Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ४ आइतबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उस्तै योगदान, तर राज्यको भेदभावपूर्ण सम्मान

१३औँ सागका स्वर्ण विजेतामध्ये विभागीय टोलीका खेलाडीले मात्रै पाए पदक, अन्य खेलाडीको अपमान

Read Time : > 2 मिनेट
२०७७ असोज ४ आइतबार १८:००:००

अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा पदक जित्ने खेलाडीले आर्थिक पुरस्कार त पाएकै छन् । तर, उनीहरूका लागि आर्थिक पुरस्कार र जागिरसँगै सरकारले प्रदान गर्ने पदक (मान, पदवी) को पनि उत्तिकै महत्व छ । 

एसियाली खेलकुदमा मात्रै होइन, दक्षिण एसियाली खेलकुद (साग)मै पनि स्वर्ण जित्ने खेलाडीका लागि आर्थिक पुरस्कारदेखि जागिर र पदक (गोर्खा दक्षिण बाहु) निश्चित हुन्थ्यो । तर, नेपाली खेलाडी पछिल्लो समय यी सुविधाबाट वञ्चित हुँदै आइरहेका छन् । 

सन् १९८४ मा नेपालले काठमाडौंमा आयोजना गरेको दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणदेखि सन् २०१० मा बंगलादेशमा भएको ११औँ सागसम्मका स्वर्ण विजेता खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा जागिर पाए । सन् २००४ मा पाकिस्तानमा आयोजना भएको नवौँ दक्षिण एसियाली महासंघीय (साफ) खेलमा पदक जितेका खेलाडीसम्मले देशबाट मान, पदवी पाए । तर, सन् २०१६ मा भारतको सिलोङ र गुवाहाटीमा भएको १२औँ सागदेखि यताको संस्करणमा स्वर्ण जित्ने खेलाडीले राखेपको जागिर पाएका छैनन् । विभूषण त सन् २००६ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको १०औँ सागदेखि नै रोकिएको थियो । 

सरकारले गत मंसिर अन्तिम साता काठमाडौंमा भएको १३औँ सागमा स्वर्ण विजेता खेलाडीका लागि शनिबार मान, पदवीको घोषणा त गरेको छ, तर त्यही निर्णयमा सरकारको विभेद पनि देखिएको छ । सरकारले १३औँ सागमा स्वर्ण जितेको, तर विभागीय टोलीमा आबद्ध भएका खेलाडीलाई मात्रै पदक प्रदान गरेको छ ।
 
विभागीय टोलीमा आबद्ध नभएका, तर १३औँ सागमा स्वर्ण जितेका खेलाडी फेरि पनि सरकारले प्रदान गर्ने यो सम्मानबाट वञ्चित भएका छन् । खेलाडीको संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सरकारले खेलाडीलाई दिने सम्मानमा पनि विभेद गरेको भन्दै विरोध गरेको छ ।

०००
खेलाडीका लागि सरकारले दिने मान, पदवीले ठूलो अर्थ राख्छ । साग खेलकुदमा स्वर्ण जितेपछि खेलाडीले सरकारबाट पहिलेदेखि नै यस्ता मान, पदवी पाउँदै आएका थिए । सरकारले स्वर्ण जित्ने खेलाडीलाई गोर्खा दक्षिण बाहु प्रदान गथ्र्याे । तर, १०औँ सागदेखि भने खेलाडीले यो पदक पाएनन् । यही समय राजतन्त्र हटेर देशमा लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । लोकतान्त्रिक सरकार बन्यो । लोकतान्त्रिक सरकारले पदकको नाम पनि परिवर्तन ग¥यो । अहिले यो पदक छैन । यसको सट्टा सरकारले अरू पदक वितरण गर्न थालेको छ । 

अघिल्लो तीन संस्करणको ‘ब्रेक’पछि सरकारले यसपटक गत १३औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीका लागि पदकको घोषणा गरेको छ, तर सरकारले यही पदकमा भेदभाव गरेको छ । एउटै योगदान दिएका वा एउटै पदक जितेका खेलाडीलाई सरकारले पदकमा विभेद गरेको हो ।

सरकारले खेलाडीलाई लज्जित पारेको छ
दीपक श्रेष्ठ
अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ

सरकारले १३औँ सागमा स्वर्ण जित्नेमध्ये विभागीय टोलीमा भएका खेलाडीलाई मात्रै पदक प्रदान गरेको छ । जो विभागीय टोलीसँग आबद्ध थिएनन्, उनीहरूले सरकारबाट पदक पाएनन् । यो त सरकारको विभेदपूर्ण निर्णय हो । १३औँ सागमा नेपालले इतिहासमै सबैभन्दा धेरै ५१ स्वर्ण पदक जित्यो । देशलाई ५१ स्वर्ण पदक दिलाएका सबै खेलाडीको योगदान उत्तिकै हुनुपर्ने हो । १३औँ सागमा नेपालले जितेको सबै स्वर्ण पदकमा सम्पूर्ण नेपालीले उत्तिकै खुसी महसुस गरेका छन् । सरकारले प्रदान गर्ने यस्ता पदक सबै स्वर्ण पदक विजेता खेलाडीले पाउनुपथ्र्याे । तर, सरकारले विभागीय टोलीभन्दा बाहिर रहेका खेलाडीलाई यो सम्मानबाट वञ्चित गरेको छ ।

विभागीय टोलीभन्दा बाहिरका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले पदकका लागि अन्तिम समयमा बोलाएर ‘फर्म’ भर्न लगाएको थियो । यी खेलाडीले देशका लागि पदक जितेको त्यो वेला नै सरकारलाई थाहा भइसकेको हो । त्यसको रेकर्ड कम्तीमा खेलकुदसँग सम्बन्धित निकायमा हुन्छ नै । सरकारले त्यसकै आधारमा खेलाडीलाई पदक दिन सक्थ्यो । उनीहरूलाई तैँले के पदक जितेको भनेर फेरि फर्म भर्न लगाएर अपमान ग¥यो । फर्म भर्न लगाएर पनि पदक नदिएर सरकारले यी खेलाडीलाई थप लज्जित पारेको छ ।


सरकारको यस्तो व्यवहारले नयाँ युवा पुस्ता निरुत्साहित हुनेछ । पदक जितेर पनि राज्यले गर्ने सम्मानमा विभेद हुन्छ भने कुन युवा खेलकुदमा लाग्दो हो ? अहिले एउटै खेलबाट स्वर्ण जितेका खेलाडीमध्ये पनि विभागीयले पदक पाउने र विभागमा नभएकाले नपाउने अवस्था भएको छ ।


इतिहासमै पहिलोपटक १३औँ सागमा गौरिका सिंहले चार स्वर्ण जितिन् । एकै संस्करणमा अहिलेसम्म कुनै पनि खेलाडीले यो सफलता हात पार्न सकेको थिएन । विभागीय टोलीमा नभएकी उनले पनि पदक पाइनन् । हाम्रो आग्रह यति मात्रै हो कि सरकारले पुरस्कार र सम्मानमा सबै खेलाडीलाई समान व्यवहार गरोस् ।