Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
लकडाउनका वेला पुतलीसडकमा सडक निर्माण हुँदै । स्थानीय तहले निर्माण सामग्री ल्याउन अवरोध गरेकाले काम रोकिएको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७७ बैशाख १७ बुधबार ०४:४०:००
मुख्य समाचार

निर्माण सामग्री अभावले पुतलीसडक र चाबहिलमा भइरहेको सडक निर्माण रोकियो 

स्थानीय तहले गरे निर्माण सामग्री ल्याउन अवरोध 

टेकराज थामी, काठमाडौं
२०७७ बैशाख १७ बुधबार ०४:४०:००

लकडाउनको मौका पारेर काठमाडौं उपत्यकामा भइरहेको सडक निर्माण आवश्यक सामग्री अभावले रोकिएका छन् । सडक विभागका अनुसार निर्माणका लागि चाहिने ढुंगा, माटो, रोडा र बालुवा अभाव भएपछि काम रोकिएको हो । 

केही दिनयता पुतलीसडक र चाबहिलका सडक निर्माण भइरहेको थियो । तर, कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय तहले अवरोध गरेपछि निर्माणका आवश्यक सामग्री ल्याउन नसकिएको विभागले जनाएको छ । उपत्यकामा सडक निर्माणका लागि काभ्रेका रोसी, इन्द्रावती र दोलालघाट क्षेत्रबाट निर्माण सामग्री ल्याइने गरिएको छ । 

विभागका प्रवक्ता शिवहरि सापकोटाले सामग्री अभावकै कारण निर्माणाधीन सडकका सबै काम प्रभावित बनेको बताए । ‘लकडाउनको उपयोग गर्दै हामीले पुतलीसडक र चाबहिल–गौशाला सडकको काम तुरुन्तै अघि बढाउने योजना बनायौँ । पुतलीसडकमा त ह्युमपाइप हालिसकिएको छ,’ सापकोटाले भने, ‘तर, निर्माण सामग्री ल्याइने गाउँका स्थानीय तहले रोकिदिए । हाम्रा सबै काम प्रभावित भएका छन् ।’ 

कामै ठप्प भएपछि सामग्री ल्याउने व्यवस्था गरिदिन विभागले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयलाई पत्र पठाएपछि जिल्ला प्रशासनले सम्बन्धित स्थानीय तहलाई पत्र पनि काट्यो । तर, त्यसपछि पनि सामग्री लिन खानी पुगेका ट्रकलाई स्थानीय तहले छिर्नै नदिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बताए । 

‘पुतलीसडक र चाबहिल सडक यो अवधिमा बनाउन सकिएन भने अरू वेला सम्भव नै छैन । बर्खामा यी सडकको अवस्था भद्रगोल हुने निश्चित छ । त्यसैले यो अवधिलाई हामीले उपयोग गर्न खोजेका हौँ,’ नेपालीले भने, ‘तर, किन हो स्थानीय तहले निर्माण सामग्री ल्याउनै दिएनन् । सामग्री लिन गएका ट्रकलाई उनीहरूले छिर्नै दिएका छैनन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालय मात्र होइन, गृह मन्त्रालयलाई पनि भनेका हौँ । तैपनि स्थानीय तहले टेरेका छैनन् ।’

चाबहिल–गौशाला सडकमा खानेपानीको पाइप हाल्नै छुट्यो

निकै व्यस्तमध्येको चाबहिल–गौशाला खण्डको सडकमा मेलम्ची खानेपानी आयोजनाले रिजर्भवायर ट्यांकीसम्म जोड्ने ठूला पाइप रातारात बिछ्यायो । त्यसक्रममा सवारी आवागमन प्रभावित बन्यो । काम सकिएको भनेपछि सडक विभाग सडक कालोपत्रे गर्ने योजनामा जुट्यो । सडकको टेन्डर आह्वान गरेर सम्झौतासमेत भयो । तर, जब ठेकेदार कम्पनी कालोपत्रका लागि फिल्डमा उत्रियो, तब पत्ता लाग्यो मेलम्ची खानेपानी आयोजनाले त घरघरमा पानी वितरण गर्ने पाइप बिछ्याउनै भुलेको रहेछ । बाँकी रहेको यही कामका कारण वर्ष दिनदेखि चाबहिल–गौशाला सडकमा कालोपत्रे रोकिएको छ । 

हारगुहारपछि खानेपानी आयोजना लकडाउनकै मौकामा पाइप बिछ्याउन तयार भयो । तर, यही वेला निर्माण सामग्री अभाव भएपछि पुनः समस्या परेको छ । विभागका प्रवक्ता सापकोटाका अनुसार निर्माण सामाग्री प्राप्त हुन ढिला भए यसै आर्थिक वर्षभित्र चाबहिल सडक बन्ने सम्भावना कम छ । 

कालोपत्रे र रोड मार्किङ भने जारी 

विभागका अनुसार कालोपत्रे र रोड मार्किङ भने निरन्तर चलिरहेको छ । लकडाउनको अवधिमा तिनकुने, दरबारमार्ग, सिंहदरबार, पद्मोदय मोड, त्रिपुरेश्वरलगायत क्षेत्र कालोपत्रे भइसकेका छन् । पुरानो कालोपत्रेलाई नै स्तरोन्नति गरिएको विभागको भनाइ छ । कालोपत्रेसँगै हुने रोड मार्किङ पनि नरोकिने विभागका प्रवक्ता सापकोटाले बताए । सडक भत्काएर पुनः निर्माण गर्नुपर्ने ठाउँमा समस्या परेको उनको भनाइ छ ।