मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. कन्चन प्र. अधिकारी
२०७७ भदौ ३१ बुधबार २१:३१:००
Read Time : > 4 मिनेट
ब्लग डिजिटल संस्करण

रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन कसरी गर्ने ?

Read Time : > 4 मिनेट
डा. कन्चन प्र. अधिकारी
२०७७ भदौ ३१ बुधबार २१:३१:००

विज्ञान र प्रविधिको क्षेत्रमा भएको द्रुत विकासका कारण मानवजीवन विगतको तुलनामा धेरै सहज र सरल हुँदै गएको छ । यसैगरी विकिरण तथा रेडियोधर्मी पदार्थको प्रयोग प्रविधिले एकातिर मानवीय जीवनका यावत् क्रियाकलापलाई सरल तथा विश्वसनीय बनाएको छ भने त्यही प्रविधिको असावधानीपूर्ण प्रयोगबाट हुन सक्ने जोखिम पनि उत्तिकै बढेर गएको छ ।

पारमाणविक प्रविधि र आयानीकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग, रेडियोधर्मी स्रोतहरूको सुरक्षा र संरक्षण, पारमाणविक पदार्थ, रेडियोधर्मी पदार्थ तथा संयन्त्रको अनधिकृत प्रयोग हुनबाट बचाई आयानीकृत विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जिउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्न बनेको ‘रेडियोधर्मी पदार्थ उपयोग तथा नियामन ऐन २०७७ अनेक विरोध तथा अवरोधबीच सबै सरोकारवालाहरूको लामो समयको प्रयास तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा स्वयं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमाणि पोखरेलको कुशल राजनीतिक नेतृत्वको फलस्वरूप अन्ततः ०७७ असार ११ का दिन नेपालका राष्ट्रपतिबाट प्रमाणीकरण भयो । यस कÞानुनको निर्माणले पक्कै पनि नेपालको इतिहासमा दूरगामी सकारात्मक प्रभाव पार्ने निश्चित प्रायः छ ।

नेपालमा आयानीकरण गर्ने विकिरण स्रोतको प्रयोग मुख्य रूपमा चिकित्सा क्षेत्रमा भइरहेको छ । चिकित्सा क्षेत्रमा बाहेक विकिरण तथा रेडियोधर्मी पदार्थको प्रयोग कृषि, खानी, ऊर्जा, उद्योग, पुरातत्व तथा कतिपय अन्य क्षेत्रमा समेत विश्वव्यापी रूपमा प्रचलित छ, तर नेपालले चाहिँ यसबाट खासै छैन । विकिरणको प्रयोग सावधानीपूर्वक गरेमा यसबाट अधिकतम फाइदा लिन सकिन्छ तर प्रयोगमा हेलचेक्य्राइँ गरेमा यसबाट ठूलो हानि–नोक्सानी हुन सक्छ ।

असावधानीपूर्वक आयानीकरण गर्ने विकिरणको प्रयोग भएमा यसले मानवको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । विकिरण भन्ने शब्द संवेदनशील रहेको र आममानिसको आमबुझाइमा विकिरण भन्नासाथ नकारात्मक वा त्रसित हुने मानसिकता छ । त्यसैकारणले विकिरणको क्षेत्रमा कुनै पनि कार्य गर्दा गहन जिÞम्मेवारी एवं होसियारीपूर्वक गर्नुपर्ने हुन्छ । 

अगाडिको बाटो

कानुन आएपछि पनि यसलाई व्यवस्थित गर्न झन् धरै चुनौतीहरूको सामना बढ़ेको छ । सबैभन्दा पहिले नेपालका लागि अति आवश्यक विकिरण सुरक्षा, विकिरण नियन्त्रण पूर्वाधार तथा अनुगमनका लागि चाहिने छुट्टै स्वतन्त्र विकिरण नियामक संस्थाको गठन हो । विकिरण सुरक्षा र विकिरण नियन्त्रणमा सबैभन्दा जरुरी लाइसेन्स प्रकिया, सुपरिवेक्षण, विकिरणको उचित व्यवस्थापन र रेडियोधर्मी फोहोरको व्यवस्थापन, विकिरण सुरक्षा कार्यक्रम, विकिरण अनुगमन प्रणालीको स्थापना गर्नुपर्ने देखिन्छ ।

