Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नविन अर्याल काठमाडौं
२०७७ असार ३० मंगलबार १०:२१:००
अर्थ प्रिन्ट संस्करण

३३ प्रतिशत घट्यो घरजग्गा कारोबार, किन्नेभन्दा बेच्ने धेरै

मौद्रिक नीतिले घरजग्गा कारोबारको भविष्य निर्धारण गर्ने 

नविन अर्याल, काठमाडौं
२०७७ असार ३० मंगलबार १०:२१:००

कोभिड–१९ का कारण घरजग्गाको मूल्य घट्ने सम्भावना, बैंकमा तरलता भए पनि घरजग्गामा नयाँ ऋण थपिएन, खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा 

घरजग्गा खरिद–बिक्रीमा ब्रोकरको काम गर्दै आइरहेको ‘प्रोपर्टी ३६०’ कम्पनीमा लकडाउनको अवधिमा आफ्नो घर बिक्री गर्न भन्दै एक दर्जनभन्दा बढी प्रस्ताव आएका छन् । लकडाउन सुरु हुनुअघि फागुनमा भने घर बिक्री गर्न चाहने घरधनीहरू दुई दर्जनभन्दा बढी थिए भने खरिद गर्न चाहनेको संख्या पनि उस्तै थियो । तर, अहिले घर बिक्री गर्ने प्रस्ताव बढी आइरहेको प्रोपर्टी ३६० का सिइओ सन्तोष प्रधानले बताए । उनी भन्छन्, ‘१० वटा घर बिक्री गरिदिन प्रस्ताव आउँदा ६–७ जनाको मात्र खरिद गर्ने इन्क्वायरी आउने गरेको छ ।’ 

११ चैतदेखि सुरु भएको लकडाउनको अढाई महिनासम्म देशभरिकै मालमोत कार्यालयबाट घरजग्गा खरिद–बिक्री बन्द भयो । २५ जेठदेखि मालपोत कार्यालय खुले पनि घरजग्गा खरिद–बिक्री भने सुस्त छ । नेपाल रियल इस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी भन्छन्, ‘अहिले मालपोतमा लकडाउनअघि पेन्डिङमा रहेका घरजग्गा पास गर्ने काम मात्र भइरहेका छन् ।’ उनी आफैँ पनि बिहीबार काभ्रे पुगेर लकडाउअघि बैना गरिएको जग्गा पास गरिदिएर काठमाडौं फर्किए ।  

बजारमा कोभिड–१९ का कारण घरजग्गाको मूल्य घट्न सक्ने प्रक्षेपण गरेर खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् । ‘अहिले पैसा ठिक्क पारेर बसेका खरिदकर्ता पनि मूल्य घट्ने अनुमानमा ‘पर्ख र हेर’को अवस्थामा छन्,’ प्रपोर्टी २४७ का चिफ अपरेटिङ अफिसर (सिओओ) हमिद खानले भने ।

कोभिड–१९ को महामारीले वायुसेवा, होटेल, रात्रिकालीन क्लब, रेस्टुरेन्ट, सपिङ मल, सिनेमा हलको व्यवसाय दयनीय बनाएको छ । कोभिडकै कारण धेरैले रोजगारी गुमाउनुपरेको छ भने कतिपयको आम्दानी घटेको छ । विश्वभरि नै कोरोनाको प्रभाव फैलिँदा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा पनि ठूलै असर परेको छ । अर्थतन्त्रका सबै अवयवहरू शिथिल भएका कारण मालपोत कार्यालय खुले पनि घरजग्गा कारोबारमा पनि ठूलो झड्का लागेको व्यवसायीहरू बताउँछन् । तर, घरजग्गाको मूल्य र कारोबारको विषयमा भने अहिले यकिनसाथ भन्न नसकिने रियल इस्टेट अर्गनाइजेसनका महासचिव सुवेदी बताउँछन् । उनले भने, ‘घरजग्गा कारोबारको वास्तविकता थाहा पाउन अझै २–३ महिना लाग्छ ।’

