२०७५ पौष २१ शनिबार १०:४४:००
अस्मिता ढकाल

व्यापार युद्धले विश्व अर्थतन्त्रमा मडारिएको कालो बादल

सन् २०१९ मा विश्वको सबैभन्दा ठूलो समस्या चीन र अमेरिकाबीचको व्यापार युद्ध नै होला भन्ने धेरैको अनुमान हुन सक्छ । तर, वास्तवमा यो वर्ष विश्वले यी दुई शक्तिशाली राष्ट्रबीचको व्यापार युद्ध ठूलो परिमाणको व्यावसायिक असफलताजस्ता समस्याको सामना गर्नुपर्ने देखिएको छ । पक्कै पनि यसमा बैंकिङ असफलता  पनि पर्छ ।  गत वर्ष विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या भनेको यही अर्थात् चीन र अमेरिकाको व्यापार युद्ध नै थियो । यसले विश्वव्यापीकरण र आर्थिक वृद्घिमा बाधा आउने डरलाई बढाइदिएको थियो र भयो पनि त्यस्तै नै । दुई राष्ट्रबीचको व्यापार प्रतिबन्धका कारण विश्व अर्थतन्त्रले चोट खायो । तर, यो वर्ष भने वित्तीय बजार र विश्वव्यापी कर्पोरेसनले यी दुई पक्षलाई वार्ताको टेबुलमा ल्याउनेछ । 

 

यो वर्ष व्यावसायिक क्षेत्रमा भएको चरम असफलताका कारण राम्रो जीवनस्तर कायम राख्न विदेशी पुँजीमा निर्भर उदीयमान बजारका अर्थतन्त्रका बैंकहरू पनि प्रभावित हुने अनुमान छ । यस्तो हुनुमा बढ्दो ब्याजदर र हालैका वर्षहरूमा केन्द्रीय बैंकरहरूले निर्माण गरेको ‘इजी मनी’ अन्त्यलाई प्रमुख कारण मान्न सकिन्छ ।  इजी मनीले विश्व अर्थतन्त्रको माग र आपूर्ति दुवैलाई उचाइमा पुर्‍याउँछ । मागको कुरा गर्ने हो भने यसले उपभोक्तालाई बढी ऋण लिन प्रेरित गर्छ । उदाहरणका लागि सन् २००८ मा कुल गार्हस्थ उत्पादनको १८ प्रतिशत रहेको चीनको ऋणको स्तर गत वर्ष बढेर ५० प्रतिशतमाथि पुगेको थियो । उता चीनको कर्पोरेट क्षेत्रको ऋणको परिमाण ठूलै भए पनि यो उजागर भने भइसकेको छैन । 

उता आपूर्तितर्फ इजी मनीले कर्पोरेसन र उद्यमीहरूलाई न्यून नाफा हुने व्यावसायिक अवसरको खोजी गर्न प्रेरित गर्छ । उदाहरणका लागि सन् २००९ मा ६७ प्रतिशत रहेको अमेरिकाको कुल औद्योगिक क्षमता प्रयोग सन् २०११ मा भने झन्डै ८० प्रतिशतमा पुगेको तथ्यांकले देखाएको छ । सरल भाषामा भन्ने हो भने इजी मनीले विश्व अर्थतन्त्रलाई उच्च वृद्घिको चक्रमा राख्छ । उपभोक्ताको ऋण धेरै हुनुले खर्च पनि बढाउँछ । धेरै खर्चले लगानी र नयाँ व्यावसायको सिर्जनामा इन्धनको काम गर्छ । यी दुवैले फेरि आर्थिक वृद्घिमा सहयोग गर्छ, जसले अन्ततः आम्दानी र रोजगारीलाई बढावा दिन्छ । यसै क्रममा लगानी धेरै भयो भने त्यसले अर्थतन्त्रको उत्पादकत्व क्षमता बढाउँछ भने मुद्रास्फीतिलाई पनि स्थिर राख्छ । र, यसले केन्द्रीय बैंकहरूलाई उनीहरूको स्वतन्त्र पैसा नीतिलाई जारी राख्न पनि अनुमति दिन्छ । 

