Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १० शनिबार
  • Saturday, 26 September, 2020
सागर चन्द काठमाडौं
२०७६ फाल्गुण १ बिहीबार ०६:२५:००
मुख्य समाचार

वडाध्यक्षको अवैध क्रसर उद्योगले ६ मेगावाटको हाइड्रोपावर बन्द हुने अवस्थामा

भालुखोलाको मुहानमै क्रसर चलाउँदा खानीखोला हाइड्रोपावरको ड्याम पुरिँदै

सागर चन्द, काठमाडौं
२०७६ फाल्गुण १ बिहीबार ०६:२५:००

मापदण्डविपरीत सञ्चालित क्रसरका कारण ललितपुरको बागमती गाउँपालिकास्थित ६ मेगावाट विद्युत् उत्पादन क्षमताको खानीखोला हाइड्रोपावर बन्द हुने अवस्थामा पुगेको छ । हाइड्रोपावरको बाँधमा मिसिने भालुखोलाको मुहानमै क्रसर उद्योग सञ्चालित छ । हाइड्रोपावरका साइट इन्चार्ज महेश ढकालका अनुसार मुहानमै क्रसर उद्योग चलाउँदा पाँगोसहितको पानीले हाइड्रोको ड्याम(बाँध) पुरिने अवस्थामा पुगेको छ । ‘नौ मिटर गहिरो ड्याममा अहिले आठ मिटर लेदोले भरिएको छ,’ ढकालले भने । बालुवा र माटो मिसिएको धमिलोपानीले हाइड्रोपावरको सुरुङ र टर्वाइनमा समेत असर गरेको ढकालले बताए । ‘सुरुङ र टर्वाइनको रनर लेदोले बिगारेको छ,’ उनले भने । 

हाइड्रोपावरको बाँध र सुरुङ माटोले पुरिन थालेपछि आयोजना बन्द गर्नुपर्ने बाध्यता आइलागेको बताउँछन् खानीखोला हाइड्रो परियोजनाका जनसम्पर्क अधिकृत भीमसेन आचार्य । विद्युत्गृह बन्द गरेर बाँधमा भरिएको लेदो सफा गर्नुपर्दा विद्युत् उत्पादन घटेको छ । ‘दिनभर विद्युत् उत्पादन रोकेर ड्याम सफा गर्नुपर्छ,’ आचार्य भन्छन्, ‘महिनामा कम्तीमा दुईपटक सफा गर्नुपर्छ ।’

क्रसर उद्योगले असर गरेपछि हाइड्रोपावरले तीनपटक जिल्ला प्रशासन कार्यालयसमेत गुहारिसकेको छ । तर, प्रशासन कार्यालयले पनि हाइड्रोपावरको गुनासो सम्बोधन गर्न सकेको छैन । ‘प्रहरी र प्रशासन गुहार्दा बालुवा चाल्ने मान्छे नै प्रहरी लिएर आउँछन्’ ढकालले गुनासो पोखे ‘त्यस्तो अवस्थामा कसरी समस्या समाधान हुन्छ ।’ हाइड्रोपावरमा क्षति पु¥याउने क्रसर उद्योगका सञ्चालक सोही गाउँपालिकाको वडा नम्बर–३ का अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना हुन् । उनको तीनवटा एक्साभेटर छन् । उनले भालुखोलामा क्रसर उद्योगसँगै आफ्नै वडामा बस्ती नै सारेर बालुवाखानी समेत सञ्चालन गरेका छन् ।

हाइड्रोपावरले क्रसर उद्योग रोकी पाऊँ भन्दै गाउँपालिका र प्रशासन कार्यालयमा उजुरी दिएको छ । तर, उजुरीको बेवास्ता गर्दै वडाध्यक्ष तिमिल्सिनाले ड्यामको मुखैमा नयाँ क्रसर उद्योग सञ्चालन गर्ने तयारी गरेका छन् । तिमिल्सिनाको लगानी रहेको नयाँ क्रसर उद्योग ड्यामबाट पाँच सय मिटरको दूरीमा छ ।

