१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ३० मंगलबार १५:२०:००
Read Time : > 2 मिनेट
विश्व

शक्तिकेन्द्रहरूको रिसइबीमा चेपिएको एउटा अभागी एप्स ‘टिकटक’

Read Time : > 2 मिनेट
२०७७ भदौ ३० मंगलबार १५:२०:००

कोरोना (कोभिड– १९) महामारीको अवधिमा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय धेरै कम्पनीले व्यापार र चर्चाका हिसाबले निक्कै राम्रो गरेका छन् । वर्षौंदेखि एकनासको आम्दानी गर्दै आएका ती कम्पनीले कोरोना भाइरस सुरु भएपछिको तीन–चार महिनामै अर्बाैं डलर कमाइ गरेका छन् । यी कम्पनीले सेवा उपलब्ध गराएर मात्रै होइन, सेयर बजारबाट पनि प्रशस्तै रकम उठाएका छन् । तर, प्रयोगकर्तालाई आफ्नै छोटो भिडियो बनाएर अपलोड गर्न र अरूले बनाएका भिडियो हेर्ने सुविधा दिएको कम्पनी टिकटकले भने यो संकटमा अझ ठूलो संकट व्यहोर्नुपरेको छ ।

टिकटक सञ्चालक कम्पनी ‘बाइटडान्स’लाई सुरुवातमा अन्य कम्पनीलाई जस्तै कोरोना भाइरस नफापेको भने होइन । सुरुवातमै प्रयोगकर्ताहरूको रोजाइमा परेको टिकटक कोरोना भाइरस सुरु भएपछिको केही समय अझ बढी चल्यो । भाइरस संक्रमण रोक्ने प्रयासस्वरूप विभिन्न देशमा घोषणा गरिएको ‘लकडाउन’मा मानिसले आफ्नो फुर्सदको समय टिकटकसँगै बिताए । कतिले टिकटकलाई आफ्नो क्षमता र सिर्जना प्रस्तुत गर्ने माध्यम बनाए भने कतिले त्यही भिडियो हेरेर समय बिताए । तर, टिकटकको यो लोकप्रियता धेरै समय भने टिकेन । टिकटकको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा मात्रै टिकटकको एक सय २० मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ । तर, भारतले टिकटकसँगै धेरै चिनियाँ ‘एप्स’ एकैपटक बन्द गरिदियो । कोरोना भाइरस संक्रमण तीव्र बनिरहेकै वेला भारतले टिकटक बन्द गर्ने निर्णय गर्‍यो । 
त्यसपछि लोकप्रियता हासिल गरिरहेको अमेरिकामा पनि टिकटकले सरकारको ठूलो अवरोधको सामना गर्नु परिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा देखिएको भन्दै बाइटडान्सलाई अमेरिकामा टिकटक बन्द गर्न वा यसको स्वामित्व अमेरिकी नागरिक वा कम्पनीलाई बेच्न चेतावनी दिएका थिए ।

राष्ट्रपति ट्रम्पले त्यसका लागि बाइटडान्सलाई १५ सेप्टेम्बर अर्थात् आजसम्मको ‘डेडलाइन’ दिएका थिए । उनले आफ्नो अभिव्यक्तिमा बारम्बार बाइटडान्सलाई दिएको डेडलाइन थप नहुने बताउँदै आएका छन् । ट्रम्प प्रशासनको चेतावनीकै कारण टिकटकले अमेरिकामा आफ्नो स्वामित्व गुमाउने अवस्था देखिएको छ ।