घरजग्गा कारोबार एकतिहाइले घट्यो
असारदेखि अन्य व्यापार, व्यवसाय सामान्य अवस्थामा फर्कन थाले पनि घरजग्गा व्यवसाय भने एकतिहाइले घटेको मालपोत कार्यालयहरूको तथ्यांकले देखाएको छ । काठमाडौंको सबैभन्दा धेरै कारोबार हुने कलंकीस्थित मालपोतमा लकडाउन सुरु हुनुअघि माघ र फागुनको तुलनामा असारमा घरजग्गाको कारोबार ३३ प्रतिशतले घटेको छ । गत माघमा १२ सय ३४ वटा र फागुनमा १२ सय ६९ वटा घरजग्गा किनबेच भएका थिए । तर, असारमा ८ सय ६१ वटा मात्रै कारोबार भएको कलंकी मालपोत कार्यालयका सूचना प्रविधि अधिकृत केशव खतिवडाले जानकारी दिए । 

त्यस्तै, घरजग्गा कारोबारबाट संकलित राजस्व पनि एकतिहाइले नै घटेको छ । गत फागुनमा कलंकी मालपोतबाट २९ करोड २७ लाख ७६ हजार राजस्व घरजग्गा कारोबारबाट संकलन भएको थियो । तर, असारमा १९ करोड ३६ लाख ७१ हजार मात्रै राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी नीलकण्ठ काफ्लेले जानकारी दिए ।  

घरजग्गामा बैंकको ऋण पनि सुस्त
घरजग्गा कारोबारमा बैंकहरूले प्रवाह गर्ने ऋण पनि सुस्त भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार अहिले लकडाउनअघि स्वीकृत ऋणहरू मात्रै गइरहेका छन्, नयाँ ऋण फाट्टफुट्ट मात्रै स्वीकृत भएका छन् । ‘अहिलेको कारोबार हेर्दा घरजग्गाको नयाँ किनबेचभन्दा पनि पुरानो काम मात्रै भएको देखिन्छ,’ दाहालले भने । बैंकहरूसँग प्रशस्त तरलता भएकाले साउनपछि घरजग्गामा ऋण बढ्न सक्ने पनि उनले बताए ।

मौद्रिक नीतिले घरजग्गा कारोबारको भविष्य निर्धारण गर्ने 

लकडाउनअघिसम्म विदेशबाट भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामा लगानी भइरहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले पनि घरजग्गामा खुलेर लगानी गरिरहेका थिए । नेपाल राष्ट्र बैंकको चैत महिनासम्मको तथ्यांकअनुसार घरजग्गामा बैंक तथा वित्तीय संस्थाको लगानी ४ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जसमध्ये व्यक्तिगत आवासीय कर्जातर्फ २ खर्ब ५९ अर्ब ७० करोड र रियल इस्टेट कर्जातर्फ १ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ प्रवाह भएको छ ।

सिइ कन्स्ट्रक्सनका अध्यक्ष विजयराज भण्डारी भन्छन्, ‘अहिले नै घरजग्गा कारोबारको भविष्यवाणी गर्ने वेला भइसकेको छैन, नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिले पनि घरजग्गाको भविष्य निर्धारण गर्नेछ ।’ घरजग्गामा प्रवाह गरिने ऋणको मोडालिटीले पनि घरजग्गा किनबेचमा उतारचढाव ल्याउनेछ । सिइ ग्रुपले केही समयअघि गरेको एक सर्भेले घर किन्न इच्छुक व्यक्तिहरू धेरै देखाएको उनले बताए । ‘द्वन्द्व, भूकम्प, कोरोना वा बाढीपहिरो जस्तोसुकै महामारी र प्रकोपका वेलामा व्यवस्थित आवास चाहिने रहेछ भन्ने महसुस भएको छ,’ उनी थप्छन्, ‘सोसल डिस्टेन्सिङ र क्वालिटी अफ लाइफका लागि पनि व्यवस्थित आवासको एकाइको माग अझ बढ्न सक्छ ।’

