Skip This
Skip This

जब ८ वर्षीया बालिकाले गरिन् बाबुविरुद्ध उजुरी 

२०७५ पौष ३ मंगलबार १०:५९:००

शौचालय बनाउने प्रतिज्ञा तोडेको भन्दै भारतमा एक बालिकाले आफ्नै बाबुविरुद्ध उजुरी गरेकी छिन् । हानिफा जाराले प्रहरीलाई बुझाएको निवेदनमा बाबुले आफूलाई धोका दिएको भन्दै पक्राउ गर्न माग गरेकी छिन् । आफू घरबाहिर खुला स्थानमा शौच गर्दा लज्जित भएको उनले गुनासो गरेकी छिन् ।

राष्ट्रसंघको बालअधिकारसम्बन्धी संस्था युनिसेफका अनुसार अधिकांश भारतीयमा शौचालयको पहुँच छैन र झन्डै ५० करोड भारतीयले अझै पनि खुला स्थानमा शौच गर्छन् । शौचालय बनाएका पनि प्रायः खुला स्थानमा शौच गर्छन् ।

दक्षिणी राज्य तमिलनाडुको आमबुर सहरमा बस्ने हानिफाको घरमा अहिलेसम्म शौचालय छैन । उनका छिमेकीहरूमध्ये एक–दुईजनाको घरमा मात्र शौचालय निर्माण गरिएको छ, तर उनीहरू पनि घरबाहिर नै शौच गर्छन् । आफ्नो घरमा पनि शौचालय निर्माण गर्न हानिफाले आफ्ना बाबुलाई अनुरोध गरेकी थिइन् । त्यतिवेला उनी नर्सरीमा अध्ययन गर्थिन् ।

‘बाहिर शौच गर्न मलाई लाज लाग्छ, मानिसले देख्दा नराम्रो लाग्छ,’ हानिफाले भनिन् । खुला शौचले निम्त्याउने स्वास्थ्य समस्याबारे विद्यालमा जानकारी पाएपछि यसबारे उनी निकै सचेत छिन् । आफूले कक्षाकोठामा टप गरेको देख्न चाहने भए बाबुले शौचालय बनाउनुपर्ने उनले प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ ।

‘मैले नर्सरीदेखि कक्षा टप गर्दै आएकी छु । अहिले म दुई कक्षामा पढ्छु । शौचालय बनाउनु बाबा भन्दा जहिले पनि पछि बनाउँला भन्नुहुन्छ । यो धोका हो, तसर्थ उनलाई तत्काल पक्राउ गरियोस्,’ ८ वर्षीया हानिफाले भनेकी छिन् । पक्राउ नगरे पनि शौचालय बनाउने सहमतिको कागजमा बाबुलाई हस्ताक्षर गर्न बाध्य पार्नुपर्ने उनले प्रहरीलाई अनुरोध गरेकी छिन् । बालिकाका बाबु इसनउल्लाहले आफूले शौचालय बनाउन चाहेको तर पर्याप्त रकम नहुँदा योजना अधुरै रहेको गुनासो गरेका छन् । उनी अहिले बेरोजगार छन् ।