• वि.सं २०७६ चैत २१ शुक्रबार
  • वि.सं २०७६ चैत २१ शुक्रबार
  • Friday, 03 April, 2020
लक्ष्मण  खनाल यूएई
२०७६ माघ ११ शनिबार १२:३१:००
प्रवास

आबुधाबीमा ‘यूएईले बाँडेको मुस्कान’ पुस्तक सार्वजनिक 

२०७६ माघ ११ शनिबार १२:३१:००

बैदेशिक रोजगारको लागि यूनाईटेड अरब इमिरेट्स ‘यूएई’ पुगेका नेपालीहरुको कथा समेटिएको पुस्तक ‘यूएईले बाँडेको मुस्कान’ आबुधाबीस्थित नेपाली राजदुताबासको सभा हलमा बिमोचन भएको छ । गैरआवासीय नेपाली संघ संस्कृतिक तथा भाषा साहित्य  प्रवर्द्धन समितिको मुख्य आयोजनामा शुक्रबार पुस्तक बिमोचन भएको हो ।   

कार्यक्रमका  प्रमुख अतिथी युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले पुस्तकले दुई देशको सम्बन्ध जोड्न सेतुको काम गर्ने बताए । ‘मजदूरी गर्न यूएई आएका केही नेपालीहरुले आफ्नै व्यवसाय थालेका छन्, भने केहीले समाजसेवा तथा साहित्य र कलाकारितामा स्थापित गरेका छन्,’ उनले भने, ‘यहाँ गरेको आम्दानीले आर्थिक उन्नती, बालबच्चाले गुणस्तरीय शिक्षा र परिवारले उचित स्वास्थ्य सेवा पाउन सकेका छन् ।’

सो पुस्तकका लागि राम प्रसाद ढुङेल र जे सागरले कथाहरु संकलन तथा संयोजन गरेका हुन् । अच्युत घिमिरेको सम्पादन रहेको सो पुस्तक बुलबुल पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तकमा यूएईमा रहेर रोजगारी गरिरहेका ४० जना नेपालीहरुको प्रगति र सफलताको कथाहरु समेटिएका छन् । ‘यो सकारात्मक सन्देश दिने पुस्तक हो र पुस्तकले खुसी बाँडेको छु,’ कार्यक्रम संचालक जे सागरले भने, ‘विदेश दुःखको सागर मात्रै हैन । सुखको बहार पनि हो भन्ने नेपाली मानसिकतालाई यो पुस्तकले तोड्ने छ ।’  

एनआरएन यूएईका फडिन्द्र ढकालको सभापतित्व रहेको कार्यक्रममा पुस्तकबारे निमेष गिरीले टिप्पणी गरेका थिए ।  कार्यक्रममा पत्रकार गोपाल गुरागाईं, समाजसेवी डा. दिनेश आचार्य, नेपाली राजदूताबास यूएईका कर्मचारी, व्यवसायी, समाजसेवी, कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो ।