राजनीतिमा ‘स्ट्रङम्यान’को स्थायित्व

पाकिस्तानमा निर्वाचित सरकार, विशेषगरी प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका घटना दुर्लभ छन्

२०७६ भदौ २५ बुधबार ०९:०१:००

केही दिनअघि रोबर्ट मुगावेको निधन भयो, उनी जिम्बावे स्वतन्त्र भएपछि दशकौँसम्म सत्तामा बसे । उनले दिएका अभिव्यक्तिबाट कुर्सीमै मर्ने उनको चाहना स्पष्ट हुन्छ । सन् २०१६ को अफ्रिकन युनियनको सभामा उनले भनेका थिए– भगवान्ले नबोलाएसम्म म सत्तामै हुनेछु । तर, उनी सन् २०१७ मा सत्ताच्यूत भए, धन्न यसलाई ‘कु’ भनिएन । 

विकासशील देशमा मुगाबेको स्थायित्व अनौठो होइन । सद्दाम हुसेनले इराकमा सन् १९७९ देखि २००३ सम्म शासन गरे । युगान्डामा योवेरी कागुटा मुसेभेनी १९८६ देखि निरन्तर राष्ट्रपति छन् । सन् २००० यता बसर अल असद सिरियामा राष्ट्रपति छन्, उनीअघि उनका पिताले १९७१ देखि २००० सम्म सत्ता चलाएका थिए ।

इजिप्टमा होस्नी मुबारक १९८१ देखि २०११ सम्म सत्तामा रहे । उदाहरण अझै लामो हुन्छ । तर, यहाँ चर्चा गर्न खोजिएको पाकिस्तानको हो, जहाँ यो सूचीमा पर्ने गरी स्ट्रङम्यानले लामो अवधि सत्ता चलाएका छैनन् । दुग्र्भायवश, यहाँ निर्वाचित सरकार, विशेषगरी प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका घटना दुर्लभ छन् ।

सन् २००८ पछि निर्वाचित सरकारलाई आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्न नै सकस पर्ने गरेको छ । लियाकत अली खान, युसुफ राजा गिलानी र नवाज सरिफ आफ्ना समकक्षीको तुलनामा लामो समय सत्तामा रहे ।

उनीहरूले ४ वर्षभन्दा बढी समय सत्ता चलाए । जुल्फिकर अली भुट्टोलाई प्राविधिक रूपमा यसमा गणना गर्न मिल्दैन, किनकि उनी सन् १९७१ देखि ७३ सम्म राष्ट्रपति थिए, जब नयाँ संविधान जारी भयो, त्यसपछि उनले प्रधानमन्त्री पद सम्हाले । 

निर्वाचित नेता छोटो समय सत्तामा टिकेको इतिहास भए पनि तुलनात्मक रूपमा पाकिस्तानी सैन्य तानाशाहहरू भने लामो समय सत्तामा रहने गरेका छन् । तर, बाँकी विश्वलाई नियाल्दा उनीहरूको रेकर्ड पनि राम्रो छैन । उदाहरणका लागि, जिया उल हकले ११ वर्षसम्म सत्ता चलाए भने परवेज मुसर्रफ ८ वर्षसम्म सत्तामा रहे ।

उनीहरूले मुस्किलले एउटाभन्दा बढी चुनाव जितेका छन् ।  जब कि, सुडानका सैन्य तानाशाह ओमर हस्सन अहमद अल बसिरले १९८९ देखि निरन्तर ३ दशक  शासन गरे । उनले त्यसक्रममा तीनपटक राष्ट्रपतीय चुनाव पनि जिते ।

राज्यका नागरिकको व्यवहारका कारण पनि यस्तो भएको हो । उनीहरू लामो समयसम्म एकै व्यक्तिबाट शासित हुन चाहन्नन् । जस्तो, अयुब, जिया वा मुसर्रफले निर्वाचित नेतासँग पावर सेयरिङ गर्न चुनाव पनि गराए । तर, यस्तो कदमले उनीहरूलाई लामो समय टिकाउन सकेन । 

निर्वाचित नेता छोटो समय सत्तामा टिकेको इतिहास भए पनि तुलनात्मक रूपमा पाकिस्तानी सैन्य तानाशाहहरू भने लामो समय सत्तामा रहेका छन् 
 

खासमा सन् १९९९ को सैन्य ‘कु’ लगत्तै पञ्जाबका एक नेताले आत्मविश्वासी ढंगले भविष्यवाणी गरेका थिए, ढिलो–चाँडो मुसर्रफले पनि निर्वाचन गर्नैपर्छ । उनको भविष्यवाणीलाई यथार्थपरक ठानिएको थिएन, तर साँचो यही थियो ।

दुई वर्षपछि मुसर्रफले स्थानीय सरकारको चुनाव गराए, धेरै वरिष्ठ राजनीतिज्ञले पनि यसमा सहभागिता जनाए । यसका अतिरिक्त निर्वाचनमा तानाशाहले आफ्नो हालिमुहाली पनि गर्न पाएनन्, संसद्मा उनको पूर्ण नियन्त्रण रहेन ।

मुसर्रफको पार्टीले बल्लतल्ल साधारण बहुमतसम्म ल्यायो । पावर सेयरिङ राजनीतिभन्दा कठिन हो । नेताहरू राज्यको स्रोत र सरकारको समर्थनमा रुचि राख्छन्, उनीहरूसँग ‘बार्टर’ गर्नुको विकल्प तानाशाहसँग हुँदैन ।

तानाशाहहरूको पतनको अर्को कारण सैनिक स्वयं नै हुन्छन् । सैनिककै असहयोग र धैर्य समाप्त भएपछि बिस्तारै ‘वान म्यान रुल’ ढल्छ र निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । अयुब र मुसर्रफ सरकारलाई लामो आन्दोलनले कमजोर बनाएको थियो, यसलाई उनीहरूकै कमान्डमा रहेका संस्थाले निरुत्साहित गरेनन् । 

ठीकविपरीत, इराकमा सद्दाम हुसेनको सत्ताले सैनिकभित्रै आफ्नो दस्ता बनाएको थियो, जसले उनको सुरक्षा गथ्र्यो । स्पेसल रिपब्लिकन गार्डको नेतृत्व सद्दामकै छोराले गरेका थिए र यसमा आफूनिकट जातिका जवान भर्ती गरेका थिए । त्यसपछि यस दस्तासँग भएको स्रोत–साधनले बाँकी सैनिकलाई निरुत्साहित गरेको थियो ।

व्यक्तिगत स्वार्थमा आधारित यस्ता निर्णय पाकिस्तानी सेनामा भएको सुनिँदैन । त्यसैले सैन्य तानाशाहहरू झन्डै एक दशकसम्म सत्तामा रहन सक्छन्, तर एकपटक बर्दी त्यागिसकेपछि उनीहरू गुमनाम हुन्छन् । ठीकविपरीत, क्रूरतापूर्वक प्रधानमन्त्री कार्यालयबाट निकालिए पनि निर्वाचित नेताहरूले लामो समयसम्म राजनीतिक परिदृश्यमा हस्तक्षेपकारी भूमिका खेल्छन् । 

(नुर पत्रकार हुन्)पाकिस्तानी सञ्चार माध्यम डनबाट
 

सम्बन्धित समाचार