२०७६ मङ्सिर १५ आइतबार १८:०९:००
नयाँ पत्रिका

खुट्टा गुमाएका टिपर चालकलाई आर्थिक सहयोग

सडक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हटौंडा उपमहानगरपालिका–१० नेउरेनीका टिपर चालक बिक्रम मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

सवारी साचालक समाज नेपाल, धादिङ कार्यसमितिले मगरको निवासमै पुगेर आइतबार एक लाख ३८ हजार तीन सय ८३ रुपैयाँ प्रदान गरेको हो । समाजका अध्यक्ष नारायण पन्तका अनुसार मगरको भैरहवा क्षेत्रमा टिपर चलाउने क्रममा गत १६ जेठमा दुर्घटना भएको थियो । दुर्घटनामा शक्त घाइते भएका मगर करिब ६ महिना अस्पतालको बसाई पछि केही दिनअघि मात्र घर फर्किएका थिए । मगरको एक–एक छोरा, छोरी छन् ।

‘परिवारमा मुख्य कमाई गर्ने मानिस नै अहिले सहाराविहिन अवस्थामा छ’ पन्तले भने, ‘त्यसैले परिवारको लालन पालनमा केही सहयोग पुगोस् भनेर सबै टिपर चालक मिलेर आर्थिक सहयोग जुटाएका हौं ।’ चालक मागरलाई टिपर व्यवसायीहरुले कृत्रिम खुट्टा राखिदिने आश्वासन दिएको पन्तले बताए ।

रातमा मात्र टिपर चलाउन पाउने वर्तमान व्यवस्थाका कारण चालकहरु मर्कामा परेको पन्तको भनाई छ । ‘सरकारले रातमा मात्र टिपर चलाउन दिदा चालकहरुको आम्दानी खुम्चिएको छ, अर्कातिर छोटो समयमा धेरै काम गर्न हतार गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ । यसतर्फ सरकारी निकाय चनाखो हुनुपर्छ’ उनले भने ।