• वि.सं २०७६ चैत २१ शुक्रबार
  • वि.सं २०७६ चैत २१ शुक्रबार
  • Friday, 03 April, 2020
सागर चन्द काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १६:०५:००
अन्तर्वार्ता

क्रान्ति भनेको हार र जितको मात्र कुरा होइन : वैद्य

एक न एक दिन क्रान्ति हुन्छ

सागर चन्द काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १६:०५:००

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ २०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले सुरु गरेको विद्रोहका एक मुख्य नेता हुन् ।

२०६३ मा शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक विभाजित भएको छ ।  त्यसमध्ये एउटा समूहको नेतृत्व वैद्यले गर्दै आएका छन् ।

प्रस्तुत छ, वैद्यसँग २४ वर्ष अगाडि आजकै दिन दिन सुरु भएको ‘जनयुद्ध’ दिवसको सन्दर्भमा गरिएकाे कुराकानी :

प्रचण्ड जनयुद्धकाे कपिराइट आफ्नाे हाे भन्छन्। विप्लवले जनयुद्ध अधुरै छ, त्यसलाइ पूर्णता हामी दिन्छाैं भनिरहेका छन्। खासमा जनयुद्धको ‘कपिराइट’ कसको हातमा छ ?

जसले क्रान्ति गर्न चाहन्छ, ‘कपिराइट’ उसकै हातमा हुन्छ । हामी मात्रै क्रान्तिकारी हौँ भन्ने होइन । त्यसैले, जनयुद्धको ‘कपिराइट’ सबै क्रान्तिकारीहरूसँग छ ।  

२०५२ देखि ०६३ सम्मको 'जनयुद्ध'काे स्वामित्व कसले लिने ? तपाईं कि प्रचण्डले ? कि बाबुराम वा विप्लवले ? किनभने संघर्ष सुरु गर्दाकाे दल त आज छैन ।

हो, जनयुद्धको स्वामित्व, अपनत्व लिने दल छैन । जो सरकारमा छन्, उनीहरूले यसको स्वामित्व लिने कुरै भएन । त्यसैले, यो स्वामित्व हामी लिन्छौँ । १० वर्षको जनयुद्धको अपनत्व र स्वामित्व लिने अधिकार सरकारमा बसेका साथीलाई छैन । त्यो अपनत्व र स्वामित्व हामी लिन्छौं । जनताले लिन्छन् । क्रान्तिकारीले लिन्छन् ।

जुन रगत बग्यो, त्यो खेर गएको छैन । त्यो रगतको मूल्यमा टेकेर फेरि अर्को क्रान्ति गरिन्छ ।

क्रान्ति गर्छु भन्ने नेत्रविक्रम चन्द ‘विप्लव’ र तपाईंहररूबीच फरक के हो त ?

परिस्थिति फेरिएको छ । त्यसैले, हिजोको जस्तै क्रान्ति गर्ने भन्ने होइन । नेपालमा क्रान्ति त हुन्छ । तर हिजोको जस्तै जनयुद्धको ‘रिपिटिसन’ हुँदैन । नयाँ तरिकाले क्रान्ति गरिन्छ ।  

‘विप्लव’ को कुरा गर्नुभयो तपाईंले । विप्लव जसरी जाँदै हुनुहुन्छ, उहाँको त्यो तरिका नै ठीक छैन । त्यसैले, हाम्रो भनाइ के छ भने, हामी सबै क्रान्तिकारी एक ठाउँमा मिलेर फेरि नयाँ तरिकाले क्रान्ति गर्नुपर्छ । अबको क्रान्ति भनेको अहिलेको विशिष्टताअनुसार नेपाली तरिकाले हुनुपर्छ ।

२४ वर्षअघि सुरु भएको जनयुद्धका सुरुवाती दिन कसरी सम्झिनुहुन्छ ?

