Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
२०७७ श्रावण १३ मंगलबार ०५:१२:००
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका परराष्ट्रमन्त्रीबीच भर्चुअल बैठक

२०७७ श्रावण १३ मंगलबार ०५:१२:००

चीनले कोभिड–१९ विरुद्धको लडाइँमा छिमेकी देशहरूलाई सहयोग गर्ने सूचीको उच्चतम प्राथमिकतामा राखेको बताएको छ । सोमबार छिमेकी नेपाल, अफगानिस्तान र पाकिस्तानका परराष्ट्रमन्त्रीहरूसँग भर्चुअल भिडियो बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले कोभिड–१९ विरुद्ध नेपालसँग पनि निकट सहकार्य भइरहेको उल्लेख गरे । चिनियाँ विदेश मन्त्रालयले संयोजन गरेको भिडियो बैठकलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सम्बोधन गरे ।

चीनले कोभिड–१९ महामारीयता पहिलोपटक नेपाल, पाकिस्तान र अफगानिस्तान समेटेर भिडियो बैठक आयोजना गरेको हो । चीनको यो प्रयासलाई अर्थपूर्ण मानिएको छ । दक्षिण एसियाका यी तीनै मुलुकको सम्बन्ध चीनसँग अन्य देशको तुलनामा सुदृढ छ ।

सोमबार अपराह्न ६ बजेदेखि ४५ मिनेट चलेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरू क्रमशः वाङ यी, शाह मुहम्मद कुरेसी र मोहम्मद हनिफ अतमारले सम्बोधन गरेका थिए । बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका अधिकारी पनि सहभागी थिए ।

परराष्ट्र स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यीले कोभिड–१९ लाई परास्त गर्न बहुपक्षीय प्रयास आवश्यक रहेको बताए । बैठकको सुरुमै सम्बोधन गर्ने क्रममा उनले कोभिड–१९ परास्त गर्न चीनले आफ्नो अनुभव बाँडिरहेको, सकेको सहयोग गरिरहेको र खोप अनुसन्धानमा सक्रिय रहेको बताए । ‘खोप तयार भएपछि छिमेकी देशहरूमा सबैभन्दा पहिले पुर्‍याउनेछौँ,’ उनले भने ।

नेपालले कोरोनासँग जुध्न सही उपाय अपनाएको उनको भनाइ थियो । ‘हामी नेपालसँग निकट सम्पर्कमा छौँ । नेपाल सही बाटोमा छ र परिस्थिति सरकारको नियन्त्रणमा छ,’ उनले भने । कसैलाई दोष दिएर कोभिड–१९ महामारी अन्त्य नहुने बताउँदै उनले विश्वले मिलेर यसलाई परास्त गर्नुपर्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले प्रभावकारी रूपमा कोभिड–१९ महामारीलाई सम्हालिरहेको बताए । ‘हामीकहाँ संक्रमणदर र मृत्युदर अत्यन्तै कम छ । निको हुनेहरूको दर उच्च छ,’ ज्ञवालीले भने, ‘सीमित साधन–स्रोतका बाबजुद सरकारले परिस्थिति सम्हाल्ने प्रयास गरिरहेको छ ।’ नेपाललाई निरन्तर सहयोग गर्दै आएकामा चीनको सराहना गर्दै ज्ञवालीले सबै मिलेर कोभिड–१९ लाई परास्त गर्नुपर्नेमा जोड दिए । पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूले पनि कोभिड–१९ विरुद्ध लडाइँमा आ–आफ्नो देशको अनुभव साटेका थिए ।