Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
रोबर्ट माहोनी
२०७७ बैशाख १० बुधबार ०७:२९:००
दृष्टिकोण

पत्रकारहरूको अभाव भविष्यमा झनै खड्कनेछ

रोबर्ट माहोनी
२०७७ बैशाख १० बुधबार ०७:२९:००

मिडियाका लागि कोरोना एउटा म्याराथन हो, संकट नसकिउन्जेल सञ्चारकर्मी अग्रमोर्चामा रहन स्वस्थ र सुरक्षित हुनैपर्छ

अहिले आकस्मिक सेवामा खटिएका स्वास्थ्यकर्मीले सबैको ध्यान खिचेका छन् । हामी सबैका लागि सेवा प्रदान गर्दागर्दै उनीहरू आफैँ संक्रमित भएर कोभिड–१९को सिकार हुने सम्भावना उत्तिकै छ । अस्पतालमा आवश्यक सुरक्षा सामग्री नभएका समाचार आइरहेका छन् । कतिपय चिकित्सक र नर्सले दयनीय स्थितिमा काम गर्नुपरेको छ । न्युयोर्कका नर्सहरूको एक समूहले संक्रमणबाट जोगिन आफैँलाई फोहोर हाल्ने प्लास्टिकमा पोको पारेर काममा होमिएको फोटोसमेत आएको थियो । 

यस्ता विषय अहिलेका ताजा समाचार बनिरहेका छन् । हामी पनि जोखिम उठाएरै भए पनि स्थलगत रिपोर्टिङ गर्दै व्यावसायिक पत्रकारले सत्यतथ्य देखाऊन् भन्ने चाहन्छौँ । युद्ध र विपत्मा झैँ यो महामारीमा पनि सञ्चारकर्मीले जेखिम मोल्दै अग्रपंक्तिमा जानुपर्छ, तर युद्धमा जस्तो नभई यो महामारीमा जोखिम जहीँ–कहीँ पनि हुन सक्छ । तर, पत्रकारहरू संक्रमित नभईकन कामबाट फर्कनु अत्यावश्यक छ । महामारी सुरु भएको केही महिनामै स्वेच्छाचारी सरकार र मसलावाला अनलाइनका बद्नियतपूर्ण अफवाहका कारण स्वस्थ सूचनाको क्षेत्रमा असर पुगिरहेको छ । त्यसैले जिम्मेवार पत्रकारिताको खाँचो झन् टड्कारो छ । सामान्य अवस्थामा समेत राज्यको सेन्सरसिपबाट प्रेसले गुज्रनुपर्ने मुलुकमा त अहिले समाचार सम्प्रेषण गर्नु झनै चुनौतीपूर्ण छ । महामारीमा कतिपय मुलुकले सूचनालाई नै क्वारेन्टाइनमा राखेका छन् । कति मुलुक भाइरसले महामारीको रूप धारणा गर्दासमेत समाचारमा अंकुश लगाउँदै बसेका छन् । त्यस्तै थाइल्यान्ड, हंगेरी, इजिप्ट र होन्डुरसका सरकारले संक्रमणको बहानामा नागरिकका नैसर्गिक अधिकार खोस्ने तथा प्रेसमाथि अंकुश लगाउने काम गरेका छन् । त्यस्तै कतिपय नेत्तृत्वले प्रेसको बेवास्ता गर्ने तथा महामारीविरुद्ध जिम्मेवार नदेखिने पनि गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा प्रेस र पत्रकारकै भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले पनि मिडियाकर्मी संक्रमित हुनुहुँदैन ।

महामारीमा कतिपय मुलुकले सूचनालाई नै क्वारेन्टाइनमा राखिरहेका छन् भने कतिपय सरकारले संक्रमणको बहानामा नागरिकका नैसर्गिक अधिकार खोस्ने तथा प्रेसमाथि अंकुश लगाउने काम गरिरहेका छन्

