• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

‘हाम्रो विचारलाई निषेध गर्न खोजियो’

राजनीतिमा इमान्दारिता चाहिन्छ । इमान्दारिता भनेको आफ्नो क्षमता र  कमजोरी दुवैलाई स्वीकार्नु हो । तर १७ महिने समयावधिमा विवेकशील साझामा रहेर काम गर्दा हामीले खोजेको इमान्दारिता तथा पारदर्शिताको राजनीति, वैकल्पिक राजनीतिको उदाहरण पेश गर्न सकेनौँ ।

यसै अवस्थामा काम गर्न  नसकिने भएपछि हामीले निर्मम र बाध्यकारी कदम चालेका हौँ । यो हाम्रा लागि फुट नभएर विवेकशील सोचको पुर्नगठन हो । अब बोलीले होइन व्यवहारले वैकल्पिक शक्ति बनेर देखाउँछौँ । अब हामी सडकमा बसेर सरकारलाई जवाफदेही बनाउँछौँ । 

पार्टीमा पात्रभन्दा पनि प्रवृत्ति प्रधान हुन्छ । प्रवृत्तिगत ढंगले हेर्दा एकता पश्चात् पार्टीमा शक्ति विकेन्द्रीकरण भएन । वैकल्पिक राजनीतिमा शक्तिको सही वितरण गर्न सहभागितामा मुलक लोकतन्त्र आवश्यक हुन्छ । शक्तिको विकेन्द्रीकरण नहुँदा निर्णयहरुको अपनत्व ग्रहण गर्न सकिँदैन ।

जसले गर्दा वैकल्पिक भनिएको शक्ति पनि परम्परावादी जस्तै हुन्छ ।  हामीले गर्न खोजेको राजनीतिमा हुने चरम शक्ति एकीकरण, निषेधको राजनीति र जवाफदेहिताको कमीलाई प्रवृत्तिगत ढंगले समाप्त गर्नु हो । विगत एक वर्षमा नै पार्टी निर्वाचनमा होमिदा २ लाख १२ हजार भोट ल्याए थियो तर, पार्टीको सदस्य संख्या जम्मा ४ हजार छ ।

हामीले किन व्यापक मात्रामा पार्टी सदस्य बनाउन सकेनौ ? हाम्रो शैली, विचार बेठीक भएकाले नतिजा प्रतिकूल आएको हो ? यही कारण र प्रवृत्तिका विरुद्ध लड्न यो कदम चालिएको हो । अब विकेकशील सोचको पार्टीलाई पूर्णता दिन्छौं । 

हाम्रो शैली बारे पार्टीमा छलफल हुनुपर्छ । पार्टीको संयोजकको हैसियतले मेरो जवाफदेहीता पार्टी सदस्यसँग हुन्छ । मैले पेश गरेको प्रतिवेदनमा पार्टी सदस्यहरुको भावना र विचार अभिव्यक्त गरेको हुँ । मैले आफ्नो रिपोर्ट सदस्यहरुलाई बुझाएपछि केन्द्रीय सदस्यलाई बुझाएँ । मैले आफ्नो संयोजको भूमिका निर्वाह गरेको हुँ । 

मैले पार्टीभित्र उठाएको एक महत्वपूर्ण विषय केन्द्रीय सदस्यले पनि आफ्नो सम्पतिको विवरण सार्वजनिक गर्नुपर्छ भन्ने थियो । हामीहरु पारदर्शी भएर अरुका अगाडि उदाहरण बन्न सक्नुपर्छ । उदाहरणीय काम गर्दा कहिलेकाही निर्मम बन्नुपर्छ । पारदर्शिताले राजनीतिलाई स्वच्छ बनाउँछ भने भ्रष्टचारलाई निषेध गर्छ । जसले गर्दा जनातको नेतृत्वमाथि विश्वास उत्पन्न हुन्छ ।  

हामीसँग वैकल्पिक राजनीति गरेको ५ वर्षे अनुभव छ, जुन नयाँ शक्तिभन्दा पनि लामो हो । हामीले अभ्यासबाट सिकेको विषयलाई अराजनीतिक भन्न मिल्दैन । हाम्रो जति पनि अनुभव नभएकाले तर्क गर्न मिल्दैन । राजनीतिको माध्यमबाट सत्तामा पुगेपछि जनताको माग सम्बोधन गर्नुपर्छ ।