ठीक २४ वर्ष अगाडि हामीले अत्यन्तै गम्भीरतापूर्वक सोचेर, विचार गरेर नेपाललाई अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक स्थितिबाट मुक्त गराउन नयाँ जनवादी क्रान्तिको उद्घोष गरेको थियौँ ।

त्यो वेला एकदम जोस, उत्साह र उमंग थियो । हामीले नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गरेरै छाड्छौँ भनेर प्रतिबद्धता पनि जाहेर गरेका थियौँ ।

‘हतियार उठाइसकेपछि नयाँ जनवादी राज्यसत्ता नपाउँदासम्म हामीले हतियार बिसाउनु हुँदैन, यदि त्यसो ग-याैं भने त्यो अपराध हुन्छ’ भनेर हामीले प्रतिबद्धता पनि जाहेर गरेका थियौँ ।

१० वर्षको जनयुद्धले अनेकौँ घुम्ती पार गर्यो । देशका विभिन्न भागमा आधार इलाका बनायौँ । जनसरकार स्थापना गर्यौं । सानो छापामार समूहबाट विकास गरेर प्लाटुन, बटालियन हुँदै डिभिजनसम्म जनमुक्ति सेनाको संरचना तयार पार्न सफल भयौँ । यसले नेपालमा मात्र होइन, सिंगो विश्वमा क्रान्ति र रूपान्तरणको नयाँ सन्देश दियो । त्यसैले, ती दिनह महान् ऐतिहासिक थिए ।

तर, त्यतिका परिश्रम गरेको, थुप्रै सहिदकाे रगत बगेको, योद्धाहरू बेपत्ता भएको, साथीहरू घाइते, अपांग भएको जनयुद्धलाई नेतृत्वको एउटा स्तरमा पैदा भएको विचलनले ठूलो धक्का पुग्यो ।

जनयुद्ध सुरु गरेको मूल पार्टी नै छैन अहिले । जुन पार्टीले ‘जनयुद्ध’ ग-र्यो, त्यो पार्टी नै विलय हुँदा जनतामा कतै जनयुद्ध र जनयुद्ध गर्ने मान्छे नै गलत थिए कि भन्ने निष्कर्ष निस्कँदैन ? 
 
जनयुद्ध एकदम सही थियो । त्यो एउटा महान् क्रान्ति थियो । तर, नेतृत्वको एउटा पंक्तिले बीचैमा धोका दियो । 

दासताबाट मुक्त हुन क्रान्ति चाहिन्छ । जनजीवनका कष्ट र राष्ट्रका समस्याबाट मुक्त हुन क्रान्ति चाहिन्छ । त्यसैले क्रान्तिको प्रक्रियामा लागियो । तर, त्यो सफल हुन सकेन ।

‘क्रान्ति नगरेको भए हुन्थ्यो, क्रान्ति ठीक भएन’ भन्ने हुँदै होइन । यसो भन्ने हो भने त, राणाशासनलाई त्यत्तिकै राख्न दिएको भए पनि त हुन्थ्यो नि ? राणाशासन हटाउन पनि त मुक्तिसेनाले रगत बगाएकै हो ।  

तर, दुःखको कुरा, हामी संसदीय व्यवस्थाविरुद्ध लड्यौँ । तर, घुमिफिरी त्यही व्यवस्था बलियो भएर आयो । अब सोच्नुपर्ने वेला आएको छ, के यो व्यवस्थाले जनताको समस्या हल गरेको छ त ?

प्रधानमन्त्री ओली र सत्तामा रहेको नामधारी कम्युनिस्ट पार्टीले जे भने पनि आखिरमा देश र जनताका समस्या समाधान भएका छैनन् ।

आत्मसर्मपण गरेर अमेरिकासँग एमसिसी सम्झौता गर्दैछन् । भारतले कालापानी आफ्नो नक्सामा राख्दै छ । जनताको हक अधिकार र पहिचान सुनिश्चित गर्ने कुरै भएको छैन । 

त्यसैले समस्या यथावतै छन् । यी सबै समस्या समाधान गर्न फेरि पनि क्रान्ति जरुरी छ ।

निरन्तर मार्क्सवाद र सिद्धान्तको पक्षपोषण गरिरहनुभएको राम्रो कुरा हो । तर यही कारण राजनीतिमा पछि परेको जस्तो लाग्दैन ?