स्रोत र साधनले सुसज्जित अमेरिकाका ठूला मिडिया हाउसलाई समेत सुरक्षितसँग फिल्डमा गएर रिपोर्टिङ गर्न धौधौ परिरहेको छ । यदि महामारी सब–साहरा अफ्रिका, मध्यपूर्व र दक्षिण एसियामा फैलिएमा यसको सामना गर्न त्यहाँका सरकारसँग पर्याप्त पूर्वाधार छैन । त्यहाँका आममानिसले समयमै वास्तविक सूचना जान्न चाहन्छन्, आधिकारिक सरकारी सूचनामा तोडमोड गरिन सक्छ । त्यस्तो भयावह वेला सही सूचनाका लागि अहिले नै पनि ज्यादै न्यून सुविधामा काममा लागिरहेका स्थानीय पत्रकार लाग्नुपर्छ । 

मिडिया मालिक, प्रकाशक तथा सम्पादकले संवाददाताको स्वास्थ्य सुरक्षाको बन्दोबस्त गर्नुपर्छ । स्वतन्त्र पत्रकारले पनि आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्छ । रिपोर्टिङ दौरान संक्रमणको त्यत्तिकै जोखिम हुने गर्छ, सुरक्षा मापदण्ड अपनाउनैपर्छ । रिपोर्टरहरूलाई मात्र होइन, तिनका परिवारका सदस्यलाई पनि त्यत्तिकै जोखिम छ । इटली र स्पेनका पत्रकारले आफ्नो ढोकै अघिल्तिरबाट समाचार संकलन गरिरहेका छन् । यद्यपि उनीहरू परिवारजन र सहकर्मीलाई संक्रमण हुन सक्छ भन्ने डरले घर र कार्यालय दुवै ठाउँ छिर्न सकेका छैनन् । तिनलाई मानसिक र शारीरिक थकान उत्तिकै छ । न्युयोर्कका ठूला मिडिया हाउस आफैँ भाइरसबाट आक्रान्त छन्, उनीहरू अन्य ठाउँका शाखा कार्यालयबाट क्षेत्रीय कर्मचारी परिचालन गर्दै काम गरिरहेका छन् । तर, सबै मिडिया हाउससँग यस्तो स्रोत–साधन हुँदैन । अहिले त जेनतेन काम चलेको होला, यो परिस्थिति महिनौंँ लम्बिए कस्तो स्थिति आउला ? 

पाकिस्तानका सम्पादकहरूले संवाददाताले संक्रमणबाट कसरी बच्ने भनेर निर्देशिका नै छापिसकेका छन् । यसले विषम परिस्थितिको गम्भीरता झल्काउँछ । अहिलेका कुनै जीवित पत्रकारले योभन्दा जोखिमपूर्ण अवस्थामा पहिले कहिल्यै रिपोर्टिङ गरेका छैनन् । इबोलाको रिपोर्टिङ गर्नेले समेत अहिले थप सावधानी अपनाइरहेका छन् । कति सञ्चारकर्मीले फोनको भरमा काम गरेर जोखिम न्यूनीकरण गर्न सक्छन् । तर, फोटो र भिडियो पत्रकार फिल्डमा नगई हुन्न । स्वतन्त्र पत्रकारका पनि आर्थिकलगायत थुप्रै व्यवधान छन् । महामारीले मिडिया हाउसलाई समेत विज्ञापनको अभावमा धर्मराउने बनाएको छ ।

यो संकटको सुरुमै समाचारमाथिको सेन्सरसिप र गलत सूचना प्रवाह हामीले देखिसकेका छौँ, आमसर्वसाधारणलाई अहिले सत्यतथ्य सूचना चाहिएको छ । भोलि पनि यसको झन् टड्कारो आवश्यकता पर्नेछ । मिडियाका लागि कोरोना सय मिटर दौड होइन, एउटा म्याराथन हो । यो संकट नसकिउन्जेल सञ्चारकर्मी अग्रमोर्चामा रहन स्वस्थ र सुरक्षित हुनैपर्छ ।
(माहोनी कमिटी टु प्रोटेक्ट जर्नालिस्टका सहायक कार्यकारी अध्यक्ष हुन्)
अलजजिरा डटकमबाट