२०७६ पौष २३ बुधबार ११:००:००

अनब्रान्डेड ब्रान्ड : नेपालगन्जको परिचय राबडी

२०७६ पौष २३ बुधबार ११:००:००

नेपालका ठूला र पुराना सहरमध्येमा पर्छ, नेपालगन्ज । पछिल्लो समयमा नेपालगन्ज चाट र राबडीको सहरका रूपमा पनि चिनिएको छ । त्यसमा पनि नेपालगन्जलाई चिनाउने प्रमुख परिकार हो, राबडी । ‘नेपालगन्ज आउने जो–कोही राबडीको स्वाद लिएर मात्र फर्किन्छन्,’ स्थानीय आशिष गुप्ता भन्छन्, ‘राबडी खान उनीहरू त्रिभुवन चोक पुगेकै हुन्छन् । यो स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक पनि छ ।’

पछिल्लो समय प्रतिष्ठित व्यक्तिका लागि कोसेली दिन पनि राबडी प्रयोग हुने गरेको छ । नेपालगन्जका बासिन्दाले काठमाडौंका प्रतिष्ठित व्यक्तिलाई कोसेलीका रूपमा राबडी लिएर जान्छन्/पठाउँछन् । ‘काठमाडौंका इष्टमित्र र गन्यमान्य व्यक्तिले कोसेलीका रूपमा राबडी नै रोज्ने गरेका छन्,’ स्थानीय सल्यानी बंगलाका मेराज सल्मानी भन्छन्, ‘यो महँगो पनि छैन । त्यसैैले काठमाडौं जाँदा म पनि राबडी नै कोसेली लान्छु ।’

दूधलाई दुईदेखि तीन घन्टा उमालेर राबडी तयार गरिन्छ । दूधलाई ठोस बनाउन कराईमा उमाल्नुपर्छ । १० लिटर दूधको कम्तीमा तीन किलो राबडी बन्छ । दूधको गुणस्तर हेरेर राबडी तयार हुने गरेको त्रिभुवन चोकस्थित शिव मिष्ठान्न भण्डारका प्रोप्राइटर ऋषि गुप्ता बताउँछन् । गुप्ताको परिवारले करिब ५० वर्षदेखि नेपालगन्जमा राबडीको व्यापार गर्दै आएको छ । दैनिक कम्तीमा १५ किलो राबडी बिक्री गर्दैै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘नेपालगन्जमा अझै पनि दैनिक करिब ५० किलो खपत हुने गर्छ ।’ उनका अनुसार यहाँ उत्पादन भएर काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायत देशका ठूला सहरका होटेलमा पनि यो परिकार पुग्ने गरेको छ ।

एक समय थियो, राबडी त्रिभुवन चोकमै सीमित थियो । अहिले भने अन्य मिठाई पसलले पनि बनाउन थालेका छन् । त्यसैले यो नेपालगन्जभरिको परिकार बनेको छ ।

पछिल्लो समय नेपालगन्जमा तारे होटेल खुल्ने क्रम बढेको छ । ती होटेलले पनि राबडी मगाउने गरेको प्रोप्राइटर गुप्ता बताउँछन् । ‘सोल्टी, स्नेह, सिद्धार्थ भ्यू, बाटिकाजस्ता ठूला होटेल र नाम चलेका कटेजले हाम्रोबाट राबडी किनेर आफ्ना ग्राहकलाई खुवाउँछन्,’ उनी भन्छन्, ‘विशिष्ट पाहुनालाई खुवाउन यहाँका ठूला सरकारी कार्यालयले पनि हाम्रैबाट राबडी लैजान्छन् ।’ एक समय थियो, राबडी त्रिभुवन चोकमै सीमित थियो । अहिले भने अन्य मिठाई पसलले पनि बनाउन थालेका छन् । त्यसैले यो नेपालगन्जभरिको परिकार बनेको छ ।

राबडी दुई तरिकाले बनाइन्छ– चिनी मिसाएर र नमिसाई । चिनीयुक्त र चिनीरहित राबडीको मूल्य फरक–फरक हुन्छ । चिनीयुक्त राबडी प्रतिकिलो पाँच सय र चिनीरहितको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ पर्छ । चिनी मिसाएकोभन्दा नमिसाएको राम्रो हुने भएकाले प्रतिकिलो एक सय रुपैयाँ बढी लिने गरिएको रघु डेरी पसलका प्रोप्राइटर पुरुषोत्तम हलवाई बताउँछन् । तर, दूधको मूल्य बढे पनि राबडीको मूल्य बढाउन नसकिएको उनको भनाइ छ । ‘दूध पाँच वर्षअघि प्रतिलिटर ४० रुपैयाँमा पाइन्थ्यो, त्यतिवेला पनि राबडीको मूल्य प्रतिकिलो पाँच सय नै थियो,’ उनी भन्छन्, ‘अहिले दूधको मूल्य बढेर प्रतिलिटर ७० रुपैयाँ पुगेको छ, तैपनि राबडीको मूल्य त्यति नै छ ।’