हिप्पीसँग नहिँडेको भए मार्क्सवादी आन्दोलनमा जोडिने थिइनँ

२०७५ पौष २८ शनिबार ०७:०२:००

काठमाडौंमा हिप्पीका दुईवटा केन्द्र थिए, झोंछे र स्वयम्भू । स्वयम्भू बुद्धसित जोडिएको भएर उनीहरूमा त्यसप्रति विशेष आकर्षण थियो । ठमेल त्यसवेला काँडाघारी थियो, सहरबाहिरको काँठजस्तो देखिन्थ्यो । भर्खरै साहित्य लेख्न सिक्दाखेरी नै म आफ्नो नाम पछाडि ‘हिप्पी’ जोड्थेँ । नयाँ सन्देश साप्ताहिकमा नारायण ढकाल ‘हिप्पी’का नामले कविता छापेको छु ।

म अत्यधिक बन्द समाजमा हुर्किएँ । ब्राह्मण परिवारिक पृष्ठभूमि कठोर थियो । समाजमा चर्को असमानता थियो । गाउँबाट सहर पढ्न आएपछि बाहिरी संसारका नयाँ ज्ञान र मूल्यहरू देखेँ । सहरमा सिकेका नयाँ मूल्यहरूले मलाई सामाजिक विभेदमाथि प्रश्न गर्न सिकाए । पञ्चायत बेठीक छ भन्ने पनि मैले कलेज पढ्न काठमाडौं आएपछि थाहा पाएँ । 


सामाजिक र राजनीतिक कारणले समाजमा बेचैनी र छटपटी थियो । यही पृष्ठभूमिमा म हिप्पीहरूको संगतमा पुगेँ । झोंछेका होटेलमा मेरा एकजना गाउँले दूध बेच्थे । उनीसँगै दूधको पैसा उठाउन जाँदा मेरो भेट हिप्पीहरूसँग भएको थियो । उनीहरू संसार अशान्त छ भन्थे । परिवार व्यवस्था कृत्रिम हो र यसले मान्छेलाई अनावश्यक रूपमा बाँधेको छ भन्थे । हामी युद्धविरोधी हौँ भन्थे । विवाह पनि कृत्रिम हो, हामी त प्रेमका पक्षमा छौँ भन्थे । म धेरै बुझ्दिनथेँ । ठिकै हो जस्तो लाग्थ्यो । 

गाउँमा हुनेखाने परिवारकै भए पनि सहरमा म सीमान्तकृत नै थिएँ । गाउँभन्दा सहर बिकराल र डरलाग्दो थियो । सहरका मान्छेहरू निकै अघि बढेका छन् र आफू पछि छु भन्ने मलाई पथ्र्यो । उनीहरू गाउँलाई हेप्थे । सहरको यस्तो पृष्ठभूमिले पनि मलाई हिप्पीहरूको नजिक पु-यायो । पञ्चायतले मध्ययुगीन अन्यायी व्यवस्थालाई बचाउन खोजेको छ भन्ने चेतना विकास हुँदै थियो । व्यवस्थाले कुण्ठित बनाएको समाजमा हुर्किएकाले हिप्पीहरूको स्वतन्त्रताले मलाई आकर्षित ग-यो ।

म ५–६ वर्ष हिप्पीहरूसँग हिँडेँ । घरै छाडेँ । चटक्कै छाडेकोचाहिँ हैन, वेलावेला जान्थेँ तर अधिकांश समय हिप्पीहरूसँगै बित्थ्यो । उनीहरू लामोलामो कपाल पाल्थे । हिप्पीहरूभित्र ‘सियरिङ’ को संस्कृति थियो । उनीहरू असाध्यै आत्मीय र सरल थिए । हुलमा मिसिएपछि उनीहरूले चिनजानविनै आत्मीयताका साथ समूहमा प्रवेश गराउँथे । धेरै बुद्धिले सुल्झिएका मान्छे थिएनन् उनीहरू । निराशाका कुरा पनि गर्थे । समाज, परिवार र राज्य खराब छ, उनीहरूले हामीलाई चाहेको बाटो हिँड्न दिएनन् भन्ने गुनासो गर्थे । बुद्धप्रति उनीहरूको अद्भूत आकर्षण थियो । हिप्पीहरू नेपाल आउनुको कारण नै बुद्ध थिए, उनीहरू बुद्ध खोज्दै यहाँ आए । बौद्ध दर्शनका कतिपय शब्द उनीहरूले लिएर गए । जस्तै :  निर्वाणा । 

