२०७६ मङ्सिर ८ आइतबार १४:००:००
नयाँ पत्रिका

प्रज्ञा भवनमा पुस्तक प्रदर्शनी

काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी चलिरहेको छ । यसअघि हरेक वर्ष साझा प्रकाशनले पुस्तक प्रदर्शनी गर्दै आएको थियो । साझा प्रकाशन समस्यामा रहेकाले यस वर्ष प्रतिष्ठानले प्रदर्शनी आयोजना गरेको कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

१५ दिनका लागि भनेर १ मंसिरदेखि सुरु भएको प्रदर्शनीमा सहभागी पाठकको आकर्षणलाई ध्यानमा राखेर पृथ्वीजयन्ती अर्थात् २७ पुससम्म लम्ब्याउने प्रतिष्ठानको योजना छ । ‘साना विक्रेताले प्रदर्शनीबाट व्यापक छुटका किताब लैजान सक्छन्,’ उप्रेतीले भने, ‘यो एउटा बिक्री प्रवद्र्धन पनि हो ।’ प्रतिष्ठानबाट प्रकाशित पाँच सय थरी पुस्तक र एक सय थरी पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ, जसमा दुई रुपैयाँदेखि १४ सय रुपैयाँसम्मका पुस्तक र पत्रपत्रिका छन् ।प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायका अनुसार प्रदर्शनीमा १० देखि ६० प्रतिशतसम्म छुट दिइएको छ ।

प्रदर्शनीका संयोजक सुधीर ढुंगेलका अनुसार विभिन्न पुस्तक पसलको आकर्षण नेपाली शब्दकोशमा बढी देखिएको छ । त्यसपछि ‘दर्शनावली’ नामक पुस्तक बढी बिक्री भएको ढुंगेलले बताए । यस्तै, पारिजातका कथाहरू, रविन्द्रनाथ टैगोरका कथा र लोकसाहित्यका किताबको बिक्री अत्यधिक छ ।