नेपाल भ्रमण वर्ष सफल बनाउन जुटेका छौँ : शाक्य

२०७६ श्रावण २९ बुधबार ०६:१३:००

फाइल फाेटाे

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताएका छन् । राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शाक्यले भ्रमण वर्ष सफल बनाउन महानगर केन्द्रित भएको बताएका हुन् । 

‘यतिवेला काठमाडौं महानगरपालिकाको ध्यान भ्रमण वर्ष २०२० तर्फ केन्द्रित भएको छ,’ शाक्यले भने, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिकाभित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्नेजस्ता कार्यमा लागेका छौँ । यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो ।’ उनले भ्रमण वर्ष २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मिहिनेत गर्नुपर्ने बताए ।

 सबैको सहयोग आवश्यक
उनले सम्पदा निर्माण एकजनाको मात्र पहलमा सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए । ‘सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ,’ उनले भने, ‘अन्य ठाउँमा सम्पदा पुनर्निर्माणमा पनि तपाईंहरू जुट्नुहोस । म सहयोग गर्न तयार छु ।’

काठमाडौं महानगरपालिकाको २२ लाख २४ हजार नौ सय ४६, सांसद विकास कोषको आठ लाख ११ हजार नौ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार चार सय दुई रुपैयाँ सहयोगमा मन्दिर निर्माण भएको हो । 

 

 

सम्बन्धित समाचार