Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १९ शुक्रबार
  • Friday, 04 December, 2020
ad
२०७६ माघ २७ सोमबार १०:५३:००
नयाँCity

वृद्धवृद्धामैत्री  छैन सहर

२०७६ माघ २७ सोमबार १०:५३:००

भक्तपुर सानो व्यासीस्थित भक्तपुर नगरपालिका कार्यालयअघिल्तिर एक पुरानो फल्चामा गोपाल कोजू दौँतरीसँग घाम तापिरहेका भेटिए । उमेरले ७० नाघेका उनको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । नित्यकर्मपछि मठमन्दिर धाउँछन् । स्थानीय भजन मण्डलीको सदस्य बनेका छन् । बिहानको खानापछि साँझ ५ बजेसम्म फल्चामा घाम ताप्दै दौँतरीहरूसँग गफिन्छन् ।

‘दिउँसो छोरा–बुहारी काममा र नाति–नातिना स्कुल जान्छन्, घरमा कोही साथी हुँदैन,’ उनी भन्छन्, ‘यही फल्चामा आयो, गफ गरेरै दिन कट्छ ।’ त्यसो भन्दै गर्दा तीन दशकअघिको सामाजिक परिवेश सम्झिए, कोजूले । त्यतिवेला कृषि नै मुख्य पेसा थियो, बालबालिकादेखि वृद्धवृद्धासम्म खेत, बारीमा भेटिन्थे । समय फेरिएको छ, खेतीपातीको स्थान जागिरले लिएको छ । ‘हामी बुढापाका भने घरमा एक्लिएका छौँ,’ उनी भन्छन् । उदयपुरको पञ्चवतीका शंकरबहादुर श्रेष्ठ (७६ वर्ष) छोरी–ज्वाइँसँग बस्न काठमाडौं आए । तर, केही दिनमै उनी सहरी वातावरणबाट विरक्तिए । र, छोरीलाई घर फर्किने बताए । ‘सहरमा खुला ठाउँ हुँदा रहेनछन्,’ उनी भन्छन्, ‘गाउँमा जस्तो दौँतरी भेटिँदारहेनछन् । साह्रै उकुसमुकुस हुँदोरहेछ ।’

करिब ७० वर्षकी एक वृद्धा एक मध्याह्न नयाँ बानेश्वर चोकमा सुस्ताइरहेकी थिइन् । तीन वर्षदेखि उनी ठेलामा सुन्तला र बदाम बेच्दै आएकी थिइन् । तर, महानगरले फुटपाथ व्यापारमा रोक लगाएपछि उनी असमञ्जसमा परेकी छिन् । र, सहरमा सहाराविहीन बनेकी छिन् । यी तीन वृद्धवृद्धाले सहरका ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्छन् । बाहिरबाट काठमाडौं आएका मात्र होइन, उपत्यकाकै वृद्धवृद्धा पनि आधुनिक जीवनशैलीमा रम्न सकेका छैनन् । कोही परिवार भएर पनि एक्ला छन् भने कोही परिवारविहीन । ‘सहर वृद्धवृद्धामैत्री छैन,’ एजिङ होमका संस्थापक कृष्णमुरारी गौतम भन्छन्, ‘वृद्धावृद्धाका लागि सहर कुनै कारखानाभन्दा कम छैन ।’

उपत्यकामा लिच्छवि र मल्लकालमा बनेका फल्चा, चौतारा र पाटीहरू वृद्धवृद्धाकै लागि निर्माण भएका थिए । ठाउँ–ठाउँमा बनाइएका फल्चामा वृद्धवृद्धा दिनभर गफिएर बस्थे । सहरीकरणसँगै ती सबै नासिए ।

एक व्यक्ति शिक्षा र जीविकोपार्जनका लागि गाउँबाट सहर पस्छ । सुरुमा उसलाई पनि सहरमा एक्लोपन महसुस हुन्छ । बिस्तारै सहरी जीवनशैलीमा अभ्यस्त बन्छ । र, राम्रो कमाइ हुन थालेपछि बाबुआमालाई पनि यतै ल्याउँछ । तर, गाउँले परिवेशमै बुढेसकालसम्म बिताइसकेका उनीहरूलाई सहरी जीवनशैली सहज लाग्दैन । जसरी उनीहरूका सन्तानले सुरुमा सहरमा एक्लो महसुस गरेका थिए, उनीहरूलाई पनि त्यस्तै अनुभूति हुन्छ ।

‘छोरा वा छोरीको कमाइ खाने वेलासम्ममा बाबु–आमाले ५५–६० वर्ष काटिसकेका हुन्छन् र सरकारले विभाजन गरेको ‘ज्येष्ठ नागरिक’ वर्गमा पर्न थाल्छन्,’ गौतम भन्छन्, ‘सहरका साइनबोर्डले पनि आफ्नो निरक्षरताको मजाक उडाएको महसुस गर्छन् ।’ खासगरी, जाडोयाममा फुटपाथमा वृद्धवृद्धा घाम ताप्दै गफिइरहेका भेटिन्छन् । गौतमको भनाइमा सहरी इलाकामा वृद्धवृद्धा मिलन केन्द्रहरू अत्यावश्यक छन् । ‘जहाँ उनीहरू दिनभर अन्य आफ्ना समकालीन उमेरकासँग भलाकुसारी गर्न सकून् र साँझ आफ्ना सन्तानका साथ सहरी क्षेत्रमा अभ्यस्त बन्न सकून्,’ उनी भन्छन् ।

‘उपत्यकामा लिच्छवि र मल्लकालमा बनेका फल्चा, चौतारा र पाटीहरू वृद्धवृद्धाकै लागि निर्माण भएका थिए । तत्कालीन काठमाडौं, भक्तपुर र पाटनका ठाउँठाउँमा बनाइएका फल्चामा वृद्धवृद्धा दिनभर गफिएर बस्थे,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘त्यस्ता फल्चा काठबाट बनाइएका हुन्थे, जहाँ भुइँको चिसो उनीहरूले महसुस गर्नुपर्दैनथ्यो ।’ 

बढ्दो सहरीकरणसँगै त्यस्ता फल्चा र पाटीपौवा नासिएको उनी बताउँछन् । वृद्धावस्थामा एक्लोपन महसुस गर्नु नपरोस् भनेरै भीम रथारोहण, चन्द्र रथारोहण, देव रथारोहण गर्ने चलन थियो । ती सबै बिस्तारै हराउँदै गएको धौभडेल बताउँछन् । उनी भन्छन्, ‘यस प्रकारका प्रचलन हटेसँगै मानसिक रूपमा वृद्धवृद्धा एक्लिएका छन् ।’

तस्बिर  : सञ्जित परियार / नयाँ पत्रिका