२०७६ मङ्सिर ५ बिहीबार ०७:४८:००
प्रविता श्रेष्ठ

कला बोकेका बहाल

शनिबारको बिदामा सखारैदेखि काठमाडौं न्युरोडस्थित संकटा मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लाग्छ । वरिपरि सवारीसाधनको चाप हुन्छ । पश्चिम दिशामा राजकीर्ति विहार, क्वाः पा द्यः मन्दिर र मूल चैत्य (मुगः द्यः) छन् । चारै कुनामा नौ र १० तले सुरिला अग्ला भवनहरू देखिन्छन् । दिउँसो पनि चहलपहल उस्तै रहन्छ । धेरैले संकटा मन्दिरको दृश्य बुझ्ने यस चारकुने परिसरको खास नाम तेः बहाल हो ।

यस्तै, असन इन्द्रचोकको दायाँबाट सानो गल्ली छिर्दै इटुम बहाल पुगिन्छ । इटुम बहालको मध्यभागमा चैत्य देख्न सकिन्छ । र, पश्चिममा छ, केशरचन्द्र परावर्त महाविहार । यो नेपालकै सबैभन्दा लामो बहाल हो । यस बहालमा स–साना चैत्यहरू पनि अन्य बहालमा भन्दा बढी छन् । तेः बहालजस्तै इटुम बहालमा पनि अग्ला र सुरिला नौ र १० तले भवनहरू छन् । स्थानीय बासिन्दाका अनुसार पहिले एक–दुई तले र दुईपाखे छत हुने गर्थे । तर, ती अहिले अग्ला सुरिला भवनमा परिणत भएका छन् ।

यी बहाल काठमाडौंका बज्राचार्य, शाक्य, महर्जनलगायत नेवार समुदायका बौद्धमार्गीहरूको चूडाकर्म र कर्मकाण्ड गर्ने ठाउँ हुन् । यटखा बहालआसपासमा बज्राचार्य र महर्जनहरूको बसोवास बढी छ भने इटुम बहालमा शाक्यहरू छन् । नेपाल भाषामा बहाललाई ‘बहाः’ भनिन्छ, जसको शाब्दिक अर्थ बौद्ध धर्मावलम्बीहरूको कर्मकाण्ड स्थल हुन्छ ।

संस्कृतिविद् गोविन्द टण्डनका अनुसार पहिले यी बहाल बौद्ध ज्ञान आर्जन गर्ने थलो थिए । त्यसैले हरेक बहालमा अनिवार्य विहार वा महाविहार राखिन्थ्यो । बौद्ध शिक्षाको परिपाटी काठमाडौंका अधिकांश बहालमा हराइसकेको छ । पाटन र भक्तपुरका बहालमा भने यसको निरन्तरता पाइन्छ । बहालका विहारमा प्रयोग गरिएको वास्तुशैलीको महत्व अलग्गै छ । टुँडालका काष्ठकृति, काठका आँखीझ्याल, कलात्मक मूर्ति, गजुर आदिमा प्रयोग भएको वास्तुशैलीले प्राचीन नेपालको कलाकारिता झल्काउँछ ।

बहाल भन्नाले चतुर्भुज आकारको स्थल हो । यसको मूल द्वारमा गणेश र महांकालका मूर्ति हुन्छन् । बहालको मध्यभागमा चैत्य र चैत्यको आमनेसामने शाक्यमुनि बुद्ध, लोकेश्वर, पदम पाणी वा पञ्चबुद्धका विहार र महाविहार हुन्छन् । बहालको मध्यभागमै मण्डला र वरिपरि बुद्धका स–साना मूर्ति हुने गर्छन् । बहाललाई घेरेका दुईतले भवन विगतमा शिक्षालय थिए । तर, अब ती भवन ९–१० तले व्यावसायिक र निजी आवासमा परिणत भइसकेका छन् । पाटनमा भने अझै पनि दुईतले शिक्षालय कायम छन् । संस्कृतिविद् टण्डनका अनुसार काठमाडौं उपत्यकामा करिब पाँच सय बहाल छन् ।

पाटनको कोः बहाल (हिरण्यवर्ण महाविहार) परिसर अन्य बहालभन्दा फरक छ । यसको गेटमा दुई ठूला सिंह र बुद्धका प्रतिमा कुँदिएका छन् । बहालभित्र छालाको जुत्ता लगाएर जान पाइँदैन । मध्यभागमा चाँदीको चैत्य र गर्भगृहमा शाक्यमुनि बुद्धको मन्दिर छन् । विहारको पछाडिपट्टि इनार छ । विहारका हरेक कर्ममा यही इनारको पानी प्रयोग हुन्छ । संस्कृतिविद् टण्डनका अनुसार मौलिक बहालहरूमा इनारको पनि व्यवस्था हुन्थ्यो ।

अर्को उदाहरण हो, उकुः बहाल । यस बहालमा पनि चैत्य र कलात्मक रुद्रवर्ण महाविहार छ । हिरण्यवर्णमा जस्तै यस महाविहारमा पनि बहालको मौलिकता झल्किन्छ । पाटनका अन्य प्रसिद्ध बहाल हुन्– ताः बहाल, सु बहाल, ज्योः बहाल, भिन्छे बहाल र गाः बहाल । पाटनमा करिब १८ वटा बहाल छन्, तीमध्ये १५ वटालाई विशेष महत्वका मानिन्छ ।

हिरण्यवर्ण महाविहारलाई गोल्डेन टेम्पलको नामले पनि चिनिन्छ । यसमा आठ सय वर्ष पुुरानो रीतिरिवाज अहिले पनि चलिरहेको महाविहारका गुभाजु चक्रराज बज्राचार्य बताउँछन् । भक्तपुरमा पनि बहाल छन् तर थोरै संख्यामा । त्यहाँका इनाचो, आजुदया, मुनि र आखान बहालमा कला र संस्कृतिको जीवन्तता पाइन्छ । मनाङ र मुस्ताङमा पनि बहाल छन् । तर, त्यहाँ तिनलाई  गुम्बा भनिन्छ ।