 हिप्पीहरूले प्रेमको नयाँ संसार देखाए 
हाम्रो समाज त्यसवेला असाध्यै रूढ थियो । युवायुवतीलाई प्रेम गर्न वर्जित थियो । कसैले प्रेम गरिहाल्यो भने पनि सहज थिएन । टोलभरिका केटा मिलेर प्रेमजोडीलाई धम्क्याउने र पिट्ने गर्थे । प्रेम गरेकै निहुँमा मेरो एकजना साथीले नराम्ररी पिटाइ खायो । उनीहरू साँझपख थापाथली घाटतर्फ घुम्न गएछन् । केटाहरू मिलेर दुईटैलाई हातपात गरे । लखेटे । त्यसवेलाको समाज जंगली भन्दा फरक नपर्ने थियो । प्रेमलाई वर्जित गर्थे तर एक्लै बाटो हिँडिरहेकी युवतीलाई कष्ट दिन आनन्द मान्थे । हिँडिरहेकी युवतीको चुल्ठो तान्दिन्थे । समूहमै हिँडेका केटीहरूलाई केटाहरूको समूह नै मिलेर दुःख दिन्थ्यो । दुःख दिने मात्र होइन, देख्नेहरू पनि आनन्दित हुन्थे, अट्टहास गर्थे । 

त्यसवेलाको बर्बर समाजमा हिप्पीहरूले समानताको सन्देश दिए । हिप्पीहरूमाझ महिलाको इज्जत थियो । महिला र पुरुषले बराबरीको स्पेसमा प्रेम गरेको त्यहीँ देखियो । एउटै युवतीले दुई–चारजनासँग प्रेम गर्नुलाई हिप्पीहरूको समाजमा नराम्रो मानिन्नथ्यो । हाम्रो समाजमा औपचारिकतामा चलेका परिवार व्यवस्थामाथि उनीहरूले प्रश्न उठाए । उनीहरूले युद्धलाई घोर घृणा गरे । हाम्रो समाजमा प्रेम, सद्भाव, भाइचारा, बहिनीचाराको नयाँ संसार देखाइदिए । हिप्पीहरूले ल्याएका गीत रेस्टुरेन्टमा बज्न थाले, यहाँका युवाहरूको ध्यान त्यता तानिन थाल्यो । होस्टलमा युवाहरूले बिटल्सका गीत सुन्न थाले । ती मान्छेलाई बदल्ने गीत थिए । हिप्पी आन्दोलनले एउटा अग्रगामी पुस्तालाई प्रभावित ग-यो । 

उनीहरू सबै किसिमका राज्यका विरोधी थिए । राज्य शोषणको हतियार हो भन्ने उनीहरूको धारणा थियो । उनीहरू समलैंगिकताको पक्षमा मुखर रूपमा बोल्थे । त्यसवेलाको संसार समलिंगीहरूप्रति असाध्यै कठोर थियो ।  गिन्सवर्गले पिटर अर्लोभस्कीसँग समलैंगिक विवाह गरे । अहिलेका विख्यात लेखक युभल नोहा हरारी पनि समलिंगी रहेछन् । हरारीको वर्तमानलाई हिप्पीहरूको विगतले सहज बनाएको हो । असाध्यै असजिलो अवस्थामा हिप्पी आन्दोलनले उठाएका मुद्दा अहिलेका जल्दाबल्दा एजेन्डा बनेका छन् ।

आज समलैंगिकताको अधिकार माक्र्सवादीहरूको समेत एजेन्डा भयो । आजको समय समलैंगिक स्वतन्त्रतालाई नमान्ने केको प्रगतिशील ? केको माक्र्सवादी ? त्यसैले सामाजिक मूल्य र राजनीतिमा उनीहरूले नयाँ आयाम थपे । हिप्पीहरूले राज्यलाई चुनौती दिए । राज्य दमनकारी भयो भने त्यसप्रति अपनत्व हुँदैन भन्ने पाठ संसारलाई सिकाउने उनीहरू नै थिए । राज्यको समानान्तरमा संसारभर अभ्यास भएको नागरिक समाजको आन्दोलनलाई स्पेस दिने काम पनि हिप्पी आन्दोलनले गरेको थियो । त्यो आन्दोलनले स्थापित गरेका मूल्यहरू आज पनि हामीले कुनै न कुनै किसिमले लिइरहेका छौँ । मलाई लाग्छ हिप्पीहरूको प्रासंगिकता अहिलेको संसारमा अझ बलियो भएर आएको छ ।

