Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
नविन अर्याल काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०६:२१:००
फिचर प्रिन्ट संस्करण

खुले होटेल, छैनन् पाहुना

नविन अर्याल, काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०६:२१:००

चार महिनापछि होटेल सञ्चालनमा ल्याउन पाउँदा उत्साहित व्यवसायी ग्राहक नआउँदा निराश, पाँचतारे अन्नपूर्ण, याक एन्ड यति र हायात होटेल तत्काल सञ्चालनमा नआउने

चार महिनादेखि बन्द भएका होटेलहरू खुलेको ११ दिन भइसक्यो । तर, होटेलका मूलढोका खुले पनि सेवा दिनका लागि पाहुना छैनन् । कर्मचारीले स्वास्थ्य प्रोटोकलअनुसार पाहुनाको कसरी आतिथ्य सत्कार गर्ने भनेर ‘प्राक्टिस’ गरिसकेका छन् । सुनसान देखिन्छन् होटेल । कर्मचारी ग्राहकको पर्खाइमा छन् । नेपालको पर्यटन क्षेत्र खुलेको घोषणा गरे पनि अझै घुमघाम गर्ने वातावरण तयार भइसकेको छैन । दिनप्रतिदिन कोभिड संक्रमित बढिरहेका छन् । कोभिड मत्थर नहुँदै विदेशी पर्यटक आउने सम्भवना देखिँदैन । 

होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह पाहुना नआए पनि कम्तीमा होटेल खुल्यो है भन्ने सन्देश गएको बताउँछन् । भन्छन्, ‘होटेल सञ्चालनमा आए पनि सेवा दिन पाहुना छैनन्, तर कम्तीमा नेपालका होटेल खुलिसकेको सन्देश अन्तर्राष्ट्रियस्तरमा गयो ।’ सरकारले १५ साउनदेखि होटेल, रेस्टुराँ खुला गरेको हो । तर पनि अझै देशभरका सबै होटेल खुलिसकेका छैनन् । 

पर्यटकीय गन्तव्य चितवन र पोखराका आधाभन्दा बढी होटेल खुलिसकेका छन् । हिमाली भेगका होटेल तत्काल खुल्ने देखिँदैन । काठमाडौंमा पनि आधाआधी होटेल पर्यटकलाई सेवा गर्न तयार भइसकेका छन् । पाँचतारे अन्नपूर्ण, याक एन्ड यति र हायात होटेल तत्काल सञ्चालनमा नआउने व्यवस्थापन पक्षले जनाएका छन् । मेरियट, सोल्टी, अलफ्ट होटेल लकडाउनको अवधिमा पनि आंशिक रूपमा सञ्चालनमा थिए । विदेशी पर्यटकमा अडिएका ठमेलका होटेलहरू पनि कहिले पर्यटक आउलान् भनेर पर्खिरहेका छन् ।

पाँचतारे अलफ्ट होटेलका सञ्चालक सुमन पाँडे भन्छन्, ‘लकडाउनको अवधिमा होटेल चलाउँदा कारबाही हुन्थ्यो, अहिले कानुनी रूपमै चल्न थाले पनि ग्राहक छैनन् ।’ ११ चैतदेखि लकडाउन भएसँगै बन्द भएका होटेल १५ साउनदेखि सञ्चालनमा आएका छन् । चार महिनापछि होटेल सञ्चालनमा ल्याउन पाउँदा व्यवसायी उत्साहित थिए । तर, दैनिक रूपमा संक्रमितहरू बढ्दै गइरहेपछि व्यवसायी फेरि निराश हुन थालेका छन् । ‘कसैका लागि पनि ट्राभल अपरिहार्य होइन, वैकल्पिक कर्म हो,’ उनी भन्छन्, ‘जबसम्म यात्रीले सुरक्षित महसुस गर्दैन, तबसम्म ट्राभल गर्न खोज्दैनन् ।’ अहिले होटेल खुल्न थालेपछि विश्वभरि नेपालको पर्यटन खुला भइसकेको सन्देश गएको उनको भनाइ छ ।

                                                                                               .....