विद्युत् ऐन २०४९ दफा ३८ को उपदफा ४ मा ‘कसैले बदनियतका साथ कुनै विद्युत् उत्पादन वा रुपान्तर केन्द्र, प्रसारण लाइन, वितरण लाइन वा सोसँग सम्बन्धित अन्य कुनै संरचनामा प्रतिकूल असर पार्ने कुनै काम गरेमा, भत्काएमा, बिगारेमा वा कुनै किसिमले हानि–नोक्सानी पु-याएमा वा त्यस्तो कुनै काम कुराका लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्ने उद्योग गरेमा निजबाट हानि–नोक्सानीको बिगो असुल गरी निजलाई बिगोबमोजिम जरिवाना वा दश वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने’ व्यवस्था छ । 

गत वर्षसम्म त ड्यामको मुखैमा क्रसर उद्योग सञ्चालनमा थियो । हाइड्रोपावरले जिल्ला प्रशासन कार्यालय र प्रहरी गुहारेपछि अहिले त्यो बन्द भएको छ । पुरानो उद्योग बन्द भए पनि वडाध्यक्षले ड्यामको नजिकै नयाँ क्रसर उद्योग चलाउने भएपछि हाइड्रोपावर बन्द गर्नुपर्ने बताउँछन् ढकाल । ‘ड्यामको मुखैमा क्रसर उद्योग चलेपछि ड्याम, टर्वाइन तुरुन्तै फेल हुन्छन् । टर्वाइन र ड्याम बिगारेर करोडौँ नोक्सान व्यहोर्नुभन्दा हाइड्रो बन्द गर्नु ठिक हुन्छ ।’ ढकालले भने ।

 मर्मत–सम्भारमा करोडौँ खर्च
क्रसर उद्योगका कारण पानीमा मिसिएको पाँगोले हाइड्रोपावरका संरचनामा करोडौँको क्षति पुगेको छ । पाँगो मिसिएको पानीका कारण हाइड्रोपावरको टर्वाइनमा बारम्बार समस्या देखिने गरेको बताउँछन् इन्चार्ज ढकाल । ‘लेदो मिसिएको पानीले टर्वाइनको रनरका पुर्जा बारम्बार बिग्रन्छन् । टर्वाइनमा लेदो अड्किन्छ ।’ उनले भने । टर्वाइनमा समस्या देखिएपछि गत वर्ष चिनियाँ प्राविधिक बोलाएर मर्मत गरिएको थियो । पाँगो भरिएको ड्याम सफा गर्न पनि हाइड्रोपावरले थप कर्मचारी राख्नुपरेको छ । ‘टवाईनका पुर्जा खरिद गर्नुभन्दा बढी खर्च चिनियाँ प्राविधिकलाई तिर्नुपर्छ । एकपटक चिनियाँ प्राविधिक टोली बोलाएको खर्च १० लाख जति हुन्छ,’ ढकालले भने । 

 क्रसर उद्योग रोक्न स्थानीयको पनि उजुरी 
ड्यामको मुखैमा नयाँ क्रसर उद्योग सञ्चालन हुने भएपछि हाइड्रोपावरले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएको छ । यसअघि गत जेठमा स्थानीयवासीले पनि क्रसर उद्योगका कारण खोलाको पानी धमिलिएको र पानीको मात्रा घटेको भन्दै गाउँपलिकामा उजुरी दिएका थिए । खोलाको पानी १२ महिना धमिलो हुँदा बस्तुभाउलाई खुवाउन समस्या भएको, सिँचाइ गर्न नमिलेको, खानेपानीको मुहानमा असर परेको र पानीघट्ट सञ्चालन गर्न नसकिएको भन्दै स्थानीयवासीले उजुरी दिएका थिए । 

