धीरज राई
२०७६ मङ्सिर १७ मंगलबार ०८:०३:००
नयाँ पत्रिका

बुद्ध चिनाउने अभियान

कला संवाद

१२ वर्षदेखि ‘बुद्धको भ्रम हटाऊ’ अभियान चलाउँदै आएको छु । यसको समर्थनमा १५ मंसिरमा काठमाडौं वसन्तपुरमा नेपालका ५० जना चित्रकारले ३० फिट लामो बुद्धको पेन्टिङ बनाउनुभएको छ । वरिष्ठ चित्रकार किरण मानन्धरको अगुवाइमा उक्त पेन्टिङ तयार भएको हो ।

यो रङ र ब्रस मात्र नभई सम्पूर्ण नेपालीको आवाज हो । बुद्ध जन्मभूमि लुम्बिनीकै बगैँचामा हालै उनको जन्मभूमि भारत लेखिएको ब्यानर राखिएको घटनाले पीडा महसुस भयो । त्यसैले पेन्टिङमार्फत त्यो भ्रम चिर्ने प्रयास गरेका हौँ ।

३० फिट लामो बुद्धको पेन्टिङ हाम्रो अभियानको निरन्तरता हो । एक आठ वर्षकी बालिका पनि आफ्ना बाबुको सहयोगमा यसमा सहभागी भएकी थिइन् । वरिष्ठ चित्रकार मानन्धरले ‘नेपाल आमा’ शीर्षकको पेन्टिङबाट यसको उद्घाटन गर्नुभएको थियो । यो पेन्टिङलाई संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रदर्शन गर्ने योजनामा छौँ ।