मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १ बिहीबार
  • Sunday, 22 December, 2024
२o७७ असोज १ बिहीबार १४:o५:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा नीति होइन नेताकै बहस

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १ बिहीबार १४:o५:oo

फरक कांग्रेस बनाउने विषयवस्तु अहिले आवश्यक छ । तर, सभापति (देउवा) घरानियाँ, रामचन्द्र घरानियाँ, कोइराला घरानियाँ, निधि घरानियाँ, सिंह घरानियाँहरूको लडाइँ छ । यस्तो अस्वस्थ लडाइँलाई अन्त्य गर्नुपर्छ । प्रदीप पौडेल, केन्द्रीय सदस्य, कांग्रेस

.................

अब आउने दिनमा नेताप्रधान होइन नीतिप्रधान, व्यक्ति होइन विचारप्रधान रूपमा अघि बढ्नुपर्छ । सानो समूहबाट चल्दा पार्टी कमजोर भएको हामी सबै भुक्तभोगी छौँ । यसर्थ पार्टी संस्थागत ढंगले चल्नुपर्छ । अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य, कांग्रेस

.................

शक्तिका लागि विधानको उल्लंघन गर्ने र भागबन्डा पाउँदा नेतृत्वलाई यस्ता काममा सहयोग गर्ने नेता कांग्रेसमा छन् । पार्टीमा जागरण ल्याउनुपर्ने युवा नेताहरू पनि कुनै गुट नसमाईकन कल्याण नहुने देखेकोले गुटको फेरो समाउन बाध्य छन् । कृष्ण पोखरेल, विश्लेषक

..............

१४औँ महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल कांग्रेस नीतिमा होइन, नेतृत्वको बहसमा केन्द्रित छ । ०७४ को निर्वाचनमा अप्रत्याशित पराजय भोगेको कांग्रेसपंक्ति नीतिगत सुधारमा होइन, भावी नेतृत्वको अनुहारलाई लिएर दौडधुपमा लागेको छ । 

संविधान जारी गरेपछि चुनावमा हार खानुमा समयानुकूल आफूलाई बदल्न नसकेको कांग्रेसको निष्कर्ष थियो । तर, चुनाव सकिएको दुई वर्ष बित्दा पनि कांग्रेस नीतिगत सुधारमा केन्द्रित नभएको पार्टीभित्रै गुनासो छ । बरु, महाधिवेशनको मिति तयलगत्तै भावी नेतृत्वलाई लिएर कांग्रेसमा गुटगत संघर्ष सुरु भएको छ । 

सिंहदरबारको कामगराइप्रतिका गुनासालाई लिएर विपक्षी कांग्रेसले जोडदार आवाज नउठाएको आरोप छ । बरु, सरकारलाई सकारात्मक काम गर्न बाध्य पार्नुपर्ने र खबरदारी गर्नुपर्ने कांग्रेस आफैँ अलमलमा छ । पार्टी बदल्ने एजेन्डामा होइन भावी सभापति, उपसभापति र महामन्त्रीका लागि दाबेदार दिने एकपछि अर्को गर्दै खुल्दै जान थालेका छन् ।

सभापतिका लागि नै पाँच–सात शीर्ष नेताले दाबी पेस गरेका छन् । तर, कमजोर बनेको पार्टीलाई उठाउने कार्यक्रम र विषयवस्तुमा उनीहरूको बहस छैन । महाधिवेशन नजिकिँदा नीतिगत बहसमा लाग्नुपर्ने नेताहरू कसरी हुन्छ नेता छान्ने होडबाजीमा बढी केन्द्रित छन् । 

‘हामी महाधिवेशनको संघारमा छौँ । तर, सैद्धान्तिक रूपमा पार्टीलाई बदल्ने र जनताबीच स्थापित गर्ने गरी पार्टीमा नेताहरू अघि बढेका छैनन् । कलाविहीन रूपमा उम्मेदवारी प्रस्तुत गर्ने मात्र देखिएका छन् । हामी कसरी कमजोरी गरिरहेका छौँ र कमजोरीबाट कसरी उठ्ने हाम्रो डकुमेन्ट यस्तो हुनेछ भनेर नेताहरू अघि बढिरहेका छैनन्,’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नयाँ पत्रिकासँग भने, ‘शीर्ष पदमा आकांक्षा देखाउने उम्मेदवारहरूसँग यस्तो ड्राफ्ट र व्यावहारिक विषयवस्तु छैन भने हामी फेरि पनि कसरी परिवर्तन हुन सक्छौँ ? अरूको कमजोरी देखाएर नेता परिवर्तन होला, तर नीतिगत रूपमा कांग्रेस माथि उठ्दैन ।’ 

नीतिगत रूपमा आफूलाई प्रस्ट पार्दै अर्को निर्वाचनमा बलियो बन्नेतर्फ भन्दा पार्टीमा कसरी आफू नै बलियो बन्ने भन्नेमा नेताहरू केन्द्रित हुन थालेका छन् । पार्टीले हारे पनि आफू कसरी जित्ने, पार्टी र गुटमा हाबी हुने भन्नेमा दौडमा नेताहरू केन्द्रित हुन थालेका छन् । 

