच्चा पाउने महिला, अनि गर्भको फैसला गर्नेचाहिँ लोग्ने, प्रेमी, बाउ, ससुरा वा समाज, कस्तो समाजिक संरचना हो यो ? 

आफ्नै गर्भाशय, आफ्नै यौनांग र आफ्नै स्तनमाथि महिलाको हक युगौँदेखि थिएन र आज पनि छैन । प्रमाणहरू जो आफैँ बोल्छन् । पहिलो प्रमाण, यो लेख पढिरहनेमध्ये महिलाभन्दा पुरुष नै धेरै हुनेछन् । लेखको शीर्षकले यति त बुझाइसकेको हुनुपर्छ कि सार्वजनिक स्थानमा बसेर महिलाले आफ्नै योनिबारेका लेख र समाचार पढ्ने हिम्मत गर्नेछैनन् ।

समाजका तथाकथित अगुवाहरू सुन्नुहोस्, योनिको निन्दाचर्चा बन्द गर्नुस् । योनिधारी हामीलाई निकम्मा ठानेर युगलाई सयौँ वर्ष पछि पार्ने लिंगसत्ता हामीलाई स्वीकार्य छैन । हाम्रो योग्यतालाई हाम्रो शरीरको अंगले निर्धारण गर्दैन ।

उनीहरूका लागि यो प्रायः वर्जित छ र यसलाई महिलाको हकमा लज्जा मात्र होइन, हीनताको विषय बनाइएको छ । नग्न लिंगको पूजा गर्ने हाम्रो समाज लिंगबारे पूरापूरा जानकार छ । पशुपतिको चौँसठ्ठी लिंगको दर्शन नगरी कुन पो तीर्थालु रित्तो आँखा फर्केको होला र ! लिंग वा शिवलिंगको दशर्न बेफिक्री गरिन्छ, यहाँ । तर, शरीरको दुई गोडाबीच च्यापिएर बसेको ‘योनि’बारे बोल्न पनि एकपटक महिलाले आफूलाई खुम्च्याउनु पर्छ । खुम्च्याउन पनि यसरी पर्छ, मानौँ यो जगत्को सबैभन्दा ‘अश्लील र भद्दा’ शब्द नै ‘योनि’ हो । 

महिलाको योनिबारेको फैसला कोठामा उसको लोग्ने या प्रेमीले गर्छ । घरभित्र योनिको फैसला उनका परिवारले गर्छन् । घरबाहिर सडकमा र समाजमा योनिबारेको फैसला समाजले गर्छ । र, देशीय, अन्तर्देशीय स्तरमा योनि बोकेर हिँड्ने महिलाको योनिबारेको फैसला राज्यहरूले गर्छन् । देश र राज्यहरू महिलाको योनि बेच्ने र नबेच्नेबारे संसद्मा कानुन बनाउँछन् ।

त्यही संसद् र तिनै सांसद कहिले भन्छन्– योनि बेच्नु हाम्रो संस्कृति, सभ्यता र धर्मविरुद्ध छ, योनि बेच्नुहुन्न । त्यही संसद् र सांसदहरूले पछि अर्कै निर्णय लिन्छन्– फलानो स्थानलाई रेडलाइट एरिया तोकिनेछ । महिलाको अस्मिता (निजत्व) बजारमा लिलामी गरेर रेडलाइट एरियाबाट मनग्य राज्यकोष उठाउने मनसाय राख्छन्, अर्थात् राज्यसत्ता महिलालाई केवल वस्तु ठान्छ, मानिस ठान्दैन । रेडलाइट एरिया, अर्थात् योनि बिक्रीस्थल । योनि बेचेर राज्यलाई धनी र समृद्ध बनाउने नेपाली नेतृत्व वर्गको सपना कहिलेकाहीँ छापामा पनि छरिन आइपुग्छन् । 