 गिन्सवर्गका कविता र हिप्पीहरूका ठुल्ठूला विद्रोहको प्रभाव
पश्चिममा दोस्रो विश्वयुद्धको नरसंहार र त्यसपछिको शीतयुद्धमा दुईवटा ठुल्ठूला महाशक्तिको टक्करले विश्व मानवता चेपुवामा परेको थियो । यसको विरोधमा युवाहरूले ठूलो विद्रोह गरे । म हिप्पी मुभमेन्टमा सहभागी हुनुअघि नै विश्वमा ठुल्ठूला आन्दोलन भएका थिए । क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज वरिपरि संसारभरिबाट गुलाबको फूल लिएर मान्छेहरू भेला भएका थिए । त्यहाँ आउनेहरू कति नांगै हिँडेका थिए । एलेन गिन्सवर्गले त्यो मुभमेन्टलाई सम्बोधन गरेका थिए । कविता सुनाएका थिए । 

त्यसवेला म कलेज पढ्थेँ र कविता लेख्थेँ । मेरो पठनको दायरा फराकिलो हुँदै गयो । ‘हङ्ग्री जेनेरेसन’का शक्तिशाली कवि एलेन गिन्सवर्गलाई पढ्न थालेँ । मेरो पुस्ताका मान्छेहरू गिन्सवर्गको वैचारिक आन्दोलनसँग जोडिएका थिए । मलाई गिन्सवर्गले अत्यधिक प्रभावित पारे । उनी अमेरिकाले भियतनामसँग लडेको युद्धका विरोधी थिए । अमेरिकामै बसेर भियतनाम युद्धको विरोधमा कविता लेखेका थिए । उनको ‘हाउल एन्ड अदर पोएम्स’ भन्ने पुस्तक खै कसरी हो काठमाडौं आइपुग्यो । त्यस किताबबारे अमेरिकामा धेरै ठूलो विवाद भइसकेको थियो । अदालतमा मुद्दा परेको थियो । मुद्दा जितिसकेपछि मात्र पुस्तक फुकुवा भयो । आफ्ना कवितामा उनी अमेरिकालाई हाकाहाकी ‘गो फक योरसेल्फ विथ योर एटम बम’ भन्थे । 

मैले विश्वको असमानता, युद्धका कारण र संसारभरिको अशान्तिप्रति गिन्सवर्गका कविता पढेपछि रुचि देखाउन थालेँ । उनका कविता पढ्दा देशहरूका बीचमा उभ्याइएका सिमाना ठूला बदमासी हुन् भन्ने लाग्थ्यो । धर्मले मान्छेलाई विभाजित गरेको छ भन्ने लाग्थ्यो । मान्छेको भोक आफैँमा बिकराल हो, त्यसलाई एकथरी मान्छेले नै सिर्जना गरेका रहेछन् भन्ने चेतना दिए गिन्सवर्गका कविताले । युवाहरूलाई स्वतन्त्रताको निकास हुने ठाउँ रहेनछ र उनीहरूले विद्रोह गरेका रहेछन् भन्ने पनि थाहा पाएँ । हिप्पी आन्दोलनको सैद्धान्तिक पक्षमा आफूलाई केन्द्रित गरेँ । 

हिप्पी मुभमेन्टका विख्यात गायक जोन लेलनका गीत सुन्न थालेँ । उनको इम्याजिन भन्ने गीत त्यसवेला लोकप्रिय थियो । अहिले विचार गर्दा मलाई त्यो साम्यवादी गीतजस्तो लाग्छ । गिन्सवर्ग ‘म गाँजा खाइरहेछु र माक्र्स पढिरहेछु’ भनेर कविता लेख्थे । उनी माक्र्सलाई असाध्यै मान्ने रहेछन् । हिप्पी मुभमेन्ट मेरा लागि माक्र्सतर्फ जाने ढोका थियो । मैले मन पराएको कविले माक्र्सलाई पढिरहेछु भनेको थियो, त्यसैले मैले माक्र्स पढ्न थालेँ । 

