२०७६ फाल्गुण २ शुक्रबार १५:४२:००
मुख्य समाचार

अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा सुशासन आएको नहेर्ने ? : मन्त्री बाँस्कोटा 

२०७६ फाल्गुण २ शुक्रबार १५:४२:००

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् । 

क्यान इन्फोटक २०२० को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको प्रस्ट पारे । 

विधेक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने समेत उनले बताएका छन् ।  विद्युतीय कारोबार ऐनभन्दा सूचना प्रविधि विधेयक धेरै लचक भए पनि त्यस्ता कुरालाई कसैले नहेर्ने गरेको मन्त्री बाँस्कोटाले आरोप लगाए । 

विधेयकमा दण्ड जरिवाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको भन्दै उनले थपे, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?’

बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको गुनासो गरे । 

हल्ला गर्नेहरुले निजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बाँस्कोटाले भने, ‘जिस्काएबापत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी ? हैरानी गर्न पाइन्छ ? कस्ता कल्चर हो यो ? कसलाई हैरानी गर्ने ? आफ्नालाई हैरानी गरे त ठिकै छ । अँगालो मारे पनि राम्रै हो । अर्कासित हैरानी गर्ने ? राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले आयोजना गर्ने सूचनाप्रविधिसम्बन्धी प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टल रहेका छन् । मेला ७ गतेसम्म सञ्चालन हुने छ ।