मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागर चन्द काठमाडौं
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७७ असोज ११ आइतबार ०२:११:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना जाँच्न झरीमा रुझ्दै जनता, तर सिभिल अस्पतालमा थन्कियो दुई करोडको पिसिआर उपकरण

Read Time : > 2 मिनेट
सागर चन्द, काठमाडौं
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७७ असोज ११ आइतबार ०२:११:००

पिसिआर जाँच गराउन नागरिक भोकै–प्यासै झरीमा रुझेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा जनता लाइन लागेका छन् । दुई दिन पर्खिँदा पनि पिसिआर जाँचका लागि पालो पाइरहेका छैनन् । तर, यही वेला यता नेपाल सरकारका मुख्यसचिव नै सञ्चालक समिति अध्यक्ष रहेको निजामती कर्मचारी अस्पतालले दुई करोड रुपैयाँ खर्च गरेर ल्याएको पिसिआर मेसिन थन्क्याएर राखेको छ । अन्य सामग्री महिनौँदेखि थन्किएका छन् । 

‘थर्मोफिसर साइन्टिफिक’ नामक कम्पनीको पिसिआर मेसिन दुई महिनादेखि अस्पतालको ल्याबमा छ । तर, टेबलमुनि अलपत्र अवस्थामा । यो महामारीको वेला दुई करोड बजेट खर्च गरेर ल्याएको मेसिनको कार्टुनसमेत नखोली राखिएको छ । अरू सामान पनि ल्याबमा छरपस्ट पारिएका छन् ।

ल्याब र पिसिआर जाँचका लागि आवश्यक सामग्री खरिद गर्नुअगाडि सिभिल अस्पतालले स्वाब संकलनमा प्रयोग हुने भिटिएम किट १४ जेठमा नै खरिद गरिसकेको थियो । त्यस्तै २९ असारमा पिसिआर ल्याब र त्यसका लागि आवश्यक सामग्री खरिद गर्न एक करोड २७ लाख ९८ हजारमा अस्पतालले ठेक्का दिएको थियो । यसरी पिसिआर मेसिन र त्यसका लागि आवश्यक सामान खरिदमा करिब दुई करोड रुपैयाँ खर्च गरेको छ । तर, मेसिन खरिद गरेको दुई महिनासम्म पनि अस्पतालले पिसिआर जाँच भने सुरु गरेको छैन । ‘भिटिएम, रिएजेन्टजस्ता सबै संसाधन छन् । सम्पूर्ण तयारी पुगेको छ, करिब दुई करोड खर्च भएको छ, तर किन हो कुन्नि, कोरोना परीक्षण गर्न व्यवस्थापनले इच्छा गरेको छैन,’ अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले नयाँ पत्रिकासँग भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० साउनमा सिभिलसहित अन्य १३ अस्पताललाई पत्राचार गरेर स्वाब संकलन र परीक्षण गर्न निर्देशन नै दिएको थियो । सरकारको आफ्नै ल्याबमा पिसिआर परीक्षण गर्न निर्देशन छ, तर सिभिल अस्पतालले स्वाब संकलन गरेर परीक्षणका लागि वीर अस्पतालमा पठाउन सुरु गरेको थियो । 

तर, पछिल्लो समय वीरले सिभिलले पठाएको स्वाब परीक्षण गर्न छाडेको छ । दुई सातायता वीरले सिभिलको नमुना लिएको छैन । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालिएको छ । यसरी मेसिन भएका अस्पतालले पनि नमुना पठाउँदा टेकुमा अनावश्यक दबाब बढेको छ । ‘सबै नमुना टेकुमा आउँदा पिसिआर जाँच गर्न नपाएर मान्छेहरू रातभर सडकमा लाइन लागेका छन्, सरकारले किन अनुगमन गरेको छैन, थाहा भएन,’ सिभिल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू पर्याप्त तलब, भत्ता र सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दीर्घराज आरसीले ल्याब नभएका कारण परीक्षण गर्न नसकिएको बताए । ‘मेसिन छ, तर ल्याब तयार भएको छैन । तयार भएपछि परीक्षण सुरु हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने । अस्पतालले ल्याब बनाउन १८ भदौमा ठेक्का दिएको छ । तर, देशमा महामारी भित्रिएको ६ महिना र पिसिआर मेसिन ल्याउन ठेक्का दिएको डेढ महिनापछि मात्र अस्पतालले ल्याब बनाउन ठेक्का दिएको छ । प्रादेशिक अस्पतालले रातारात ल्याब तयार पारे, तर राजधानीको सुविधासम्पन्न अस्पतालले ल्याब बनाउने नाममा दुई महिनादेखि मेसिन थन्क्याएको छ । 

निर्देशकले ल्याब नभएको बताए पनि अस्पतालको ल्याबमा कार्यरत प्राविधिक भने पिसिआर जाँचका लागि अहिलेकै ल्याब पर्याप्त हुने बताउँछन् । ‘हामीसँग ल्याबदेखि सबै सामान छन्,’ उनले भने, ‘पिसिआरका लागि छुट्टै ल्याब नै चाहिँदैन, पहिल्यैदेखि प्रयोगमा नरहेका ल्याब प्रयोग गर्न सकिन्छ ।’ 

तर, अस्पतालले पिसिआर मात्र होइन, अन्य उपकरण पनि थन्क्याएको छ । अस्पतालले असार ०७६ मा दुई करोड ९३ लाख रुपैयाँमा खरिद गरेको घुँडा प्रत्यारोपण गर्ने मेसिन पनि प्रयोग नगरी स्टोरमा थन्क्याएको छ । जब कि सिभिल अस्पतालका कार्यकारी निर्देशक आरसी आफैँ पनि हाड जोर्नी र घुँडासम्बन्धी विज्ञ चिकित्सक हुन् ।

सिभल अस्पतालले असार ०७६ मा नै क्यान्सर पत्ता लगाउने आधुनिक उपकरण खरिद गरेको थियो । ७१ लाख सात सय रुपैयाँमा किनिएको मेसिन पनि थन्क्याइएको छ । त्यस्तै, मिर्गौला रोगीको रगत सफा गर्न १६ लाख ९० हजार रुपैयाँ तिरेर खरिद गरिएको मेसिन पनि स्टोरमा थन्क्याइएको छ । असार ०७२ मा ४५ लाख रुपैयाँमा खरिद गरिएको वंशाणुगत रोग पत्ता लगाउने मेसिन अहिलेसम्म प्रयोगमा आएको छैन ।

‘अस्पतालमा उपकरण छन्, यहीँ जाँच हुन सक्छ । पर्याप्त उपकरण अस्पतालमा हुँदा पनि अस्पतालले जाँचका लागि बिरामीलाई बाहिर पठाउने गरेको छ । यसले विपन्न बिरामीमाथि शोषण भइरहेको छ,’ अस्पतालका एक कर्मचारीले नयाँ पत्रिकासँग भने । अस्पतालमा एमआरआई जाँचको सुविधा छ, तर केही समयअघि अस्पतालकै निर्देशक प्रा.डा. आरसीले नै दरबारमार्गमा रहेको एक निजी संस्थामा एमआराई गराउन पठाउने गरेका छन् ।

यो पनि पढ्नुहोस्