Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
नवीन प्यासी काठमाडाैं
२०७७ असार २४ बुधबार ०९:५२:००
नयाँCity

आर्थिक संकटमा स्रष्टा, छुट्टै योजनामा प्रतिष्ठानहरू

नवीन प्यासी, काठमाडाैं
२०७७ असार २४ बुधबार ०९:५२:००

कोभिड-१९ महामारीले जन्माएको आर्थिक संकट सम्बोधनका लागि सरकारी निकाय गुहार्नेमा नाट्यकर्मीहरू अग्रपंक्तिमा देखिए । देशभरका ४९ वटा नाट्य संस्थाले थिएटर हबको संयोजनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र बुझाउँदै रंगकर्मीका लागि राहत प्याकेज माग गरे । अन्य विधाका स्रष्टाहरू कागजी रूपमै अगाडि बढेको त देखिँदैन, तर सरकारी राहत प्याकेज नआए पलायनको जोखिम औँल्याइरहेका छन् ।

भाषा, साहित्य, संगीत, नाट्य र ललितकला प्रतिष्ठानहरूबाट ठोस कार्यक्रमको प्रतीक्षामा देखिन्छन्, स्रष्टाहरू । चरम आर्थिक संकटबाट पार पाउने गोरेटो फेला नपरेपछि अभिभावक संस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई गुहार्नुको विकल्प नदेखिएको रंगकर्मी विजय बराल बताउँछन् ।

 ‘विधागत प्रतिष्ठानबाट हामीले चाहेको पहिलो कुरा उनीहरूको अभिभावकत्व हो,’ शिल्पी थिएटरका अध्यक्ष घिमिरे युवराज भन्छन्, ‘दोस्रो- अप्ठेरोमा परेका लेखक र स्रष्टा पहिचान गरेर राहत वितरण गर्नैपर्छ । तेस्रो- प्रतिष्ठानहरूकै कोषको आधा रकम परिचालन गरेर विधागत हितमा लगाउन सक्छन् ।’ उनका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानसँग वार्षिक १२ करोड २९ लाख रुपैयाँ बजेट छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग ६ करोड एक लाख र ललितकला प्रतिष्ठानसँग चार करोड आठ लाख रुपैयाँ बजेट छ ।

भाषा, साहित्य, संगीत, नाट्य र ललितकला प्रतिष्ठानहरूबाट ठोस कार्यक्रमको प्रतीक्षामा देखिन्छन्, स्रष्टाहरू ।

लकडाउनका कारण चालू आर्थिक वर्ष ०७६-७७ को चैतदेखि असारसम्मका चार महिना सबै प्रतिष्ठान गतिविधिविहीन रहे । ‘चार महिनामा खर्च नभएको रकम पनि आ–आफ्ना विधागत हितका लागि परिचालन गर्न सक्छन्,’ घिमिरे भन्छन्, ‘जसरी हुन्छ स्रष्टालाई संकटबाट बाहिर निस्किन मद्दत गर्नुपर्छ ।’

रंगकर्मीलाई राहतलगायत आर्थिक टेवा पु-याउने कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनेर सोचिरहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव श्याम तमोट बताउँछन् । ‘एकद्वार प्रणाली लागू भएकाले हामीले नगद, जिन्सी सहयोग गर्ने अवस्था छैन,’ उनी भन्छन्, तत्काल ठोस योजना बनिसकेको छैन।’

ललितकलाकर्मी पनि आर्थिक संकटबाट गुज्रेका छन् । संसारभर कला प्रदर्शनी ठप्प छ । प्रदर्शनीमा आफ्ना पेन्टिङ बिक्री गरेर जीविकोपार्जन गरिरहेकाहरू आर्थिक संकटतर्फ धकेलिएको कलाकार एनबी गुरुङ बताउँछन् । ‘यस्तो वेला पेन्टिङ खरिद गरिदिएर हुन्छ कि राहत प्याकेज ल्याएर हुन्छ, ललितकला प्रतिष्ठानको अग्रसरता जरुरी देखिएको छ,’ उनी भन्छन्, ‘तर, केही काम भएकै छैन । धेरै कलाकारको अवस्था जटिल बन्दै गएको छ ।’

प्रतिष्ठानका कुलपति के के कर्माचार्यका अनुसार गत वैशाखमा तय भएको राष्ट्रिय कला प्रदर्शनी अब डिजिटल प्लेटफर्ममार्फत गर्ने योजना छ । ‘९० प्रतिशत तयारी सकिएको थियो । भर्चुअल माध्यमबाट करिब पाँच सय कलाकारका पेन्टिङ प्रदर्शनीमा राख्ने योजनामा छौँ,’ उनी भन्छन्, ‘त्यसबाट धेरै कलाकारलाई आर्थिक लाभ हुन सक्छ ।’

आर्थिक, जिन्सी राहतबाट समस्याको समाधान नहुने उनको स्पष्टोक्ति छ । ‘भत्ता दिने कुरा आउँदैन । एक बोरा चामलले जिन्दगी पनि चल्दैन,’ उनी भन्छन्, ‘अलि राम्रो र दीर्घकालीन काम गर्ने योजनामा छौँ । भर्चुअल कला प्रदर्शनी त्यस्तै एउटा लाभदायक उपाय हुन सक्छ ।’

प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय निरन्तर अनलाइन प्रदर्शनीहरू आयोजना गरिदिएर कलाकारको मनोबल उच्च बनाइदिनुपर्ने सुझाउँछिन् । ‘कलाकारलाई ढाडस दिन पनि प्रतिष्ठानले मनोबल उच्च बनाउने कार्यक्रम ल्याउनैपर्छ,’ उनी भन्छिन्, ‘आर्थिक सहयोग गर्न नसके पनि अभिभावक संस्थाको हिसाबले त्यस्ता कार्यक्रम अत्यावश्यक छन् ।’

लकडाउनबीच नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशको एप सार्वजनिक ग-यो । सदस्य-सचिव जगतप्रसाद उपाध्यायका अनुसार यो एप अहिले परीक्षणमा छ । सातै प्रदेशका भाषा, संस्कृति, कला र साहित्य समेटेर ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशोन्मुख छ । ‘स्रष्टालाई निराशाबाट बाहिर निकाल्ने योजनामा काम गरिरहेका छौँ,’ उनी भन्छन् ।

साहित्यकार राजन मुकारुङ भने प्रतिष्ठानले यस्तो वेलामा त्यस्ता योजनालाई थाती राखेर ठोस कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । ‘यस्तो मानवीय विपत्तिका वेला प्रतिष्ठानले भर्चुअल बहससम्म गराएन,’ उनी भन्छन्, ‘राहत सहयोग प्रतिष्ठानको कार्यक्षेत्रमा पर्दैन होला, तर त्यसमा संयोजन गरेर राज्यसम्म पु¥याउन त सक्छ नि !’

साहित्यकार उषा शेरचन प्रज्ञा प्रतिष्ठानले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर निस्केर पनि यस्तो वेलामा धेरै काम गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘अन्य साहित्यिक संस्था, गैरआवासीय नेपाली संघलगायतसँग सहकार्य गरेर राहत प्याकेज ल्याउन सकिन्छ । प्रतिष्ठानले कोष नै खडा गरेर काम गर्न सक्छ ।’