२०७६ कार्तिक २० बुधबार ०७:४२:००
प्रविता श्रेष्ठ

चिटिक्क पाटन

५६ वर्षका गोविन्द रञ्जितकार ललितपुर पाटनका बासिन्दा हुन् । १२ वैशाख ०७२ को भूकम्प रोकिनासाथ उनी सबैभन्दा पहिले पाटन दरबार स्क्वायर पुगेका थिए । पुर्खाको धरोहर माटो र काठको थुप्रोमा परिणत भएको देख्दा उनका आँखा रसाए । ‘सुन्दर र सौम्य पाटन एक पलमै कुरूप बन्यो,’ उनी भन्छन्, ‘पुनर्निर्माण सकिएपछि फेरि पुरानै स्वरूपमा परिणत हुँदा मन आनन्दित भएको छ ।’

भूकम्पबाट पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा क्षतिग्रस्त बनेका थिए । चार नारायण मन्दिर, योगनरेन्द्र स्तम्भ, हरिशंकर मन्दिर, पाटन दरबार कम्प्लेक्सका दुई ठूला सिंहका मूर्ति पूर्ण रूपमा ध्वस्त भएका थिए । कृष्ण मन्दिर र त्यससँगैको विश्वनाथ महादेव मन्दिर पनि भित्री रूपमा कमजोर भएका थिए ।

पाटन दरबार कम्प्लेक्सभित्रका सुन्दरी चोक, उत्तर र दक्षिणका दुई तलेजु भवानी मन्दिर, मूल चोक, बहादुर शाह दरबारलगायत सम्पदामा आंशिक क्षति पुगेको थियो । तीमध्ये अधिकांश सम्पदाको पुनर्निर्माण सकिएको छ । दरबार क्षेत्रमा विदेशी पर्यटक पनि आउन थालेका छन् ।

पाटन दरबार क्षेत्रका १३ वटा सम्पदा पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो । तीमध्ये अधिकांशको पुनर्निर्माण सकिएको कोषको भनाइ छ । 

आन्तरिक/बाह्य पर्यटकले ‘मन्दिर कति राम्रो देखिएको’ भन्दै गर्दा सोही क्षेत्रका बासिन्दा सूर्यबहादुर रञ्जितकार गौरव महसुस गर्छन् । ढुंगाको काम गर्ने उनले बाबुसँग मिलेर कृष्ण मन्दिरको दोस्रो तलाको जीर्णोद्धार गरेका थिए । त्यसबारे जानकारी पाउनेले आफूहरूलाई दिने इज्जत जीर्णोद्धारको पारिश्रमिकका रूपमा पाएको पैसाभन्दा ठूलो भएको उनी बताउँछन् ।

पाटन दरबार क्षेत्रका १३ वटा सम्पदा पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो । तीमध्ये अधिकांशको पुनर्निर्माण सकिएको कोषको भनाइ छ । त्यसका लागि करिब १५ करोड ६० लाख ७४ हजार रुपैयाँ खर्च भइसकेको कोषले जनाएको छ । त्यसबाहेक भाइदेगः मन्दिर र भीमसेन मन्दिरको पुनर्निर्माण पुरातत्व विभाग, ललितपुर महानगरपालिका, मंगल टोल सुधार समिति र ललितपुर उद्योग वाणिज्य संघले गर्दै छन् ।