थोरै समयमा दुई अर्बपटक डाउनलोड भएको एप्स 

सर्वसाधारणले प्रयोग गर्न सक्ने गरी सार्वजनिक भएको चार वर्षमै टिकटक विश्वभर दुई अर्बपटक ‘डाउनलोड’ भएको एप्स हो । प्रयोगकर्ताले आफ्नो १५ सेकेन्डको भिडियो अपलोड गर्न सक्ने यो चर्चित ‘भिडियो सेयरिङ’ एप्स र यसको सञ्चालक कम्पनीमाथि भारत र अमेरिकाले चीनसँगको आफ्नो तिक्ततापूर्ण सम्बन्धको रिसइबी पोखेको देखिन्छ । 
गत जुनमा चीनसँगको सीमावर्ती क्षेत्रमा समस्या भएपछि भारतले टिकटकसहित ५९ चिनियाँ एप्स बन्द गरेको थियो । त्यसवेला भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको गोली हानाहानमा भारतको २० सैनिकको ज्यान गएको थियो ।

अमेरिकाले पनि चीनसँगको खराब सम्बन्धका कारण आफ्नो देशमा रहेका चिनियाँ कम्पनीमाथि कडाइ गरिरहेको देखिएको छ । राष्ट्रपति ट्रम्पले चीनलाई कोरोना भाइरस संक्रमण फैलाएको आरोप लगाउँदै आएका छन् । अमेरिकामा सरकारको अवरोधको सामना गर्ने टिकटक पहिलो कम्पनी भने होइन । हुवावे, टेन्सेन्टजस्ता कम्पनीले पनि अमेरिकी प्रशासनको ठूला अवरोधको सामना गरिरहेका छन् ।

ट्रम्पका समर्थक बने अमेरिकामा टिकटकको साझेदार
राष्ट्रपति ट्रम्पको चेतावनीपछि बाइटडान्स अमेरिकामा टिकटक जारी राख्ने सम्भावनाको खोजीमा थियो । यसबीचमा दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र ओ¥याकलले अमेरिकामा टिकटकको स्वामित्व खरिद गर्ने प्रयास गरेका थिए । 

बाइटडान्सले माइक्रोसफ्टको प्रस्ताव अस्वीकार गरेको छ । बिबिसीले दाबी गरेअनुसार राष्ट्रपति ट्रम्पले दिएको डेडलाइनमा बाइटडान्सले अमेरिकी कम्पनी ओ¥याकललाई आफ्नो साझेदारको रूपमा भित्र्याएको छ । ओ¥याकलका अध्यक्ष लारी इलिसन राष्ट्रपति ट्रम्पका कट्टर समर्थक हुन् । लारी आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन खुलेर लागेका उद्योगपति हुन् । लारीले ट्रम्पको निर्वाचन अभियानलाई सघाउन गत फेब्रुअरीमा उनको घर रहेको क्यालिफोर्निया सहरमा सहयोग संकलन अभियान नै चलाएको बिबिसीले उल्लेख गरेको छ । नयाँ सम्झौताअनुसार अमेरिकामा टिकटकको प्राविधिक पक्षको जिम्मेवारी ओ¥याकलले हेर्नेछ । 

भारतमा युट्युबले सुरु ग¥यो टिकटकको जस्तै ‘फिचर’
भारत सरकारले टिकटक बन्द गरेपछि युट्युबले यस्तै प्रकृतिको अर्काे एप्स सार्वजनिक गरेको छ, युट्युब सर्टस् । युट्युब सर्टस्ले पनि टिकटकको जस्तै प्रयोगककर्तालाई १५ सेकेन्डको भिडियो अपलोड गर्ने सुविधा दिएको छ । यसमा पनि टिकटकमा जस्तं भिडियो बनाउन अरू धेरै सुविधा दिएको युट्युब सर्टस्ले जनाएको छ । 

युट्युब सर्टस्ले पहिलो चरणमा यो सुविधा भारतमा मात्रै दिइएको जनाएको छ । एउटा ब्लगमा युट्युब सर्टस्का उत्पादन व्यवस्थापनतर्फका उपाध्यक्ष क्रिस जाफले भनेका छन्, ‘आफ्नो छुट्टै रमाइलो, भिडियो बनाउन चाहने निर्माता र कलाकारका लागि यो अवसर हुनेछ ।’ उनले युट्युब सर्टस्लाई अझ परिस्कृत गरेर अरू देशमा पनि उपलब्ध गराइने जनाएका छन् ।