नेपाल सरकारको रेल विभागले खरिद गरेको दुई थान डेमु (डिजल इलेक्ट्रिकल मल्टिपल युनिट) रेल गत शुक्रबार नेपाल आइपुगेको छ ।
भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनका अधिकारीहरूले उक्त दुई थान रेल जनकपुरमा नेपाली अधिकारीहरूलाई हस्तान्तरणसमेत गरिसकेका छन् ।
हाल रेल्वेमा कर्मचारी भर्ना प्रक्रिया चलिरहेकोले निकट भविष्यमै रेल सर्वसाधारणले चढेर यात्रासमेत गर्न पाउने आशा गरेका छन् ।
हाल नियमित सञ्चालन नहुने वेलासम्मका लागि नयाँ रेल जयनगरस्थित नेपाली रेल्वे स्टेसनमा सशस्त्र प्रहरीको संरक्षणमा राखिएको छ ।
यता नयाँ रेल आइसकेपछि पुरानो रेल र त्यसवेलाका महत्वपूर्ण रेल्वेसम्बन्धी सामग्रीहरूको संरक्षणको कुरासमेत उठ्न थालेको छ ।
अहिले रेल पुनः नियमित सञ्चालन हुने समयसम्मका लागि जयनगरमा त्रिपालले छोपिएर राखिएको छ ।
पहिला कोइला र डिजलले चल्ने न्यारोगेज रेलका इन्जिन र बाेगीहरू संरक्षण हुनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।
बेलायती र राणाकालीन समयको इतिहास बोकेको जनकपुर–जयनगर रेल्वेको संरक्षण हुनुपर्ने र संग्रहालय बनाएर उक्त वेलाको इन्जिन र बाेगीहरू राखिनुपर्ने सञ्चारकर्मी किरण कर्णले बताए ।
उनले नेपालकै लागि दुर्लभ रहेको कोइला इन्जिनहरू बेलायती सरकारको पालाको रहेको र यसले इतिहास बोकेकोले उक्त इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके प्रदेश २ मै इन्जन र पुराना बाेगी हेर्नसमेत बहुसंख्यक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
यालना विद्यापीठ मटिहानीका उपप्राध्यापक मुक्तिनाथ झासमेत नेपालमा जनकपुर रेल्वेको आफ्नै इतिहास रहेकोले नयाँ पिँढीलाई जानकारी गराउन यसको संरक्षण आवश्यक रहेको बताउँछन् ।
मिथिलामा आउने पर्यटकहरू र यहाँको भावी सन्ततीहरूका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण अति आवश्यक रहेको छ ।
विगतका दिनहरूमा कुन रूपमा नेपालको रेलको विकास भएको हो त्यसकाे अध्ययनमा समेत सघाउ पुऱ्याउने उनी बताउँछन् । यसमा संघीय र प्रदेश सरकार अगाडि आउनुपर्ने उनको भनाइ छ ।
पुरानो इन्जिन र बाेगीहरू संरक्षणसम्बन्धी विषयमा नेपाल रेल्वे र नेपाल सरकारसमेत गम्भीर रहेको नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
उनले त्यसका लागि ध्यानाकर्षण भएको बताउँदै सबै पुराना धरोहरहरू संरक्षण गरिने बताए ।
यसले नेपालकै ठूलो इतिहास बोकेकोले नेपाल रेल्वेले यसको संरक्षण गरी प्रदर्शनीका लागि राख्ने व्यवस्था मिलाउने बताए ।
यस्तो छ रेल्वेको इतिहास
नेपाल रेल्वेको इतिहास विक्रम सम्वत् १९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरी जंगलबाट सालको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो ।
तर, २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएयता रेलसेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन हुने गरेको थियो ।
सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।
०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रूपमा थियो जनकपुर रेल्वे । ०५१ सालदेखि भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेलसेवा सञ्चालन भएको थियो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले ०२१ सालमा नेपाल यातायात संस्थानअन्तर्गत राखियो ।
०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए ।
०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र ०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।
जनकपुर रेल्वे व्यवस्थापनले ०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू समेटेर सरकारलाई रिपोर्ट बुझाएको थियो ।
जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुबाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति तत्कालीन अवस्थामा ध्यानाकर्षण गराइएको थियो ।
सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लिगलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र पाँच फिट ६ इन्च चौडा भएको लिगलाई ‘ब्रोडगेज’ भनिन्छ । लिगको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने रेल्वे प्राविधिकहरूको भनाइ छ ।
ब्रिटिस सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको हो । जनकपुर–जयनगर रेलसेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभंगा महाराज (भारत स्वतन्त्र हुनुपूर्वका राजा) सँग सन् १९४० मा भारतीय भूमि भाडामा लिएको थियो ।
दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेलसेवा सञ्चालन रहेसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ ।
पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि विगत ८३ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेल सेवा झन्डै सात वर्षदेखि बन्द थियो ।
सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मे भई सडक यातायात अवरुद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता अब हराउनेछ ।
यस्तो छ वर्तमान रेल्वे ट्रयाक
नेपाल सरकारले खरिद गरेको रेल चलाउन चाहिने रेल्वे लिक (लाइन, पटरी) तथा अन्य भौतिक संरचनाहरू भने भारत सरकारको सहयोगमा बन्दै छ ।
तीन चरणमा भारतको इरकन इन्टरनेसनल कम्पनीले निर्माण गर्न लागेको रेल्वे लिक र भौतिक संरचनामा पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म (३४ किलोमिटर) निर्माण सम्पन्न गरिसकेको छ भने दोस्रो र तेस्रो चरणको निर्माण कार्य चल्दै छ ।
दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १८ किलोमिटर रेल लिक बिछ्याउने कार्य हाल चलिरहेको छ ।
त्यस्तै बिजलपुरदेखि बर्दिबाससम्मको १७ किलोमिटरको रेलमार्गमा हाल जग्गा अधिग्रहण हुन सकेको छैन ।
मुआब्जाको टुंगो लाग्न नसक्दा तेस्रो चरणको रेल लिक निर्माणमा बाधा आएको छ । तर, रेल्वे अधिकारीहरूभने कोरोनाको संक्रमण समय र जग्गाको मूल्यांकनको विषयमा समेत लामो समयदेखिको छलफलबाट समेत कुनै प्रगति हुन नसकेको बताउँछन् ।
मूल्यांकनको विषयमा अझै प्रयास भइरहेकाले समस्या समाधान हुनासाथ रेल लिक निर्माणले गति पाउने रेल्वे विभागका सिनियर इन्जिनियर देवेन्द्र साहले बताए ।