शरद देवडाले ‘कलेज स्ट्रिटका नयें मसिहा’ भन्ने उपन्यास लेखेका छन् । गिन्सवर्गको वनारस र कलकत्ता बसाइमा त्यो उपन्यास केन्द्रित छ । गिन्सवर्गले बौद्धनाथमा नरकंकालको चित्र देखे । यस्तो चित्र देखेपछि उनले दिएको प्रतिक्रियालाई उपन्यासमा विचारोत्तेजक ढंगले उतारिएको थियो । गिन्सवर्गले भनेका रहेछन्, ‘मानव इतिहासको अवश्यम्भावी सर्वनाशमा खुसी व्यक्त गर्दै ताण्डव नृत्यमा लीन त्यो कृति संसारको चित्रकलाको इतिहासको सर्वोत्कृष्ट रचना हो ।’ यस्तो पढेपछि मैले बौद्धमा त्यस चित्रलाई निकै खोजेँ तर भेट्टाउन सकिनँ ।

 हाम्रो समाजमा भने उनीहरूलाई ‘छाडा हुन्’ भन्दै तिरस्कार गरिन्थ्यो । खैरो छाला भएकालाई ‘म्लेच्छ’ भन्दै उनीहरूले छोएको नखाने कट्टरता थियो यहाँ । राणाकालसम्म त खैरो छाला हुनेहरूको पानी चलाउँदैनथे । खैरो छाला हुने कुनै व्यक्ति नेपाल आए उसकोमा बाहुन–क्षेत्री काम गर्न जाँदैनथे । दलितहरू मात्र जान्थे । त्यसमाथि परम्परागत व्यवस्थालाई भत्काउन आएकाहरू तिरस्कृत हुनु स्वाभाविकै थियो । 

हिप्पीकालीन दिनमा मेरो नजिकको साथी थियो सन्तोष भट्टराई । कथा र कविता लेख्थ्यो । उसले झगडा नगरेका साहित्यकार नै थिएनन् । माधव घिमिरे, बालकृष्ण सम र हरिभक्त कटुवालजस्ता स्थापित साहित्यकारमाथि हातपात गरेको थियो । बिहानदेखि बेलुकासम्म रक्सी खाएर सडकमै ढल्थ्यो । मृत्युलाई अनुभव गर्न भनेर उसले एकाधपटक पुलबाट हाम फाल्ने असफल प्रयाससमेत गरेको थियो । आफ्नै जीवनलाई उसले प्रयोगशाला बनाइदियो । मभन्दा सन्तोष धेरै पढ्थ्यो, साहित्यबारे गहिरोे जानकारी राख्थ्यो । मेरो त साथी मात्र नभएर गुरु नै थियो उ । हङ्ग्री जेनेरसनसम्बन्धी धेरै सामग्री मलाई पढ्न दिन्थ्यो । अहिले त सन्तोष साहित्यबाट धेरै टाढा पुगिसकेको छ । नेपाली साहित्यकारहरूमा सन्तोष भट्टराईबाहेक अरू कसैले पनि हिप्पी आन्दोलनमा आफूलाई समर्पित गरेनन् । 

गिन्सवर्ग ‘म गाँजा खाइरहेछु र माक्र्स पढिरहेछु’ भनेर कविता लेख्थे । उनी माक्र्सलाई असाध्यै मान्ने रहेछन् । हिप्पी मुभमेन्ट मेरा लागि माक्र्सतर्फ जाने ढोका थियो । मैले मन पराएको कविले माक्र्सलाई पढिरहेछु भनेको थियो, त्यसैले मैले माक्र्स पढ्न थालेँ ।
 

 यसकारण अलग्गिएँ हिप्पी आन्दोलनबाट
अभि सुवेदी दाइ अंग्रेजी सिक्नका लागि हिप्पीका पछि लाग्नुभयो । उहाँ आफैँले यो कुरा भन्नुहुन्छ । मैलेचाहिँ उनीहरूले जे खाए, त्यही खाएँ । उनीहरू जसरी बसे, म पनि त्यसैगरी बसेँ । तर, समयको एउटा कालखण्ड पार गरेपछि म पनि त्यस आन्दोलनबाट अलग्गिएँ । हिप्पी मुभमेन्टका मूल्यहरू मेरो गाउँठाउँसँग मिल्ने थिएनन् । त्यही वेला म बुटपालिस आन्दोलनमा सहभागी भएँ । त्यसवेलासम्म पनि म हिप्पीकालीन ‘गेटअप’मा थिएँ, कपाल लामो–लामो थियो । म बुटपालिस आन्दोलनमा सहभागी भएपछि घरमा ठूलो तरंग आयो ।