यस क्षेत्रमा कार्य गर्ने आवश्यक विशेषज्ञहरूको कमी का कारण विकिरण नियामक संस्था सञ्चालन गर्ने चुनौती छ । तर, थप जनशक्ति उत्पादन गर्न हामीले न्युक्लियर विज्ञान, मेडिकल फिजिक्ससम्बन्धी थप शैक्षिक कार्यक्रम चलाउन तथा यसलाई राष्ट्रिय प्राथमिकतामा पार्न जरुरी छ ।

सन् २०१२ देखि नेपालले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए) को सहयोगमा विकिरण तथा रेडियोधर्मी पदार्थको प्रयोग हुने ऊर्जा, उद्योग, कृषि, खानी, चिकित्सा क्षेत्रमा विभिन्न परियोजनामा संलग्न भई कार्य गरिरहेको छ । भविष्यमा अझ थप रेडियो विकिरणको प्रयोग हुने परियोजनाहरूमा संलग्न भई नेपालले ऊर्जा, खानी, उद्योग, चिकित्सा र मुख्य रूपमा कृषिक्षेत्रमा थप फाइदा लिन सक्नुपर्छ ।

नेपालमा आयानीकरण गर्ने विकिरण स्रोतको प्रयोग मुख्य रूपमा चिकित्सा क्षेत्रमा भइरहेको छ । विकिरण तथा रेडियोधर्मी पदार्थ अझ विकसित तथा परिष्कृत रूपमा चिकित्सा क्षेत्रको रेडियोलोजी, रेडियोथेरापीमा र नुक्लिएर मेडिसिनका रूपमा प्रयोग भइरहेको छ । नेपालमा हालका दिनमा चिकित्सा क्षेत्रमा नवीनतम उपकरण भिœयाउने तथा प्रयोग गर्ने होड नै चलेको छ । यसले पक्कै पनि रोगको निदान, रोकथाम तथा उपचारमा सकारात्मक प्रभाव परेको छ र यो संख्या भविष्यमा वृद्धि हुने कुरामा दुई मत छैन ।

तर, विकिरणको सुरक्षा र यसको अत्यधिक प्रयोग तथा सेवाको गुणस्तरमा भने कुनै हालतमा पनि सम्झौता गर्न मिल्दैन । रेडियो विकिरणको प्रयोग सावधानीपूर्वक गरेमा यसबाट अधिकतम फाइदा लिन सकिन्छ, तर यसको प्रयोगमा हेलचेक्य्राइँ गरेमा यसबाट ठूलो नोक्सानी हुन सक्छ । नेपालमा सञ्चालन रहेको विकिरणसम्बन्धी उपकरणको आधिकारिक यकिन संख्या, एकाइहरूको प्रकार, विकिरणमा कार्य गर्ने कर्मचारीको योग्यता, कार्यस्थलको अवस्था, सुरक्षा उपायको अवस्था आदिबारे यकिन तथ्यांक संकलन गर्नुपर्ने देखिन्छ ।

साथै विकिरण तथा तथा रेडियोधर्मी पदार्थको प्रयोग हुने कोठाको वरिपरि विकिरण सर्वेक्षण, उपकरणको स्वीकृति जाँच परीक्षण, गुणस्तर सुनिश्चितता जाँच तथा यसको अनुगमन समय–समयमा सम्पन्न गर्ने परिपाटीको सुरुवात गर्नुपर्ने देखिन्छ । आणविक व्युत्पन्न विधिद्वारा आजका दिनमा धेरै राष्ट्रमा कोभिड–१९ भाइरस पत्ता लगाउने काम पनि भइरहेको छ । यो प्रविधि अत्यधिक भरपर्दो र विशिष्ट छ र यसले तीन घण्टाभन्दा कममा भरपर्दो निदान दिन सक्छ । आगामी दिनमा यस्ता प्रविधिद्वारा नेपालले स्वास्थ्यको क्षेत्रमा अधिकतम फाइदा लिनुपर्ने देखिन्छ । 

विकिरणको प्रयोग कृषिक्षेत्रमा व्यापक रूपमा प्रचलित छ । अहिलेको विपत् परिस्थितिबाट सिकेर भविष्यमा कृषिक्षेत्रमा यसको व्यापक प्रयोग गरी कृषिमा अत्मनिर्भर हुन सक्नुपर्छ । कृषिको क्षेत्रमा विकिरणको प्रयोगद्वारा खाद्य पदार्थलाई लामो समयसम्म ताजा तथा भण्डारण गर्न, बालीको उत्परिवर्तन प्रजनन सुधार गर्न आनुवंशिक परिवर्तन गराउन, माटोको उर्वरा शक्ति, सिँचाइ र बालीनाशकको किराको नियन्त्रण गर्न पनि विकिरणको प्रयोग गर्नुपर्छ ।