महिलाको योनि बिक्रीस्थल योनि बजार, रेडलाइट एरियाका रूपमा कहिले पोखरा, कहिले काठमाडौं, कहिले नेपालगन्जको सत्ताको आँखामा आउँछ । तर, यतिखेर भने राज्य मौन छ । खसी–बाख्रा बजार जसैगरी कहाँनिर योनि बजार खोल्ने भन्ने योजनाबारे अहिले सरकारले मुख खोलिसकेको छैन । राज्य नबोल्नुमा पनि कारण छ ।

योनिका दलालहरूले राज्यलाई इसारा गरेका छन्, योनि जहिल्यै हाम्रो नियन्त्रणमा छ, यसबारे राज्य नबोलेकै बेस । हिजोको तथाकथित सत्ययुग होस् या आजको पुँजीवादी युग योनि जहिल्यै अति डिमान्ड भएको क्रयवस्तु हो । यसर्थ, यसको बेचबिखन मात्र होइन, दलाली पनि हुन्छ । योनिको बजारीकरण योनिको धारक अर्थात् योनिवालीले गर्दिन, योनिको बजारमूल्य तोक्ने काम लिंगधारीले गर्छन् । यसरी युगौंदेखि दुई जाँघबीचको योनिको मूल्य योनिवालीको जानकारी र सहमतिविनै तोकिँदै आएको छ, बेचिँदै आएको छ । 

कहिलेसम्म धर्म, दर्शन र परम्पराको खोल ओढेर महिलाको शरीरमाथि राज्य र समाजले शासन गरिरहने ? कहिलेसम्म योनिमाथि समाजले गरेको निषेधाज्ञा जारी रहने ? महिलाले आफ्नै शरीरमाथि आफ्नो नियन्त्रण पाउन अझै कति शताब्दी कुर्नुपर्ने ? तथाकथित पूर्वीय दर्शनको महत्ता गाएर नथाकेको हाम्रो समाजले पश्चिमा जगत्का हजारौँ विषय अवलम्बन गरेको छ ।

तर, महिला अधिकार तथा अन्य अल्पसंख्यकका अधिकारका विषयलाई हाम्रा समाजका ठालुहरू डलरको डकार भनिदिन्छन् । तिनले पश्चिमाका छोरी, स्वास्नी र प्रेमिकाहरू अर्थात् हामीजस्तै योनिधारीहरू कुन युगमा छन् भनेर कहिल्यै गुगल गरेका छन् ? कम्तीमा आफ्नै शरीरबाट बगेको रगतलाई उनीहरू पाप मान्दैनन् । उनीहरूको इच्छाबेगर कसैले उनीहरूलाई जबरजस्ती शारीरिक सम्पर्क गरे त्यहाँ महिलाको इज्जत जाँदैन । हाम्रोमा जस्तो महिलाको इज्जत योनिमा हुन्छ भन्ने भ्रमबाट कम्तीमा उनीहरू मुक्त छन् । 

किनकि, हाम्रा जस्ता माननीय त्यहाँ छैनन्, जसले भनिदिन्छन्– ९९ प्रतिशत बलात्कार महिलाको मर्जीमा भएको हो । यहाँ त हाम्रा माननीयलाई नै बुझाउनुपर्ने देखियो, माननीयज्यु ‘महिलाको मर्जीबेगर भएका शारीरिक सम्पर्क बलात्कार नै हुन्छ, चाहे महिला विवाहित हुन् या अविवाहित । र अन्त्यमा, समाजका तथाकथित अगुवाहरू सुन्नुहोस्, योनिको निन्दाचर्चा बन्द गर्नुस् । योनिधारी हामीलाई निकम्मा ठानेर युगलाई सयौँ वर्ष पछि पार्ने लिंगसत्ता हामीलाई स्वीकार्य छैन । हाम्रो योग्यतालाई हाम्रो शरीरको अंगले निर्धारण गर्दैन । गर्छ भने हामीभित्रको मानवताले गर्छ, भित्रको विवेकले गर्छ ।