१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १६:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बालबालिकालाई रुन र चिन्ता गर्न नरोक्न मनोविद्हरूको सुझाब

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १६:२६:००

घरपरिवारभित्रको वातावरणले बालबालिकाको वृत्तिविकासमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । आमाबाबुको जीवनशैलीले उनीहरूको स्वास्थ्य, व्यवहार, आचरणजस्ता विविध विषयमा नजानिँदो तरिकाले प्रभावित भइरहेको हुन्छ । मनोविद्हरूका अनुसार परिवारमा हुने दुर्व्यवहार, उपेक्षाले बालबालिकाको मानसिक अवस्था निर्धारण गरिरहेको हुन्छ । 

कतिपय अभिभावकले बालबालिकामा नकारात्मकता ल्याउन सक्ने भन्दै विभिन्न घटनाबाट टाढा राखिरहेका हुन्छन् । सामान्य पीडाहरूसमेत बालबालिकाबाट लुकाउँदा उनीहरूमा पीडासँग जुध्ने क्षमता नै विकास भइरहेको हुँदैन । भविष्यमा गएर सामान्य घटनासँग समेत जुध्न नसक्दा उनीहरूले हानि व्यहोर्नुपर्ने हुन्छ । 

मनोविद्हरूका अनुसार सामान्यतया बालबालिकालाई चिन्ता गर्न वा रुन रोक्नुहुँदैन । उनीहरूमा चिन्ता गर्ने, रुनेजस्ता व्यवहार रोक्दा पछि भावना लुकाउने बानी पर्छ । जसले भविष्यमा नकारात्मक असर पारिरहेको हुन्छ । 

अभिभावकहरूले बच्चाको उपलब्धिमा प्रशंसा गर्न कन्जुस्याइँ गर्नुहुँदैन । जस्तै, परीक्षामा राम्रो अंक ल्याउँदा वा खेलकुदमा जित्दा प्रशंसा गर्नपर्छ । यस्तो व्यवहारले उनीहरूमा जित्ने वा सफल हुने विषयमा उत्साह जाग्दछ । उमेर बढ्दै जाँदा उपलब्धिलाई सकारात्मक रूपमा लिने बानीको विकास हुँदै जान्छ । 

भविष्यको सपनाबारे बालबालिकाको धारणा पनि सुन्नुपर्छ । अधिकांश अभिभावक आफूले पूरा गर्न नसकेको सपना आफ्ना बालबालिकाले गरून् भन्ने धारणा राख्छन् । कतिपय अवस्थामा अभिभावकको करले बालबालिकाले आफ्नो रुचिविपरीत कार्य गरिरहेका हुन्छन् । मनोवैज्ञानिक तथ्यअनुसार यसले बालबालिकाको सिर्जनशीलतामा असर पारिरहेको हुन्छ । 

बालबालिकाबाट राम्रो रिजल्टको अपेक्षा आवश्यक छ । अभिभावकको मार्गनिर्देशनले उनीहरूले अझै राम्रो गर्न सक्छन् । तर, बालबालिकामाथि राम्रो व्यवहार र रिजल्टका लागि बल प्रयोग भने गर्नु हुँदैन । कतिपय व्यवहारले बालबालिकाले गलत कदमसमेत उठाइरहेका हुन्छन् भने यस्तै व्यवहार दोहोऱ्याउँदै पनि जान्छन् । 

कुनै पनि कामका लागि बालबालिकालाई डर देखाउनुहुँदैन । उनीहरूबाट राम्रो व्यवहारको अपेक्षाका लागि पिट्ने, गाली गर्ने वा तर्साउने गर्नुहुँदैन । परिवारमा बालबालिकालाई हुर्काउँदा डर देखाएमा निर्णय लिन सक्ने क्षमता कमजोर हुने अध्ययनले देखाउँछ । वयस्क भइसकेपछि उनीहरूले कुनै पनि निर्णय लिँदा सही–गलत सजिलै छ्ट्याउन सकिरहेका हुँदैनन् ।