आन्दोलनमा मेरो सहभागितालाई लिएर परिवार सन्तुष्ट थिएन । आमा रुन थाल्नुभयो, बुबा ठूलो तनावमा पर्नुभयो । ज्योतिष परिवार, गाउँभरि इज्जत थियो । त्यस आन्दोलनपछि गाउँमा मेरो ठूलो बदनामी भयो । मलाई देख्नासाथ बाहुन–क्षेत्रीका बच्चाहरू भाग्थे । नारायण सार्की भयो भन्ने प्रचार भएको थियो गाउँमा । जुत्ता पालिस गर्ने मान्छे सार्की हुन्छ, जे पनि खान्छ भनेर हल्ला चलेको थियो । बाहुन–क्षेत्रीका बच्चा सार्कीसँग डराउँथे । सार्की त गरिब थियो, कहिलेकाहीँ रक्सी खाएर मात्थ्यो । बाहुन–क्षेत्रीले आफ्ना केटाकेटीहरूमा सार्कीको भयावह बिम्ब बनाइदिएका थिए । सार्कीमाथि समाजले नै अत्याचार गरेको थियो । मैले पाँच–छ वर्षको समय हिप्पी आन्दोलनमा बिताइसकेको थिएँ, बिस्तारै नेपालमा हिप्पीहरूको आगमन कम हुन थालेको थियो । मेरो अध्ययनको क्षेत्र पनि फराकिलो हुँदै गएको थियो । माक्र्सप्रति बढी नै आकर्षित हुन थालेको थिएँ । अध्ययनकै कारण म माक्र्सवादी विद्यार्थीको नजिक पुगेँ । मलाई अहिले लाग्छ, हिप्पी आन्दोलनमा नहिँडेको भए म माक्र्सवादी आन्दोलनमा जोडिने थिइनँ । 

०३१ र ०३२ सालका विद्यार्थी आन्दोलनले मलाई हिप्पीबाट माक्र्सवादतर्फ तान्न प्रेरित गरे । ०३२ सालको विद्यार्थी आन्दोलनको समयमा पनि मैले आफ्नो बाटो प्रस्ट गरिसकेको थिइनँ । हिप्पी र विद्यार्थी दुवै आन्दोलनमा सहभागी हुन्थेँ । त्यसपछि बिस्तारै मलाई संसारमा निराशा, असमानता र दुःख छ । तर, तिनको निवारण पनि छ भन्ने लाग्न थाल्यो । बौद्धदर्शनले पनि संसारका वर्तमान संकटलाई हल गर्न सक्दैन, त्यसैले माक्र्सवादी आन्दोलनबाटै मुक्तिको आख्यान बलियो हुन्छ– यही मान्यतामा डोहोरिँदै गएँ म । 

मलाई हिप्पी मनोदशाबाट ठ्याक्कै अलग पार्ने घटनाचाहिँ रामेछापको भ्रमण थियो । त्यसवेला विश्वविद्यालयमा पढ्दा राष्ट्रिय विकास सेवा भनेर दश महिना गाउँमा जानुपर्ने व्यवस्था थियो । त्यस कार्यक्रममा म रामेछाप गएको थिएँ । पहिलोपटक उपत्यकाभन्दा बाहिरको जीवन देख्न पाएँ । रामेछाप काठमाडौंबाट धेरै टाढाको जिल्ला थिएन तर त्यहाँ पुग्दा मेरो सोच्ने तरिका नै बदलियो । मेरो गाउँ र सहरका बीच ठूलो अन्तराल थियो । मेरो गाउँ र काठमाडौंका बीच सय वर्षको अन्तर छ जस्तो लाग्थ्यो मलाई । तर, मेरो गाउँ र रामेछापबीच नै अर्को सय वर्षको अन्तर छ जस्तो लाग्यो ।