पर्यटन उद्योग सञ्चालन गर्न सरकार आफैँ लागिपरेको छ । पर्यटन मन्त्रालयले होटेल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ सबैका लागि स्वास्थ्य प्रोटोकल बनाइसकेको छ । नेपाल आउने पर्यटकलाई कसरी घुम्न दिने भन्ने विषयमा बहस चलिरहेको छ । अहिले नेपाल आउने पर्यटकलाई कम्तीमा पाँच दिन क्वारेन्टाइनमा राखेर मात्र घुम्न जान दिने भनिँदै छ । तर, कोही पनि पर्यटक क्वारेन्टाइनमा बस्न नेपाल नआउने हानका अध्यक्ष शाह बताउँछन् । ‘नेपालमा आउने पर्यटकलाई कि उनीहरूले आफ्नो देशबाट ल्याएको पिसिआर रिपोर्टका आधारमा घुम्न दिनुपर्छ कि एयरपोर्टमै अत्याधुनिक पिसिआर मेसिन राख्नुपर्छ, जहाँबाट एक÷आधा घन्टामै रिपोर्ट निकाल्न सकियोस्,’ उनी भन्छन्, ‘रिपोर्ट नेगेटिभ आउने पर्यटक सुरक्षा मापदण्ड पालना गरेर घुम्न जान्छन्, पोजेटिभ रिपोर्ट आउनेलाई क्वारेन्टाइनमा राख्न सकिन्छ ।’

क्षेत्रीय होटेल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहामा आधाभन्दा बढी होटेल खुलिसकेका छन् । होटेलको सरसफाइ गरेर स्वास्थ्य प्रोटोकलअनुसार सेवा दिन आफूहरू तयार रहेको उनी सुनाउँछन् । सौराहामा आन्तरिक र बाह्य पर्यटकको हिस्सा करिब–करिब उस्तै हुन्थ्यो । पछिल्लो समय ठूलो संख्यामा नेपाली सौराहा घुम्न निस्कन्थे । आन्तरिक पर्यटक भित्र्याउन सौराहाका युवा व्यवसायीको टिमले केही दिनअघि साइकलयात्रा पनि आयोजना गर्‍यो । सौराहाबाट सुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको थियो, जहाँ १७ जना सहभागी थिए । ‘हामीले सौराहा खुला भयो भन्ने सन्देश दिन खोजेका छौँ,’ उनी भन्छन्, ‘अब आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ, आन्तरिक घुमघाम बढेपछि विदेशी पनि आउन थाल्छन् ।’ 

चितवनको मेघौलीमा रहेको ‘मेघौली सेराई रिसोर्ट’ले आन्तरिक पर्यटकलाई लक्षित गरेर सेवा सुरु गरेको सामाजिक सञ्जालमा अभियान चलाएको छ । बहुराष्ट्रिय ब्रान्ड ताजको नीतिअनुरूप मेघौली सेराई सञ्चालनमा आएको हो । ‘मैले अझै रिसोर्ट खोलेको छैन, खोलेर मात्र के गर्नु ग्राहक आउने होइनन्,’ टेम्पल टाइगर रिसोर्टका सञ्चालक वसन्त मिश्र भन्छन्, ‘दुई/चारजना कर्मचारी राखेर काठमाडौंको अफिस खोलेको थिएँ, संक्रमित बढ्दै गएपछि आइतबारदेखि बन्द गरेँ ।’ 

भैरहवा लुम्बिनी क्षेत्रका तारे होटेल पनि अझै सञ्चालनमा आइसकेका छैनन् । ‘भारतीय पर्यटक आउन बोर्डर खोलिएको छैन, विदेशी पर्यटक ल्याउन त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भइसकेको छैन, यहाँको पर्यटन विदेशी पर्यटकसँग अडिएको छ,’ लुम्बिनीनजिकै पाँचतारे होटेल टाइगर प्यालेस सञ्चालनमा ल्याएका पवनकुमार हलुवाई भन्छन्, ‘अहिले तराईमा अत्यधिक गर्मी भएकाले आन्तरिक पर्यटक पनि घुम्न आउँदैनन्, होटेल खोलेर मात्र भएन, खर्च धान्न पनि सकिँदैन ।’ 

                                                                                  ........

