• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
केशव गुरुङ गोरखा
२०७६ पौष १७ बिहीबार १४:२४:००
समाचार

गोरखामा ५६ हजार भूकम्प पीडितका घर निर्माण सम्पन्न

केशव गुरुङ गोरखा
२०७६ पौष १७ बिहीबार १४:२४:००

गोरखाका ५६ हजार २ सय ७० भुकम्प पीडितले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगेका छन् । 

जिल्लाका ६६ हजार एक सय ७८ पुनर्निर्माण लाभाग्राही मध्ये ६० हजार आठ सय २५ ले दोस्रो किस्ता रकम समेत लगिसकेको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख रामशरण आचार्यले जानकारी दिए । निजी आवास पुननिर्माणमा समग्रमा ९० प्रतिशत प्रगति देखिएको उनले बताए । निजी आवास पुननिर्माणमा हालसम्म १७ अर्व ३९ करोड ३१ लाख खर्च भएको उनले जानकारी दिए । 

पाँच हजार चार सय ५५ प्रवलिकरण लाभाग्राही मध्ये तिन हजार सात सय ३२ ले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता भने एक जनाले मात्र लगेको इकाइले जनाएको छ । ढुङ्गामाटोको घर प्रवलिकरण गरेर वस्न नसक्ने भन्दै उनिहरुले पुननिर्माणम पर्नुपर्ने माग राखेका छन् । २ हजार एक सय तीन लाभाग्राहीले प्रवलिकरणबाट पुननिर्माणका लागि निवेदन दिएका थिए । ती मध्ये ७१ जनाको स्वीकृत भएको इकाइका प्रमुख आचार्यले बताए । 

२० जना लाभाग्राहीले भने पुननिर्माणबाट प्रवलिकरणका लागि निवेदन दिएका थिए । यी मध्ये १४ लाभाग्राही प्रवलिकरण सुचिमा परेको उनले बताए । प्रवलिकरणबाट पुननिर्माण तथा पुननिर्माणबाट प्रवलिकरण गर्ने निर्णय समयमा नहुँदा समस्या भएको उनको भनाइ छ । समयमा सहुलियत कर्जा प्राप्त गर्न नसक्नु पनि पुननिर्माणको चुनौती रहेको उनले बताए । ‘सहुलियतपूर्ण कर्जाका लागि बैंकहरुसँग समन्वय गरिरहेका छौँ,’ उनले भने ।  

यस्तै १ सय ७० जना भूकम्प पीडितले अनुदान रकम फिर्ता गरेका छन् । स्वच्छाले २१, दोहोरो भुक्तानी लिएको एक सय ३८ र अन्य १० जनाले रकम फिर्ता गरेका हुन् । दोहोरो भुक्तानी लिने ३९ जनाको भने फिर्ताको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।