तीन वर्षदेखि पानी परेको थिएन, भोकमरी बिकराल थियो । सत्ताले संरक्षण गरेका एक–दुईजनाबाहेक मैले त्यहाँ धनी मान्छे नै देखिनँ । सिंगो गाउँ नै भरियाले भरिएको थियो । मध्यम वर्ग भनिने परिवार सबै भरिया नै थिए । त्यसपपछि मलाई लाग्यो, हाम्रा पश्चिमका साथीहरूले भनेको दुःख र फ्रस्टेसनको तुलनामा यो दुःख त अर्कै रहेछ । यसबाट मुक्तिका लागि राजनीति नै गर्नुपर्ने रहेछ । साहित्यको हतियार फालेर भए पनि राजनीति गर्ने भनेर म काठमाडौं फर्किएको थिएँ ।  त्यसपछि मैले पुष्पलाल र मोहनविक्रमका पुस्तक पढ्न थालेँ । कम्युनिस्ट आन्दोलनका प्रतिबन्धित पुस्तकहरू खोजीखोजी पढेँ । 

 हिप्पीहरूले युवालाई  दुव्र्यसनी बनाए भन्न मिल्दैन
हिप्पीहरूले यहाँका युवालाई दुव्र्यसन सिकाए र समाजलाई विकृत बनाए भन्ने आरोप मलाई सत्य लाग्दैन । जुन ठाउँमा हिप्पी गएनन्, त्यहाँ पनि ड्रग त थियो । त्यसलाई र हिप्पी आन्दोलनलाई एकअर्कासँग जोड्नु हुँदैन । हिप्पीहरू शान्ति र आनन्दको खोजीमा आएका थिए । आनन्दको खोजी गर्ने उनीहरूले केमिकल ड्रग्स पनि प्रयोग गर्थे । मैले पनि नार्कोटिक ड्रग प्रयोग गरेँ । उनीहरूले आफू प्रयोग गरे तर अरूलाई सिकाए भन्न मिल्दैन ।  तर, सिंगो पुस्तालाई लागुपदार्थको लतमा लगाउने र पछि तिनै मान्छेलाई आफ्नो मार्केट बनाउने षड्यन्त्र गर्ने ड्रग्स व्यापारीको गिरोह संसारमा थियो र अहिले पनि छ ।

हिप्पीहरूसँग पनि ती ड्रग्स व्यापारी आए । सबै हिप्पीहरू सफा हृदय लिएर आएका थिएनन् । तस्करी गर्न आउने पनि थिए । सुरुमा नेपालमा गाँजा–चरेस प्रतिबन्धित थिएन । गाँजा त हाम्रोमा पहिल्यैदेखि खान्थे, शिवरात्रि गाँजापर्व नै हो । हिप्पीहरूले पनि यहाँको संस्कृतिसँग गाँजालाई मिलाए । उनीहरू शिवभक्तजस्तो देखिन्थे । ‘जय शम्भो’ भन्दै गाँजा तान्थे ।  तर, गाँजा र चरेसमा प्रतिबन्ध लागेपछि भने ती सामग्रीको ठूलो तस्करी हुन थाल्यो । तस्करहरू हिप्पीको भेषमा आउन थाले । त्यो अर्को पाटो भयो । ड्रग प्रयोग गर्ने कि नगर्ने भन्ने विषय व्यक्तिको आत्मअनुशासनसँग पनि जोडिन्छ । त्यसैले हिप्पीहरूले मात्रै सिकाए भनेर बुझ्नु हुँदैन । 

 हिप्पीहरूकै विषयमा हामीले  गतिलो साहित्य लेख्न सकेनौँ 
कुनै समय त्यत्रो ठूलो आन्दोलनको केन्द्र थियो काठमाडौं, तर साहित्यमा यस विषयलाई लिएर कुनै गतिलो आख्यान वा गैरआख्यान लेख्न सकिएको छैन । यस विषयमा मैले नै लेख्ने हो कि भनेर पनि सोचेको थिएँ । मसँग दुई–चार हिप्पी चरित्रहरू त हुने भए तर त्यसको जरामा पुग्न सकिनँ । उनीहरूप्रति मेरो सैद्धान्तिकभन्दा पनि भावनात्मक सरोकार बढ्ता भएकाले पनि आफैँले लेख्न कठिन छ । उनीहरूका सरल र भावुक कुराहरूमा म बढी आनन्दित भएँ । गहिराइमा पुग्न नसकेकाले मैले लेख्न सकिनँ, तर यो लेखिनुपर्ने विषय हो । 

(मनोज खतिवडासँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस