सभामुख महरामाथि कांग्रेस सांसदको आरोप

२०७५ पौष २४ मंगलबार १६:०७:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदले सरकारलाई संसदप्रति जवाफदेही बनाउन सभामुख कृष्णबहादुर महराले नचाहेको आरोप लगाएका छन् ।

कांग्रेसका प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडु र डा. डिला संग्रौलाले मंगलबार संचारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएर सभामुख महरा सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन गम्भीर नरहेको पुष्टि भएको बताए । 

बडुले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्बाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् गरेको आरोप लगाए । प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यमाथि सभामुखले तत्काल प्रश्न गर्न नदिएपछि कांग्रेसले आपत्ति जनाएको थियो । 

सांसद डिला संग्रौलाले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार लत्याएको भन्दै सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् । संसद विपक्षीको भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्था स्थापित गराउन लागिपर्ने बताइन् । 

कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिएर सभामुख महराले संसदीय मूल्य, मान्यताको अपहेलना गरेको आरोप लगाउँदै आएको छ ।