अहिले आवासीय घरभन्दा पनि व्यावसायिक प्रयोजनका लागि बनाइएका घर–भवन बिक्री वा भाडा लिनेको चाप बढ्न सक्ने नेपालभूमि रियल इस्टेट एजेन्सीका अध्यक्ष बिक्रम लामा बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरूले जति धेरै लगानी गर्छन्, त्यति नै रियल इस्टेट पनि अगाडि बढ्ने उनी बताउँछन् । उनी भन्छन्, ‘बजारमा नगद प्रवाह कम भएपछि घरजग्गा कारोबारमा पनि असर परिहाल्छ, तैपनि एक–डेढ करोडसम्मका घरजग्गा किनबेचमा त्यति ठूलो असर नपर्ला ।’

घरजग्गामा लगानीको उपयुक्त समय
नयाँ व्यवसायमा लगानी गर्न पैसा ठिक्क पारेर बसेका अथवा भइरहेको व्यवसायलाई विस्तार गर्न खोजिरहेका व्यक्तिहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । व्यवसाय सुरु गरिहाल्न हौसिने अवस्था छैन । फेरि बैंकमा पैसा राख्दा राम्रो ब्याज पनि नपाइने हुनाले उनीहरूको उत्तम विकल्प घरजग्गामा नै लगानी गर्ने हुन सक्छ । नेपाल रियल इस्टेट अर्गनाइजेसनका महासचिव सुवेदी पनि अहिले घरजग्गामा लगानी गर्ने उपयुक्त समय भएको बताउँछन् । ‘अहिले घरजग्गा बिक्री गर्न खोज्नेहरू धेरै हुन्छन्, खरिद गर्ने ग्राहकहरू कम भेटिन्छन्,’ उनी थप्छन्, ‘यदि आफूसँग पैसा छ भने अहिले घरजग्गामा लगानी गर्ने उपयुक्त समय हो ।’ 

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कुल ऋणको ठूलो हिस्सामा घरजग्गा धितो राखिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूलाई साँवा–ब्याजको किस्ता तिर्न ताकेता गरिरहेका छैनन् । जब बैंकले ऋण तिर्न ताकेता गर्न थाल्छन्, तब घरजग्गा कारोबारमा उतारचढाव देखिन थाल्छ । ‘घरजग्गाको मूल्य घट्छ कि बढ्छ, दुई–तीन महिनापछि बल्ल थाहा हुनेछ,’ सुवेदी भन्छन् । त्यतिवेला बैंकहरूले समयमा इएमआई नतिरे धितोमा राखेको घरजग्गा लिलामी गर्न पनि सक्छन् । वा ऋणी आफैँले लफडा गरेर बस्नुभन्दा धितो राखेको घरजग्गा कम मूल्यमा बिक्री गरेरै भए पनि ऋण तिर्ने मनस्थिति बनाउन सक्छन् । प्रोपर्टी ३६० का सिइओ प्रधानका अनुसार अहिले कतिपय पैसावाला ग्राहकहरू च्याँखे (दाउ) थापेर बसिरहेका छन् । एक करोड मूल्यको घरजग्गा ६०–७० लाखमै पाइए खरिद गरिहाल्ने उनीहरूको दाउ छ । ‘अझै लकडाउन थपिँदै गयो, किस्ता तिर्न निकै समस्या भयो भने मात्र घरजग्गा बिक्रीका लागि चाप बढ्ला,’ उनी भन्छन्, ‘तर, अहिले नै घरजग्गाको मूल्यमा ठूलो उतारचढाव आउने देख्दिनँ ।’

कोभिडकै बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाट खुकुलो बनाउन निर्देशन दिइसकेको छ । कित्ताकाट रोक्ने निर्णयले मालपोत र नापी कार्यालयमा अनियमितता बढेको ठहर गर्दै खुकुलो बनाउन निर्देशन दिएपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ । जग्गाको कित्ताकाट खुकुलो भएपछि टुक्रा जग्गाको आपूर्ति बढेर मूल्य घट्न सक्ने आकलन पनि छ ।