Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
२०७७ श्रावण २१ बुधबार ११:०६:००
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंका मेयर भन्छन्, ‘निजी विद्यालय बन्द गर्ने हाेइन, सामुदायिकमा चुम्बकीय गुण विकास गरौँ’

२०७७ श्रावण २१ बुधबार ११:०६:००

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संस्थागत विद्यालयहरू बन्द गर्नेतर्फ नभई सामुदायिकको गुणस्तर वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । उनले भने, ‘संस्थागत विद्यालय बन्द गर्ने हाेइन, अब सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागतको भन्दा गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्छ ।’ 

मंगलबार ज्ञानोदय माध्यमिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र सरकारसमेत लाग्नुपर्ने बताए । महानगरपालिकाले त्यसका लागि विभिन्न कार्यक्रमहरू अघि सारेको जानकारी दिए । 

‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेका छन् अब त्यसैगरी बिस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन, त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईंहरू (विद्यार्थी)को भविष्य हामी बनाइदिन्छौँ भन्ने  ग्यारेन्टी सामुदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामुदायिकमा स्वतः विद्यार्थीको चाप बढ्नेछ ।’ 

सबै सामुदायिक विद्यालयमा सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निःशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको बताए । ‘हामीले खोजेको कमजोर होइन, गुणस्तरीय र उत्कृष्ट शिक्षा हो । संस्थागत विद्यालयले दिनेभन्दा पनि अझ उत्कृष्ट र गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले दिन सक्नुपर्छ,’ उनले, ‘सामुदायिक विद्यालयले संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने हो भने संस्थागत विद्यालय स्वतः बन्द हुन्छन् ।’ 

संघीय, प्रदेश र स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र अभिभावकहरूको जिम्मेवारी र दायित्व संस्थागत विद्यालयलाई बन्द गर्ने नभई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामुदायिक विद्यालय निर्माण गर्नु भएको पनि उनले बताए । 

‘काठमाडौं महानगरपालिका स्थानीय सरकार भएको नाताले भौतिक पूर्वाधार, शिक्षक–शिक्षिकालाई दिइने तालिमलगायतका लागि तयार छ,’ उनले भने, ‘हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्यौँ भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन् । हामी बजारमा केही वस्तु किन्न जाँदा कसैले गुणस्तरीय वस्तु सस्तोमा दियो भने महँगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यही हो ।’ 

महानगरका प्रमुख शाक्यले विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेपछि महानगरपालिकाले थुप्रै विद्यालय सुधारका कामहरू गरिरहेको बताए । ‘भित्री सुधारको पाटो शिक्षक–शिक्षिका कै हो,’ उनले भने, ‘शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा हामीले लिएका छौँ ।’ उनले त्यसमध्ये सबै विद्यालयमा रंगरोगनको काम करिब सम्पन्न गरेको जानकारी दिए ।

‘शौचालय नभएका ठाउँमा हामीले शौचालय बनाइदिन्छौँ भनेका छौँ, सङ्ख्या थप्नुपर्छ भने थप्नुहोस् भनेका छौँ,’ उनले भने, ‘भएकालाई सुधार गर्नुपर्छ भने गर्नुहोस् भनेका छौँ ।’  वर्षाका वेला हिलो र घाँम लाग्दा धुलो उड्ने अवस्था नहोस् भनेर विद्यालय हाताभित्र मैदान बनाउनेलगायतका काम पनि महानगरपालिकाले गरिरहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि बालमैत्री चित्र तथा महावाणी लेखन, लैंगिक तथा अपांगमैत्री शौचालय निर्माण, सार्वजनिक पुस्तकालय तथा वाचनालयको स्तरोन्नति, प्राविधिक शिक्षा कार्यक्रम, आविष्कार क्लब स्थापना, सिटी पुस्तकालय स्थापनालगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।