लाग्दैन । म ठीकै ठाउँमा छु । सिद्धान्तमा जोड दिने भएका कारण मैले कहीँकतै आत्मसमर्पण गरिनँ । यो मेरा लागि सन्तोषको कुरा हो । 

मूल कुरा के हो भने, १० वर्षे जनयुद्धबाट नेपाली जनताले जुन आशा र अपेक्षा गरेको थिए, त्यो पूरा हुन सकेन । त्यसैले पनि म सिद्धान्तमा अडिग हुनुपरेको हो । मलाई लाग्छ, हामी सिद्धान्तनिष्ठ भएकैलै जनताले रूपान्तरणका निम्ति हामीलाई साथ दिन्छन् । 

जनताको साथले नेपाललाई रूपान्तरण गरेर छाडिन्छ, मुक्त गरेर छाडिन्छ । नेपाललाई वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा अघि बढाउन हामी सफल हुनेछौँ भन्ने दृढ विश्वास छ ।

प्रचण्ड र बाबुरामसँगको व्यक्तिगत सम्बन्ध कस्तो छ ?

आवश्यकताअनुसार कुराकानी हुने गरेको छ । व्यक्तिगत सम्बन्ध किन बिग्रन्थ्यो र ? अरू दलका नेताहरुसँग पनि व्यक्तिगत सम्बन्ध राम्रै छ ।  

बाबुरामजीले त घोषित ररूपमै मार्क्सवादी कित्ता छाडिसक्नुभएको छ । बाबुरामजीले जस्तो प्रचण्डजीले साम्यवाद, मार्क्सवाद छाडेको नभने पनि सारमा उहाँले पनि छाडिसक्नुभएको छ ।   

मेरो बुझाइमा त साथीहरूले गलत गर्नुभयो भन्ने नै हो । त्यसैले राजनीतिक दृष्टिकोणले हम्रो सम्बन्ध छैन ।

प्रचण्डले वेला–वेला साना कम्युनिष्ट दलसँग ‘एकता गरौँ’ भन्नुहुन्छ । तपाईंहरुलाई पनि यस्तो प्रस्ताव गर्नुभएको होला नि ?

मसँग त भन्नुभएको छैन । उहाँले मसँग भन्ने कुरा पनि भएन । उहाँले भन्दैमा मिल्ने कुरा पनि भएन । किनभने, उहाँले मार्क्सवादी कित्ता छाडिसक्नुभयो । 

बरु उहाँ (प्रचण्ड) ले ‘मैले गल्ती–कमजोरी गरें’ भनेर जनतासँग माफी माग्नुभयो र ‘नयाँ ढंगले जान्छु’ भन्दै भन्नुभयो भने मिल्ने स्थिति आउला ।  
  
तपाईंहरूको संगठन सबल छैन, जनता क्रान्तिको मुडमा पनि छैनन् । फेरि आफ्नो नेतृत्वमा कसरी क्रान्तिकाे सम्भावना देख्नुहुन्छ ? 

जनता र संगठनका कुरा विगतमा अनुभव गरिसकेको विषय हो । जतिखेर हामीले पार्टी बनायौँ, त्यो वेला पनि धेरै मानिस हामीसँग थिएनन् । जनताका समस्या भने धेरै थिए । सरकारले समस्या समाधान गर्ने स्थिति थिएन । अहिले पनि जनताका  समस्या समाधान भएका छैनन् । 

जनताको समस्या समाधान गर्न क्रान्ति गर्ने हो, रहरले क्रान्ति गर्ने होइन । दैनिक ठूलो संख्यामा युवाशक्ति बाहिर गएको देखिन्छ । किसान मजदुरहरू अझै पनि पीडामा छन् । यस्तो स्थितिमा क्रान्तिका लागि जनताले निश्चित रूपमा साथ दिन्छन् जस्तो लाग्छ ।

सानोबाट ठूलो संरचना हुन्छ भन्ने त हाम्रो पुरानो अनुभव नै छ । क्रान्ति भयो भने अहिले ठूला पार्टी भनिएकाहरु ध्वस्त हुन्छन् । क्रान्ति अघि बढ्दै जाँदा अरू पार्टीमा भएका क्रान्तिकारीहरू पनि हामीसँग मिल्न आउँछन् । 

बारम्बार क्रान्ति गर्ने भनिरहनुहुन्छ । अनुभवको आधारमा कि सिद्धान्तका आधारमा भन्नुभएको ?

