मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १ बिहीबार २०:३३:००
Read Time : > 2 मिनेट
फिचर

युद्धले थलिएको यमनको कोरोना कथा : प्रायः अस्पताल बन्द, खुलेकामा पनि डाक्टर, नर्स भेटिँदैनन् 

Read Time : > 2 मिनेट
२०७७ असोज १ बिहीबार २०:३३:००

युद्धले थिलथिलो बनेको अरब राष्ट्र यमन कोरोना (कोभिड– १९) महामारीले थप ठूलो स्वास्थ्य संकटमा परेको छ । देशमा पर्याप्त अस्पताल छैनन् । भएका अस्पतालको संरचना पनि युद्धले ध्वस्त छन् । 

कोरोना महामारीपछि यमनका अस्पतालहरू अझ उराठलाग्दो बनेका छन् । यहाँ कोरोना संक्रमितका लागि उपचार गर्न अत्यावश्यक भेन्टिलेटर छैन । पर्सनल प्रोटेक्टिभ इक्युभमेन्ट (पिपिई) नभएपछि डाक्टर, नर्स र अरू सहयोगी अस्पताल आउनै छाडेको बिबिसीले तयार पारेको रिपोर्टमा उल्लेख छ । यमनको स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको अन्तर्राष्ट्रिय चिकित्सकीय संस्था डक्टर विदाउट बोर्डरले कोरोना भाइरस संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी पाउनै मुस्किल भएको जनाएको छ । ‘यमनमा हामीले अहिले भोग्नुपरेको ठूलो समस्या भनेकै कोरोना भाइरस संक्रमितको उपचारमा खटिन चाहने डक्टर पाउनु हो,’ डक्टर विदाउट बोर्डरका हेड अफ द यमन मिसन क्यारोलिन डुकर्मी भन्छन्, ‘उनीहरूका लागि आवश्यक सुरक्षात्मक उपकरण पनि उपलब्ध छैन ।’

देन सहरमा एउटा मात्रै अस्पताल, डाक्टर पनि एउटै 
यमनमा लामो समयदेखि युद्ध जारी छ । हुथी विद्रोहीसँगको आन्तरिक युद्ध र सरकारको सहयोगमा साउदी अरेबिया नेतृत्वको सेनाले गरेको कारबाहीपछि यमन ध्वस्त बनेको छ । संयुक्त राष्ट्र संघले यसअघि नै मानवीय संकटको घोषणा गरेको यमनमा भोकमरीको समस्यासँगै कोरोना महामारीले ठूलो स्वास्थ्य संकट निम्त्याएको छ । विश्वले नै अहिलेसम्म समाधान भेट्टाउन नसकेको कोरोना भाइरसविरुद्ध लड्न यमनलाई निक्कै सकस परिरहेको छ । यसको एउटा उदाहरण यमनको ‘टेम्पोरेरी’ राजधानी ऐदेनको दृश्य पर्याप्त हुनेछ । सन् ०१७ को जनगणनामा एदेनको जनसंख्या आठ लाखभन्दा बढी थियो । यो क्षेत्र युद्धले धेरै क्षतिग्रस्त बनेको सहर पनि हो । कोरोना फैलनुअघिसम्म यो सहरमा केही अस्पताल थिए । ती अस्पतालमा नियमित डक्टर हुन्थे । ‘इन्टर्नसिप’ गर्नका लागि पनि प्रशस्तै डक्टर र नर्सहरू पुग्थे । तर, कोरोना महामारी फैलिएपछि ऐदेनको यो दृश्य पूरै बदलियो । इन्टर्नसिप गर्नेहरू त जानै छाडे, अस्पतालका नियमित डक्टर र अरू कर्मचारी पनि भाइरस संक्रमण त्रासका कारण अस्पताल जान छाडे । ‘सहरका प्रायः अस्पताल बन्द छन् । ऐदेनमा एउटै मात्र अस्पताल खुला छ । तर, यहाँ पनि कोरोनाको उपचार गर्ने एकजना मात्रै डक्टर छन्’, बिबिसीको रिपोर्टमा भनेको छ, ‘यी डाक्टर र उनीसँगै काम गर्ने अरू सीमित स्वास्थ्यकर्मीसँग पिपिईसम्म पनि छैन । न त संक्रमित बिरामीलाई उपचार गर्न अत्यावश्यक भेन्टिलेटर नै छ ।’ 

सहरको यो एक्लो अस्पतालमा कोरोना उपचारका लागि खटिएकी चिकित्सक हुन् जोया । सबै डाक्टर भाइरस संक्रमणको त्रासले जागिर छोड्दा जोया भने एक्लै डटिरहेकी छिन् । तर, उनलाई पनि सहज छैन । पिपिईविनै बिरामीको हेरचाहमा खटिइरहेकी उनी भन्छिन्, ‘अन्तिम अवस्थामा भएका बिरामी आउँछन्, तर उनीहरूका लागि तत्काल दिनुपर्ने अक्सिजनसम्म हुँदैन ।’ 

अस्पताल आउनै छाडे बिरामी
यमनमा भाइरस संक्रमण तीव्र बन्दै जाँदा मानिसहरू उपचारका लागि अस्पताल जानसमेत छाडेका छन् । डक्टर विदाउट बोर्डरका अनुसार डरका कारण यमनी नागरिक उपचारका लागि अस्पताल जानै छाडेका छन् । ‘बिरामी अस्पताल आउन छाडेका छन् । अस्पताल आइपुगेकाहरूको पनि अवस्था निक्कै नाजुक हुन्छ । उनीहरूलाई बचाउन मुस्किल हुन्छ’, यमनमा डक्टर विदाउट बोर्डरका हेड अफ द मिसन क्यारोलिन डुकर्मी भन्छन्, ‘बिरामी अस्पताल नआउनु पनि ठूलो समस्या हो ।’

डा. डकुमीले भनेजस्तो यमनमा बिरामी अस्पताल नपुग्नु नै ठूलो समस्या देखिएको छ । अप्रिल पहिलो साताबाटै यमनमा भाइरस संक्रमण देखिएको हो । भाइरस संक्रमणको विश्वव्यापी रेकर्ड राख्ने वर्ल्डाेमिटरले यहाँ दुई हजार १९ जना संक्रमित भएको देखाएको छ । यद्यपि, यमनसँग भाइरस संक्रमण परीक्षण गर्ने पर्याप्त क्षमता नभएको र संक्रमितहरू पनि थलिएपछि मात्रै अस्पताल पुग्ने भएका कारण यो संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।