नेपालमा मलको प्रयोगमा हालका दिनमा निम्त्याएको अवस्था हामी सबैसामु छर्लंग छ । मल धेरै महँगो हुन्छ, र गलत प्रयोगले पैसाको नोक्सानी एवं दुर्घटनासमेत निम्त्याउन सक्छ । वातावरणलाई असर पर्ने कुरा आफ्नो ठाउँमा छँदै छ । माटोमा उपलब्ध फस्फोरस र नाइट्रोजनको मात्रा अनुमान गर्न रेडियो आइसोटोपहरू निकै उपयोगी हुन्छन् ।

आणविक र सम्बन्धित प्रविधिले पशुधनको उत्पादकत्व सुधार गर्न, कृत्रिम गर्भाधान र पशुजन्य रोग नियन्त्रण र रोकथाम गर्न र वातावरणीय संरक्षण गर्दछ । खाद्य सुरक्षा र गुणस्तर नियन्त्रण प्रणालीहरू राष्ट्रियस्तरमा सुदृढ हुनु आवश्यक छ, सुरक्षित खाद्यको व्यापारलाई सजिलो बनाउन र खाद्यठगीलाई रोक्नका लागि, खाद्य सुरक्षामा हानिकारक अवशेष र दूषित पदार्थहरूको समस्यालाई समेत सम्बोधन गर्न यस प्रविधिले मद्दत गर्छ ।

उद्योगको क्षेत्रमा उत्पादनदेखि गुण नियन्त्रण तथा स्तरमापन गर्न यसको प्रयोग गरिन्छ । यसैगरी खानीको क्षेत्रमा रेडियोधर्मी पदार्थको प्रयोग गरी खनिज पदार्थ पत्ता लगाउन तथा उपलब्धता निर्धारण गर्नका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एक्सरे र गामारे किरणहरू प्रयोग गरी सामग्री उत्पादन, संरचना वा भवनहरूको गुणहरू परिवर्तन नगरी वा उनीहरूको उपयोगितालाई असर नगरी परीक्षण गर्न आवश्यक भइसकेको छ । एक्सरे र गामा किरणहरू औद्योगिक रेडियोग्राफीमा प्रयोग गरी उत्पादनहरूको भित्री छविहरू बनाउनका लागि प्रयोग गरिन्छ, यसलाई नन्डेस्ट्रक्टिभ टेस्टिंग (एनडिटी) भनिन्छ । 

नेपाल परमाणु शक्ति सम्पन्न राष्ट्रहरूबीच रहेको मुलुक हो । हाम्रा छिमेकी मुलुकले ऊर्जासंकट समाधानका लागि न्युक्लियर पावर प्लान्ट निर्माणको गतिलाई तीव्र रूपमा अघि बढाइरहेको परिपे्रक्ष्यमा भविष्यमा ती मुलुकमा कुनै प्रकारको दुर्घटना भएमा हाम्रो नेपालसमेत त्यसबाट हुने असरबाट बच्न सक्दैन । त्यसैले विकिरण विपत् व्यस्थापनमा पनि हाम्रो ध्यान जानु जरुरी भइसकेको छ ।

नेपालका विभिन्न अस्पताल र वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित संस्थाहरूले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने गरेको र यस्ता पदार्थहरूको प्रयोगकर्ता संस्थाहरूको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको एवं अवश्यंभावी रूपमा बढ्दै जाने परिपे्रक्ष्यमा त्यस्ता संस्थाहरूमा हुने पारमाणविक तथा रेडियोधर्मी क्रियाकलाप वा अभ्यासलाई नियमन गर्न र यसको दुरुपयोगबाट हुन सक्ने धनजनको क्षतिबाट बच्न विकिरण नियामक निकायको गठन गरी विकिरण तथा रेडियोधर्मी पदार्थको सरल तथा कम खर्चिलो प्रविधिको प्रयोग कृषि, खानी, ऊर्जा, उद्योग, पुरातत्व तथा अन्य क्षेत्रमा व्यापक रूपमा गरी नेपालले यसबाट हुने अधिकतम फाइदा लिन सक्नुपर्छ ।

तसर्थ अविलम्ब नियामक निकाय कार्यान्वनमा ल्याई आवश्यक कार्यविधि तथा नियम र मापदण्डसमेत निर्माण गरी विकिरण स्रोतको तथा प्रविधिको प्रयोगद्वारा नेपालले अधिकतम फाइदा लिन सक्नुपर्छ ।