सिद्धान्त पनि हो, अनुभव पनि हो । यो संसदीय व्यवस्था पुरानो भयो भन्ने त सत्य हो । नवउदारवाद टिक्नेवाला छैन भन्ने पनि सत्य हो । ढिलोचाँडो मात्र हो, एक न एक दिन क्रान्ति हुन्छ, हुन्छ ।  

चुनबाङ बैठकको निर्णयबाट तत्कालीन माओवादी शान्ति सम्झौतामा आयो । तपाईं त्यो बैठकको निर्णयप्रति सहमत हुनुहुन्न । त्यो बैठक नभएको भए त तपाईं जेलमुक्त हुनुहुन्नथ्यो होला नि त ?

हा... हा... हा .. म जेलमै रहन्थें वा मर्थें होला, त्यो अर्कै कुरा हो । यो त्यति ठूलो कुरा होइन । हामीले जुन अभियान सुरु गरेका थियौं, त्यो ‘ब्रेक’ गरियो भन्ने ठूलो कुरा हो । एउटा दुइटा व्यक्ति मर्ने बाँच्ने विषयले धेरै फरक पर्दैन ।
 

प्रचण्डले ‘जनयुद्ध’ मा मारिएका पाँच हजारको जिम्मा लिन्छु भन्नुभएको छ । भागवण्डा गर्ने हो भने तपाईंको भागमा कति पर्छन् ?

सम्झौता हामीले गरेका होइनौँ । हामी त्यो प्रक्रियामा छँदा पनि छैनौँ ।

जिम्मा लिन्छु भन्ने कुरा पनि होइन । सहिद भएकाहरुको के जिम्मा लिनुहुन्छ ? त्यसको सट्टा उहाँहरुले सत्य निरुपपण र मेलमिलाप आयोग बनाएर त्यो वेलाको म्यान्डेट अनुसारको हल खोज्ने हो । कसले कति जिम्मा लिने भन्ने त कुरै होइन । 

सहिदको त्याग र बलिदानको जगमा उभिएर क्रान्ति गर्ने कुरा हो । व्यक्तिगत रुपमा जिम्मा लिनुभन्दा समस्या हल गर्नतर्फ सरकार लाग्नुपर्छ । समस्या हल नगर्ने, अनि जिम्मा लिन्छु भनेर के हुन्छ ! जिम्मा लिन्छु भन्दैमा सहिदहरू फेरि ब्युँतिन्छन् र ?   
 
चुनबाङ बैठकलाई तपाईं सम्झौता भन्नुहुन्छ । तर, माओवादीले सेफ ल्यान्डिङ खाेजेर सात दलसँग मिलेर आन्दोलनकाे निर्णाय ग-याे, त्याे बैठक नभएकाे भए तपाईंहरूकाे उद्देश्य पूरा हुन्थ्याे त ? 

त्यस्तो होइन । क्रान्तिमा हारजित हुन्छ । क्रान्ति भनेको हारजितको मात्र कुरा होइन । तर, हार्छौं भनेर सम्झौता गर्नु र हारिन्छ भनेर पुरानै व्यवस्थालाई स्वीकार गर्नु हुन्छ त ? मूल प्रश्न यो हो । ‘हार्थ्याैं त्यसकारण सम्झौता गर्यौं’ भन्ने सही तर्क होइन । 

सम्झौतामा आएकै कारण प्रचण्ड शक्तिमा छन् । राजनीतिमा सत्ता र शक्तिको कुनै महत्व हुन्न र ?

नयाँ सत्ताको शक्ति भएको भए एउटा कुरा हुन्थ्यो । तर उहाँहरू पुरानै सत्ताको शक्ति हुन् ।

हामीले संसदीय व्यवस्थाविरुद्ध संघर्ष गरेक थियौं । तर, उहाँले त त्यही व्यवस्था स्वीकारेर बस्नु भएको छ । उहाँहरू पुरानै सत्तामा राज गर्न जानुभएको हाे ।