‘कुनै समय थियो– कांग्रेस आशा र भरोसाको केन्द्र थियो । कांग्रेसको विचारवरिपरि अरू घुम्थे । तर, आज कांग्रेस अरूको प्रतिक्रियामा केन्द्रित छ । सरकारमाथि नागरिक तहमा अविश्वास रहँदा प्रतिपक्षीका रूपमा कांग्रेसले जनतामा आशा र भरोसा र दिलाउन सकेको छैन,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ पत्रिकासँग भने, ‘भ्रष्टाचारको बिगबिगी छ, कोभिडविरुद्ध सरकारको कामगराइ प्रभावकारी छैन । तर, सरकारलाई खबरदारी गर्नुपर्ने कांग्रेस आज एजेन्डाविहीनजस्तो देखिएको छ । यसर्थ पार्टी नेतृत्वमा नीतिगत र संरचनागत परिवर्तन आजको आवश्यकता हो ।’

प्राध्यापक एवं राजनीतिक विश्लेषक कृष्ण पोखरेल कांग्रेसमा नीतिका लागि नभई नेताको लागि सधैँको अभ्यास भएको बताउँछन् । ‘कांग्रेसको नारा एकातिर भए पनि नीतिप्रधानभन्दा नेताप्रधानमै अलमलिएको छ । महाधिवेशन नजिकिँदा नीतिगत सुधारभन्दा कसरी हुन्छ पदमा पुग्ने भन्ने आकांक्षा र हतकण्डाले नेताहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ,’ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘नारा छ, तर व्यवहारमा मिल्दै मिल्दैन । नीति–सिद्धान्तलाई एकातिर छोडेर शक्ति हत्याउन नेताबीच होडबाजी चल्छ । तर, पार्टीलाई कसरी जनताको तहमा पु¥याउने भनेर प्रतिस्पर्धा चल्दैन ।’

.................

मुद्दाको अभाव छैन 

कांग्रेससँग सरकारका कमजोरी केलाउन दर्जनौँ विषय छन् । कोरोना महामारीका बीच सरकारले प्रभावकारी व्यवस्था गर्न नसकेको, स्वास्थ्य सामग्रीमा अनियमितताका विषय छन् । नारामा कृषिप्रधान मुलुकमा किसानले रासायनिक मल नपाएको विषय कांग्रेस नेताका लागि एजेन्डा बन्दैन । 

‘हामी अहिले सामन्तीवादी व्यवस्थामा छैनौँ । बिचौलियाको पक्षधरता देखाएर समाजवादी भइँदैन । नेकपामा हामीभन्दा बिचौलिया बढी भयो । बिचौलिया बन्न प्रतिस्पर्धा नगरौँ,’ पौडेल भन्छन्, ‘किसानलाई मल नल्याउने ठेकेदारको पक्षपाती हुने होइन, नपाउने किसानको पक्षधरता लिऊँ । कोरोनाको महामारीमा जनताको स्वास्थ्य सुधारको पक्षपाती बनौँ ।’

सरकारलाई खबरदारी गर्नुपर्ने कांग्रेस नेतृत्व विभिन्न संवैधानिक पदहरूमा भागबन्डा खोज्न उद्यत् हुनुले पनि उसलाई सत्ता सहयोगीजस्तो देखाएको छ । कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा छ । तर, सिमाना मिचिँदा समयमै दृष्टिकोण सार्वजनिक गर्न कांग्रेस चुक्छ । जनताको अधिकार खोसिन खोज्दा कांग्रेस न सरकारविरुद्ध खरो उत्रिन्छ, न नागरिकले मल नपाउँदा किसानको पक्षमा खरो उत्रिन्छ । 

मानवीय समस्याका थुप्रै चाङ भए पनि प्रतिपक्षी कांग्रेस भने आफैँ सुस्त मात्रै छैन, शक्ति हत्याउन मात्रै केन्द्रित रहेको प्राध्यापक पोखरेलको टिप्पणी छ । ‘नेकपा नेतृत्वको सरकारको अहिलेको कार्यसम्पादन एकदमै कमजोर छ । यस्तै, कमजोरी भइरहे अर्को निर्वाचनमा कम्युनिस्ट दलको बहुमत आउने देखिँदैन,’ विश्लेषक पोखरेल भन्छन्, ‘प्रत्यक्ष र समानुपातिक यस्तो निर्वाचनमा प्रस्ट बहुमत नपुग्ने भएपछि शक्ति सन्तुलनमा खेल्न सिपालु शेरबहादुर देउवा सबैभन्दा अगाडि देखिन्छन् । शक्तिका लागि जेमा पनि सम्झौता गर्न सिपालु देउवा जसरी हुन्छ पार्टीमा हाबी हुन खोज्दै छन् ।’

.................

