आर्थिक वर्ष २०७५/७६ मा नेपाल विद्युत प्राधिकरणको ७ अर्ब नाफा

२०७६ श्रावण २८ मंगलबार १६:१४:००

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब भन्दा बढी नाफा कमाएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५÷७६ मा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको जानकारी दिएका हुन् । २०७४÷७४ मा प्राधिकरणले २ अर्ब ९० करोड नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा , व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमि ल्याएको छ । अघिल्लो वर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलव १३ प्रतिशत छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समय देखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोर लगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । उनले काठमाण्डौ उपत्यकालाई तार रहित बनाउने अभियान अन्र्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए ।

उनले विद्युत् चुहावटमा कमि ल्याउदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दे अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरे ।