उत्तर कोरिया र अमेरिकाबीच स्वीडेनमा वार्ता सुरु 

२०७६ असोज १८ शनिबार १८:०९:००

उत्तर कोरिया र अमेरिकी अधिकारीहरुबीच वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम पुगेका छन् । उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै बेला दुबै देशका वरिष्ठ अधिकारीहरु वार्ताका लागि स्वीडेनमा भेला भएका हुन् ।

उत्तर कोरियाका किम म्योङ गिल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरेका छन् । 

उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा २०१८ र यसै वर्षको जनवरीमा पनि स्वीडेनमा वार्ता भएका थिए । 

उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् । 

उत्तर कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो । स्वीडेन प्रस्थान गर्नुअघि बेइजिङमा कुरा गर्दै उत्तर कोरियाली वार्ता टोलीका नेता किम म्योङ गिलले वार्ताप्रति आफूहरु निकै आशावादी रहेको बताएका थिए । 

संयुक्तराज्य अमेरिकाले पनि वार्ता पुनः शुरु हुने आशा व्यक्त गरेको थियो । तर भियतनामको हनोईमा सम्पन्न दोस्रो उच्चस्तरीय वार्ता भंग भएपछि दुबै देशबीच औपचारिक वार्ताहरु हुन सकेका छैनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले गरिरहेका सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी भइरहेको बताउँदै आएका थिए ।

सम्बन्धित समाचार