घरानियाँको लडाइँले कांग्रेस सुध्रिँदैन : प्रदीप पौडेल, केन्द्रीय सदस्य 

शक्तिकेन्द्रित मनोविज्ञानले कांग्रेस परिवर्तन हुँदैन । प्रजातान्त्र र समाजवादसँग जोडिने गरी अघि बढ्नुपर्छ । तर, नारा एकातिर र कामगराइ अर्कोतिर छ । कांग्रेसमा घरानियाँको लडाइँ छ । विचार र विषयवस्तुको लडाइँले होइन घरानियाँको लडाइँले आजको कांग्रेस आक्रान्त छ । यस्तो प्रवृत्तिलाई सच्याए मात्र कांग्रेस सुध्रिन्छ । फरक कांग्रेस बनाउने विषयवस्तु अहिले आवश्यक छ । तर, सभापति (देउवा) घरानियाँ, रामचन्द्र घरानियाँ, कोइराला घरानियाँ, निधि घरानियाँ, सिंह घरानियाँहरूको लडाइँ छ । यस्तो अस्वस्थ लडाइँलाई अन्त्य गर्नुपर्छ । व्यक्ति परिवर्तन खोेजेको होइन, कार्यशैली परिवर्तन खोजेका हौँ । चुनौती सामना गर्ने नेतृत्व आउनुप¥यो । कार्यशैली उस्तै भए नयाँ आएर मात्रै हामी सुधारिँदैनौँ । सैद्धान्तिक पक्षलाई धाराप्रवाह रूपमा कार्यान्वयनमा लान सक्ने नेतृत्व आवश्यक छ । जनतालाई अपिलसँगै विश्वास गर्ने नेतृत्व आवश्यक छ । महाधिवेशन नजिकिँदा ‘ड्रास्टिक चेन्ज’ गर्ने कुनै उम्मेदवार छैन । सभापति पहिले नै टेस्ट भइसकेका र अरू पनि प्रि–टेस्ट भइसकेका छन् ।

.................

नेताकेन्द्रित बहस हुनुपर्छ : अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य 

व्यक्तिकेन्द्रितभन्दा मूल रूपबाट सैद्धान्तिक र वैचारिक छलफल कांग्रेसको आजको आवश्यकता हो । पार्टीमा को व्यक्ति आउने, को जाने भन्ने गौण विषय हो । किनकि हाम्रो पार्टीमा यतिखेर नीतिगत र वैचारिक रूपमा पुनर्जागरणको आवश्यकता छ । अब आउने दिनमा नेताप्रधान होइन नीतिप्रधान, व्यक्ति होइन, विचारप्रधान रूपमा अघि बढ्नुपर्छ । सानो समूहबाट चल्दा पार्टी कमजोर भएकोमा हामी सबै भुक्तभोगी छौँ । यसर्थ पार्टी संस्थागत ढंगले चल्नुपर्छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि कांग्रेस र कम्युनिस्टमा के फरक छ भन्ने कुरा पनि उठे । तर, हामीले हाम्रो कार्यशैली फरक छ भन्ने देखाउनुपर्छ । पार्टीमा व्यक्ति–व्यक्तिको झगडा र पात्र मात्र फेरिँदैमा केही हुँदैन । पात्र फेरिँदैमा प्रवृत्ति परिवर्तन हुँदैन । देश र लोकतन्त्रमाथि नै चुनौती देखिएका वेला हामीले भरपर्दो विकल्प देखिन देशभित्र नयाँ गति र नीति दिन आवश्यक छ । यसर्थ नेताकेन्द्रित होइन, विचारप्रधान र संस्थागत पारदर्शिता नै हाम्रो एजेन्डा बन्नुपर्छ, अन्यथा हामी झन् कमजोर भएर जान्छौँ । 

.................

नीतिका लागि होइन, नेताका लागि कांग्रेसमा होडबाजी : कृष्ण पोखरेल, राजनीतिक विश्लेषक

कांग्रेसमा नीतिभन्दा नेताका लागि लडाइँ गर्ने अभ्यास अहिलेदेखि होइन धेरै अगाडिदेखि हो । भन्नलाई कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा छ । यो उसको तोकिएको सिद्धान्त हो । तर, नारा एकातिर भए पनि बाँकी बहस भने गुटबन्दी गर्नमा केन्द्रित देखिन्छ । शक्तिका लागि विधानको उल्लंघन गर्ने र भागबन्डा पाउँदा नेतृत्वलाई यस्ता काममा सहयोग गर्ने नेता कांग्रेसमा छन् । पार्टीमा जागरण ल्याउनुपर्ने युवा नेताहरू पनि कुनै गुट नसमाईकन कल्याण नहुने देखेकाले गुटको फेरो समाउन बाध्य छन् । भन्नलाई कांग्रेस मासबेस पार्टी हो, तर व्यवहारतः क्याडर पार्टी भइसकेको छ । कांग्रेसका क्रियाशील सदस्य कम्युनिस्टका संगठित सदस्यजस्तै छन् । क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि आउने भएकाले अनेक हतकण्डा प्रयोग गरी सदस्यतामा पकड जमाउने होड कांग्रेसका नेताबीच चल्छ । समयमा काम नगरी अहिले आएर केन्द्रीय विभाग गठन गर्नु भनेको मान्छेहरूलाई खुसी पारेर नेतृत्वमा पुनः हाबी हुन खोजेको हो ।