 बालुवाखानी चलाउन  वडाध्यक्षले बस्ती नै सारे 
वडाध्यक्षले आफ्नो लगानी रहेको बालुवाखानी सञ्चालन गर्न बस्ती नै सारेका छन् । वडा नम्बर ३ छपेलीको एउटा बस्ती नै सारेर वडाध्यक्षले बालुवाखानी सञ्चालन गरेका छन् । सो बालुवाखानीका कारण रामप्रसाद बजगाईं, शिवप्रसाद सञ्जेल, केशवराज बजगाईं, केशवकुमार घिमिरे, यानतप्रसाद घिमिरे र हरिप्रसाद दुलाल थातथलोबाट विस्थापित भए । बालुवाखानीका कारण बाध्यतावश बसाइँ सर्नुपरेको हरिप्रसादले बताए । वडाध्यक्षले आफूलाई ‘जग्गा बेचेर बसाइँ सर्न’ दबाब दिएको उनको गुनासो छ । ‘८६ वर्षका बा, आमा बालबच्चा बोकेर सर्न सक्दिनँ भनेपछि उनीहरूले मलाई दबाब दिन थाले ।’ हरिप्रसादले भने । घरमुनिबाट निरन्तर बालुवा निकालिएपछि पहिरोको डरले सर्नुपरेको उनले गुनासो गरे । ‘मलाई यहाँबाट जान त मन थिएन, तर तलबाट बालुवा निकाल्दै गएपछि डाँडामा रहेको मेरो घर पनि भत्केला कि भन्ने डर भयो । अनि त सर्नै पर्‍यो ।’ उनले भने । वडाध्यक्षले बालुवाखानी सञ्चालनमा रोक नलगाउने सहमति गर्दै जग्गा लिएको उनले बताए । 

क्रसरका कारण पानी घट्यो
खोलामा क्रसर उद्योग चल्दा पानीको मात्र घटेको छ । विद्युत् उत्पादन पनि १५० किलोवाट घटेको छ । खोलाको प्राकृतिक संरचना मासिएपछि बाढीले ड्याममा असर गरेको बताउँछन् ढकाल । गत वर्षामा आएको बाढीले बाँधको केही अंश भत्काएको थियो । १ अर्ब २० करोडमा सो हाइड्रोपावरमा नौ करोड रुपैयाँ स्थानीयवासीको लगानी छ । स्थानीयको लगानी डुब्ने भयो क्रसर बन्द गरौँ भन्दा वडाध्यक्षले हाइड्रोपावर नै किन्छु भन्दै धम्की दिएको बताउँछन् स्थानीय ज्ञानेन्द्रप्रसाद गौतम ।

वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना भन्छन्– जनतालाई हाइड्रोले भन्दा क्रसरले फाइदा छ
स्थानीयले पनि हाइड्रोपावरमा सेयर हालेका छन् । तर, एक रुपैयाँ पनि नाफा पाएका छैनन् । क्रसर चलेको पानीले हाइड्रोपावरमा पहिले केही असर गरेको हो । तर, अहिले पानी शुद्ध गरेर चलाउनु भएको छ । मैले हाइड्रो सञ्चालकलाई भनेको छु ‘तपाईंहरू मलाई धेरै तनाव नदिनुहोस्, त्यो क्रसरबाट गाउँपालिकाले दैनिक ४० हजार रुपैयाँ कर पाउँछ । तपाईंहरूले त जनतालाई एक रुपैयाँ पनि दिनुभएको छैन ।’

यो (भालुखोला) खोल्सोले धेरै असर गर्दैन । यदि यो पानीले असर गरेको हो भने डाइभर्सन गरौँ भन्ने प्रस्ताव पनि गरेको छु । यहाँ केही तत्वले बेनिफिट नपाएर मसँग खेल्न खोजेका छन् । यहाँ हामी केही साथी मिलेर वातावरण परीक्षण गरेरै उद्योग चलाएका हौँ । क्रसर र वासिङ गर्ने ठाउँमा हामीले सबै मापदण्ड पु-याएका छौँ । हाइड्रोपावरले पानी शुुद्धीकरण गरोस् । शुद्धीकरण गर्दा पनि हाइड्रोपावरले माइका र साइका भन्छ भने हामी पनि रोयल्टीका आधारमा व्यवहार गर्छौँ । हाईड्रोले दिएको रोयल्टी बढी छ कि क्रसरले दिएको ? जसले जनतालाई बढी बेनिफिट दिएको छ, बढी रोजगारी दिएको छ त्यो उद्योग सञ्चालन हुनुपर्छ । यसो नगर्ने उद्योग बन्द हुनुपर्छ ।