Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २६ सोमबार ०७:०१:००
सम्पादकीय प्रिन्ट संस्करण

गेरुवा रङको कम्युनिस्ट सरकार

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २६ सोमबार ०७:०१:००

सामान्यतया कम्युनिस्टहरू आफूलाई क्रान्तिकारी भन्ने गर्छन् । मान्यता छ कि कम्युनिस्टहरू पुरानो विचार, शासन प्रणाली र अर्थतन्त्र ध्वंस गरेर श्रमजीवीको हित गर्ने विचार, शासन प्रणाली र अर्थतन्त्र तथा संस्कृति निर्माण गर्ने ध्येय लिन्छन् । दार्शनिक विचारका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबाट दीक्षित कम्युनिस्टहरू अलौकिक विषयलाई स्वीकार गर्दैनन् । सृष्टि र गतिका सबै नियमलाई पदार्थकै गुणहरूले निर्धारण गर्छ भन्ने विश्वास गर्छन् उनीहरू । समय बदलियो र कम्युनिस्टहरू एउटा खल्तीमा भौतिकवाद र कम्युनिस्ट घोषणापत्र, अर्को खल्तीमा आध्यात्मवाद र रामायण लिएर हिँड्न थालेका छन् । 

जब प्राप्त सत्ता जोगाउन अघिल्लो नारा र जनतालाई दिने सेवाप्रवाह कमजोर हुन्छ, तब सत्ताधारी नारा बदल्छन्, नयाँ घटना सिर्जना गर्छन्, समाजको ध्यान अन्यत्र मोड्छन् र त्यसबाट सिर्जित संकटमा आफ्नो सान्दर्भिकता स्थापित गर्ने प्रयास गर्छन्

एउटा हातमा हँसिया–हथौडाको झन्डा र अर्को हातमा ॐकारको झन्डा, कमसेकम नेपालको सत्ताधारी कम्युनिस्ट पार्टी नेकपालाई हेर्दा देखिने तस्बिर यही हो । आफ्नो झन्डाको रङ रातो राख्ने कम्युनिस्टहरू अचानक गेरुवा वस्त्र धारण गर्न थालेका छन् । अब आपसमा भेट हुँदा दह्रोसँग मुठी कसेको हात उठाएर निधारमाथिसम्म तन्काउँदै लालसलाम गर्ने कम्युनिस्टलाई आपसमा जय श्रीरामको अभिवादन गर्दै गरेको भेटिने सम्भावना बढ्दै गएको छ । कमसेकम शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग आफ्नो निवासमा संवाद गरेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जे भने, त्यसलाई हेर्दा यस्तो विश्वास गर्नैपर्ने हुन्छ । सत्ताका लागि राजनीति गरिरहेका दलले या त सत्तारुढ वर्गको विचार बोक्छन्, या सत्तारुढ विचारलाई मञ्चबाट गलहत्याउँछन् र आफ्नो विचार स्थापित गर्छन् । 

कमसेकम सामन्तवादसँग सम्बन्धविच्छेद गरेर सत्तासीन भएको पुँजीपतिवर्गले सामन्तवादसँग निर्णायक रूपमा सम्बन्धविच्छेद गरी आफ्नो विचार, अर्थनीति र संस्कृति स्थापित गरेको थियो । तर, यतिवेला नेपालका कम्युनिस्टको सत्ता हेर्‍यो भनेचाहिँ उनीहरू पुरानो सत्ताका सबै जडौरी धारण गरी आफूलाई परम्परागत सत्ताकै असली अवतार घोषित गर्न कम्मर कसेर लागेका देखिन्छन् । जब प्राप्त सत्ता जोगाउन अघिल्लो नारा र जनतालाई दिने सेवाप्रवाह कमजोर हुन्छ, तब सत्ताधारी नारा बदल्छन्, नयाँ घटना सिर्जना गर्छन्, समाजको ध्यान अन्यत्र मोड्छन् र त्यसबाट सिर्जित संकटमा आफ्नो सान्दर्भिकता स्थापित गर्ने प्रयास गर्छन् । राता कमरेडबाट गेरुवा वस्त्रधारी हुन पुगेका कमरेड केपी ओली अहिले त्यही गरिरहेका छन् । यस्तो काम नयाँ भने होइन । उनले पनि खासगरी भारतीय सत्ताधारी दल भाजपाबाट सिकेको प्रतीत हुन्छ । 

राम जन्मभूमिको मुद्दालाई आधार बनाएर गरेको राजनीतिले उसलाई सत्तामा मात्र पुर्‍याएन, त्यहाँ टिकिरहन सहयोग गरेको छ । उसको यो अभियानमा वेला–वेला गौतम बुद्ध पनि जोडिन्छन् । हालै त्यहाँका विदेशमन्त्री जयशंकरले शासकवर्गको यो अभीष्ट दोहोर्‍याएका छन् । सम्राट् अशोकले स्थापना गरेको स्तम्भका कारण बुद्ध आजको नेपालमा जन्मेको प्रमाणबारे यस्तो दाबी गरिन्छ भने महाकाव्यका एकजना नायक रामलाई ल्याएर माडीको रिउखोलाकै छेउमा नाभी गाडिएका हाम्रै दशरथेको जेठो छोरो रामे बनाउनु कुनै अनौठो भएन । यसको एउटै सर्त छ, त्यसले नेकपाको र खासगरी केपी ओलीको राजनीति बचाउन सहयोग गर्नुपर्‍यो । दक्षिणपन्थीहरूले जनतालाई विभाजित गरेर गर्ने राजनीतिको यो बाटो नेपालका लागि कति हानिकारक हुन्छ भन्ने कुराचाहिँ भारतलगायत देशमा हनन हुँदै गरेका जनअधिकार र दमनका उदाहरणबाटै प्रस्ट हुन्छ ।