
ललितपुर महानगरपालिका– २५ वडा कार्यालयको अगुवाइमा भैँसेपाटी सडकखण्डको दायाँ–बायाँ वृक्षरोपण गरिएको छ । वडाध्यक्ष विष्णुकुमार कार्कीका अनुसार आइतबार विभिन्न जातका दुई सय बिरुवा रोपिएको हो । प्राकृतिक हराभरा कायम गर्न तथा बढ्दो धुलो–धुवाँ नियन्त्रण गर्न सघाउ पुऱ्याउने उद्देश्यले सडकपेटीको दायाँ–बायाँ वृक्षरोपण गरिएको उनले बताए ।
संविधान दिवसको अवसर पारेर गरिएको वृक्षरोपणमा ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ (ख) का सांसद जीवन खड्काको समेत उपस्थिति रहेको थियो । प्रदेश सांसद खड्काले भैँसेपाटी क्षेत्रलाई थप हरियालीयुक्त बनाउन वृक्षरोपणले सहयोग पुग्ने बताए । उनले सो क्षेत्रको विकासका लागि सांसद विकास कोषबाट पनि विभिन्न योजना अघि बढाएको जानकारी दिए ।
वडाका सल्लाहकार तथा विभिन्न स्वयंसेवी परिचालन गरेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।