मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
मेची भन्सार कार्यालय
२०७७ जेठ ९ शुक्रबार १९:०३:००
अर्थ

पश्चिम बंगालको सर्तले काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आयात ठप्प

२०७७ जेठ ९ शुक्रबार १९:०३:००

कोरोना संक्रमणको बहाना देखाउँदै भारतको पश्चित बंगाल सरकारले एक महिना रानीगञ्ज नाका बन्द गऱ्यो । त्यसपछि २६ वैशाखमा नाका खुलेसँगै पूर्वी नाका काँकडभिट्टाबाट सामान आयात सुरु भयो । तर, नाका खोल्दा पश्चिम बंगाल सरकारले एउटा सर्त राख्यो, ‘नेपालबाट गाडी पठाउन नपाइने ।’

पश्चिम बंगाल सरकारको यही सर्तका कारण मेची भन्सार कार्यालयको कुल राजश्व संकलनमा करिब आधा हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात ठप्प भएको छ । ‘पेट्रोलियम पदार्थ लिन नेपाली गाडी भारत जान्छन्,’ मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले भने, ‘यहाँबाट जान नपाएपछि अहिले अन्य नाकाबाटै पेट्रोलियम पदार्थ आउँछ ।’ उनका अनुसार मेची भन्सारमा औसतमा दैनिक दुई करोड राजश्व पेट्रोलियम पदार्थबाट संकलन हुन्थ्यो ।

अन्य सामग्रीको आयात पनि घटेको उनले बताए । उनका अनुसार मेची भन्सार कार्यालयले पूर्वी नाका भएर सामान आयात गर्छ र विराटनगरको रानी भन्सार भएर खाली गाडी फर्काउँछ । यसो गर्दा दूरी लामो पर्ने भएकाले २० हजारभन्दा बढी खर्च थपिने मेची भन्सार प्रमुख विश्वकर्माले बताए । उनले भने, ‘यसले गर्दा झापाबाहिरका जिल्लामा जाने सामग्री पनि कम आएका छन् ।’ उनले मेची भन्सारबाटै गाडी पठाउन पहल भइरहेको पनि जानकारी दिए ।

आयात जारी, तर निर्यात शून्य
पूर्वी नाकाबाट गाडी जान नपाएपछि अहिले निर्यात ठप्प भएको छ । यो समयमा भारतबाट आयात मात्र भइरहेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए । उनका अनुसार अहिले भारतबाट तरकारी तथा फलफूल, धान, चामल, कोदो, चकलेट, कोइला, क्लिंकर तथा सिमेन्टका कच्चा पदार्थ र हाइड्रोका सामग्री आइरहेका छन् । तर, नेपालको निर्यात भने ठप्प छ । नेपालबाट हरियो चियापत्ती, अदुवा, अलैँची, बन्दाकोभी तथा जडीबुटी निर्यात हुने गरेको थियो ।

बंगलादेशसँगको व्यापारमा प्रभाव
पश्चिम बंगाल सरकारले नेपालबाट जाने सवारी प्रवेशमा रोक लगाएसँगै नेपाल–बंगलादेश व्यापारमा पनि प्रभाव परेको छ । बंगलादेशबाट नेपालमा औषधि, आलु, फर्निचर र विद्युतीय उपकरणका सामग्री आउने गरेका छन् । यस्तै, नेपालबाट मुसुरो दाल, डाबर नेपालको उत्पादन तथा केही कृषि सामग्री बंगलादेश निर्यात हुने गरेको छ ।

तर, पश्चिम बंगाल सरकारको निर्णयसँगै बंगलादेशसँगको व्यापार ठप्प भएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए । ‘नेपाली गाडीले यहाँका सामान लिएर जाने तथा उताबाट बंगलादेशको सामान लिएर आउने गरेको छ,’ विश्वकर्माले भने, ‘तर पश्चिम बंगालले गाडी जान नदिँदा बंगलादेशसँगको व्यापार पनि ठप्प भएको छ ।’