सरकारले १ भदौदेखि अन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको थियो । लामो दूरीका सार्वजनिक सवारी सञ्चालनको तयारी भइरहेको थियो । तर, देशभर कोभिड संक्रमित ह्वात्तै बढेपछि उडान अनिश्चित बनेको छ । कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आन्तरिक तथा बाह्य उडान र लामो दूरीका सार्वजनिक यातायातलाई १५ दिनपछि अवस्था हेरेर मात्र सञ्चालन गर्न सरकारलाई सुझाब दिएको छ । तत्काल हवाई उडान र लामो दूरीका बसहरू सञ्चालन नहुने निश्चित भएपछि पर्यटन व्यवसायी निराश हुन थालेका छन् । पोखराका होटेल व्यवसायीहरू गुम्सिएर बसेका नेपाली नागरिक घुम्न आउने आशामा थिए । तर, कोभिडको महामारी फैलिन थालेपछि तत्काल आन्तरिक पर्यटक पनि घुम्न निस्किनेवाला छैनन् ।

तीनतारे एयरपोर्ट होटेलका सञ्चालकसमेत रहेका शाहका अनुसार विदेशी पर्यटकले अक्टोबर र नोभेम्बरका लागि गरेको बुकिङ अझै रद्द गरिसकेका छैनन् । ‘अवस्था सहज भइदिएमा विदेशी पर्यटक आउन चाहिरहेका छन्,’ उनी सुनाउँछन्, ‘सरकार र निजी क्षेत्र सहकार्य गरेर विदेशी पर्यटक आउने वातावरण बनाउनुपर्छ ।’ होटेल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ व्यवसायीहरू सरकारले बनाएको स्वास्थ्य प्रोटोकलअनुसार सेवा दिन तयार रहेको बताउँछन् । उनी थप्छन्, ‘अहिले बिजनेस हुँदैन भन्ने हामीलाई थाहा छ, एकातिर कोरोना संक्रमित थपिइरहेका छन् अर्कोतिर अहिले पर्यटनको अफसिजन पनि हो, अहिले हामीले तयारीका लागि होटेल खोलेका हौँ, नेपाल खुलेको सन्देश दिन चाहन्छौँ ।’ ठूला होटेलको सञ्चालन खर्च धेरै हुन्छ । एउटा पनि ग्राहक नभएको अवस्थामा होटेल खोलेर घाटा व्यहोर्ने कुरा भएन । अन्तर्राष्ट्रिय उडान खुला हुनेबित्तिकै पाँचतारे होटेल पनि सञ्चालनमा आउने व्यवस्थापन पक्षको भनाइ छ ।

अक्टोबर सिजन कुर्दै पर्यटन व्यवसायी

सरकारले आन्तरिक पर्यटकलाई घुमफिर गर्न प्रोत्साहित गर्ने रणनीति लिएको छ । पर्यटन व्यवसायी पनि तत्काल आन्तरिक पर्यटकको ‘मुभमेन्ट’ बढाउन प्रयासरत छन् । सौराहास्थित जंगल सफारी लजका सञ्चालकसमेत रहेका सुमन घिमिरे भन्छन्, ‘हामीले आन्तरिक पर्यटकलाई घुमफिर गर्न प्रोत्साहित गर्नुपर्छ ।’ पछिल्ला वर्षहरूमा नेपालीको घुमफिर गर्ने ट्रेन्ड बढेको छ । कुनै समय विदेशी पर्यटकसँग अडिएका पोखरा, चितवन, भैरहवा, नगरकोट, धुलिखेललगायत क्षेत्रका होटेलमा नेपाली खचाखच हुन थालेका थिए । ‘अहिले नेपाली पनि घुमफिर गरेर रमाउनका लागि मानसिक रूपमा तयार भइसकेका छैनन्,’ पाण्डे भन्छन्।

नेपालमा आउने अधिकांश पर्यटक ट्रेकिङ, माउन्टेनियरिङ, जंगल सफारीलगायत एडभेन्चर गतिविधिमा रमाउने हुन् । अहिले पनि नेपालको ट्रेकिङ रुट तुलनात्मक रूपमा सुरक्षित छ । ट्रेकिङ र आरोहणका लागि अक्टोबर–नोभेम्बर सिजनका लागि पर्यटक आउन सक्ने व्यवसायीको अनुमान छ । अक्टोबरको सिजन सुरु हुन अझै दुई महिना बाँकी छ । यो अवधिमा कोरोना मत्थर भइदिए विदेशी पर्यटक पनि आउन थाल्नेछन् र आन्तरिक पर्यटकको मुभमेन्ट पनि बढ्ने देखिन्छ । अहिले पर्यटन व्यवसायी अक्टोबर सिजनलाई कुरेर बसिरहेका छन् ।