तर के हामी यही प्रवृत्तिका साथ  जनताको माग सम्बोधन गर्न सक्छौँ ? पार्टीमा नीति निर्माण गर्न सकिएको  छैन । नेतृत्व विकास भएको छैन । एउटा नीति निर्माण गर्न नसक्नेले राष्ट्रको शिक्षा, अर्थ, स्वास्थ्य लगायतका नीति निर्माण कसरी बनाउन सक्छ ? हामी कसरी देशको राजनीतिको विकल्प बन्न सक्छौँ ? 

पार्टीमा वैचारिक मतभेद नभएको भए पार्टी फुट्ने नै थिएन । नत्र डा. सरोज धिताल, डा. दिनेश प्रसाई, ओम अर्याल लगायतका नेताले किन पार्टी छाडेर जान्थे ? हामीसँग विचार नभएको भए हामी कसरी ५ वर्ष राजनीतिमा टिक्थ्यौँ? रञ्जु दर्शनाले कसरी २३ हजार भोट ल्याउँथिन् ?

हाम्रो विचारलाई निषेध गर्न खोजियो । हाम्रो विचार त सम्पूर्ण नागरिकलाई विवेकशील बनाउनु हो । नवीन समाज बनाउन खोज्ने हाम्रो विचारलाई अरुले बुझेनन् । त्यसैले हामी अलग भयौँ । 

आफ्नो बोलीलाई व्यवहारबाट पुष्टि गर्नुपर्छ भन्ने मान्यता राख्ने भएकाले नै म प्रायः मिडियाबाट टाढा हुन्छु । मिडियामा आइसकेको विषयवस्तु व्यवहारमा उतार्न नसक्दा निकै समस्या आउँछ । हामीले खोजेको राजनीति बजारी राजनीति होइन, युवामा नेतृत्व विकास गराउनु पर्छ भन्ने हो ।

अब सयौँ रञ्जु दर्शना जन्माउनु पर्छ । त्यो हाम्रो दायित्व पनि हो । एक व्यक्तिलाई देवत्वकरण नगरी सामूहिक नेतृत्व विकास गर्नुमा हाम्रो जोड रहन्छ । कसैको देवत्वकरण गरिने राजनीति परम्परागत राजनीति भएकाले नै हामी वैकल्पिक शक्ति हौं । हाम्रा नागरिकहरु पनि छिट्टै धारणा बनाउँछन् । उदाहरणका लागि डा. गोविन्द केसीले आन्दोलन सुरु हुँदा हामीसँगै थियौँ । त्यतिबेला उनको मुद्दा सानो थियो अहिले त्यसले व्यापक रुप लिइसक्यो । 

वैकल्पिक शक्तिको बुझाइमा केही कमिकमजोरी भएको छ । हामी हतारको राजनीति गर्न लाग्यौँ । हामी प्रचारमूखी भयौँ । अब आम मतको सहभागितामा हतारको राजनीति छाडेर संस्कारको राजनीति गर्नुपर्छ ।  

हामी कांग्रेस र नेकपाको विकल्प हुन आएका होइनौं । हामी उनीहरुको संस्कार र प्रवृत्तिको विकल्पको रुपमा अगाडि आएका हौं । अर्काको विचार र फरकमतलाई कदर गर्नुपर्ने संस्कारको विकास गर्नुपर्छ । पार्टीभित्र शक्तिको विकेन्द्रीकरण हुनुपर्छ । नेतृत्वको दम्भ र अहंकारलाई परास्त गर्नुपर्छ । विवेकशील साझाको समस्या नै आफ्ना प्रतिवद्धताप्रतिको खडेरी थियो ।  

मित्र रवीन्द्र मिश्रलाई मेरो सुभेच्छा र सद्भाव सधैं रहनेछ । लुटतन्त्रविरुद्ध हामी मिल्ने ठाँउमै छौँ । उनीहरुले खोजेको वातावरणले देशले निकास पाउँछ भने त्यसलाई हामी स्वागत र सहयोग गर्न तयार नै छौँ ।  

(नयाँ पत्रिकासँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस