Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
२०७७ श्रावण १७ शनिबार १५:२७:००
मुख्य समाचार डिजिटल संस्करण

‘विषादीको प्रयोग मापदण्डअनुसार नहुँदा वातावरण र मानवीय जीवनमा असर’

२०७७ श्रावण १७ शनिबार १५:२७:००

नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्डअनुसार नहुँदा वातावरण र मानवीय जीवनमा असर पर्ने गरेको छ ।

नेपालमा मापदण्ड र नियमविपरीत कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकसित देशहरूमा भन्दा उच्च रहेको छ । विषादीविज्ञ भक्तराज पालिखेले सञ्चारकर्मीसँगको कुराकानीमा नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियमविपरीत हुने गरेको बताएका हुन् । उनले विषादीलाई औषधिको रूपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताए । 

 तथ्यांकअनुसार विकसित देशहरूमा प्रतिहेक्टर दुई किलोभन्दा बढी विषादीको प्रयोग हुन्छ । नेपालमा प्रतिहेक्टर तीन सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ । जुन अत्यन्तै कम हो । तर, कम विषादीको प्रयोग हुँदा पनि मापदण्डअनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ ।

विज्ञ पालिखेले विकसित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको, तर नेपालजस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बताए ।  उनले विकसित देशमा विषादीको खपत बढी भए पनि मापदण्ड र नियमअनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताए । 

नेपालमा अहिलेसम्म तीन हजार ३५ वटा व्यापारिक नामका विषादी र एक सय ७० वटा वैज्ञानिक नामका विषादीहरू दर्ता भई प्रयोगमा आएको छ । जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताए ।

उनले कृषि बालीमा किरा लागेपछि   विषादीको प्रयोग गर्नैपर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोड दिए ।  किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानीलाई हटाएर प्राविधिकको सल्लाहअनुसार छान्नुपर्ने बताए ।

 रातो र पहेलो रङको विषादीभन्दा हरियो र निलो रङको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनाेटमा विशेष ख्याल पुऱ्याउनुपर्ने उनले  बताए । 

खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ । छिमेकी देशहरूले प्रयोग गरिरहेका कतिपय विषादीहरू नेपालमा प्रतिबन्धित छन् । खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ ।