तारादेवी पुन  राष्ट्रिय खेलाडी, भारोत्तोलन
२०७६ मङ्सिर ४ बुधबार ०८:१०:००
नयाँ पत्रिका

‘ट्र्याकसुट’मै सहज लाग्छ : तारादेवी पुन 

पहिरन संवाद

०५९ सालदेखि भारोत्तोलन खेल्न थालेकी हुँ । त्यसअघि पश्चिमाञ्चलस्तरीय भलिबल खेलाडी थिएँ । सानैदेखि खेलकुदमा आबद्ध भएकाले होला मलाई अरू केटी मान्छेजस्तो पहिरन र साजसज्जामा ध्यान गएन ।

मलाई ‘ट्र्याकसुट’मै सहज लाग्छ । खेल मात्र होइन, दैनिक जीवनमा पनि ट्र्याकसुट नै लगाउँछु । साडी भने कहिलेकाहीँ बाध्यतावश लगाउनुपर्छ । बच्चै हुँदा कुर्ता–सुरुवाल लगाएको याद छ । त्यसबाहेक अहिलेसम्म कुर्ता–सुरुवाल लगाएकी छैन । करिब २० वर्ष भयो, मेरो जिउमा कुर्ता नपरेको ।

मेरो शरीरको आकारले पनि कुर्ता लगाउन दिँदैन । मेरो तौल अहिले ७६ किलो छ । ०५९ सालमा भारोत्तोलनको राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो वजन ६३ किलो थियो । त्यसैले कुर्ता लगाउँदा जिउ कता नमिलेकोजस्तो असहज महसुस हुन्छ । कहिलेकाहीँ क्याजुअल ड्रेस जिन्स पाइन्ट र टिसर्ट रोज्छु । नत्र साथीभाइसँग भेटघाट गर्दा र घरमा बस्दा ट्र्याकमै हुन्छु ।