हालैका केही महिनामा भने कुराहरू परिवर्तित भइरहेका छन् । केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेका छन् र स्वतन्त्र पैसाको सुनामीको गति पनि कमजोर भइरहेको छ । र, यसले अर्थतन्त्रको माग र आपूर्ति साइडलाई उँधोगतितर्फ धकेल्न सक्ने अनुमान गरिएको छ । मागको कुरा गर्ने हो भने स्वतन्त्र पैसाको अन्त्य हुँदा उपभोक्तालाई थप ऋण लिन गाह्रो हुन्छ भने आपूर्तितिरको कुरा गर्ने हो भने यसले न्यून नाफा उन्मुख व्यवसायलाई तलतिर धकेल्छ । सामान्य भाषामा भन्नुपर्दा स्वतन्त्र पैसाको अन्त्यले विश्व अर्थतन्त्रलाई सुस्त वृद्घिको खराब चक्रतर्फ लगिरहेको छ । उपभोक्ताको ऋण घट्दा उनीहरूको खर्च पनि घट्छ र कम खर्चले शृंखलाबद्ध व्यावसायिक  असफलता निम्त्याउँछ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध केही मत्थर बनाउने विषयमा वार्ता भएका भए पनि यसको समाधान यति छिट्टै निस्कने छाँट भने देखिन्न । स्टिल र आल्मुनियममा अमेरिकाले लगाएको आयात महसुलका कारण ठूलो संख्यामा अमेरिकी व्यापार साझेदारहरू नराम्ररी प्रभावित भएका छन् । व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई आर्थिक परिदृश्यको कालो बादलका रूपमा हेर्न सकिन्छ ।

सन् २००८/०९ मा केन्द्रीय अमेरिकी बैंक फेडेरल रिजर्भ (फेड)ले ब्याजदर बढाउँदा अमेरिकी अर्थतन्त्र मन्दीमा फसेको थियो । सो अवधिमा अमेरिकी व्यावसायिक असफलता प्रतित्रैमास ६ हजारमा उक्लिएको थियो भने बैंक असफलताको संख्या पनि १ सय ५७ पुगेको थियो ।  यसपटकको समस्या भनेको विश्वमा विश्वव्यापीकरण विरोधी विचारहरूको उदय हुनु हो, जसले सन् २०१९ को विश्व अर्थतन्त्रको निराशावादी परिदृश्यमा इन्धनको काम गरेको छ । युरोपमा हुन लागेको चुनावले युरोपेली क्षेत्रको भविष्य कोर्नेछ भने एसियाली आर्थिक वृद्घि पनि सुस्ताउँदै गएका कारण यसले विश्वव्यापीकरण विरोधी विचारलाई थप बढाउन सक्ने अनुमान गरिएको छ । 

गत वर्ष विश्व अर्थतन्त्रमा कालो बादल छाएको भए पनि समग्रमा भन्ने हो भने सन् २०१८ लाई अर्थपूर्ण हिसाबले मजबुत वर्ष मान्न सकिन्छ । गत वर्ष अमेरिकी आर्थिक वृद्घिमा मिश्रित नतिजा देखियो । बीचका दुई त्रैमासमा वृद्घिको गति राम्रो भएको थियो भने अन्तिम त्रैमासको नतिजा यसै महिनाको अन्त्यतिर सार्वजनिक हुनेछ । अन्तिम त्रैमास केही सुस्ताउने अनुमान गरिएको भए पनि समग्रमा गत वर्षको वृद्घिलाई राम्रै मान्न सकिन्छ । चीनमा पनि तीन दशकसम्मको सुदृढ वृद्घिपछि आएको आर्थिक सुस्ती गत वर्ष पनि जारी नै रह्यो । तर, गत वर्ष अर्थतन्त्र ६ दशमलव ६ प्रतिशतले बढेको हुन सक्ने अनुमान गरिएको छ, जुन औसत जीवनशैलीमा महत्वपूर्ण सुधार ल्याउन पर्याप्त छ । यो वर्ष र अर्का वर्ष पनि चिनियाँ अर्थतन्त्रमा पुनर्बहाली कायम नै रहने अधिकांशको अनुमान छ । 

यो वर्ष अमेरिकी अर्थतन्त्रमा केही सुस्ती आउने देखिएको छ । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर कटौतीसम्बन्धी नियम कार्यान्वयनमा ल्याएका थिए । गत वर्षको वृद्घिलाई यसैको प्रतिनिधित्व पनि भन्न सकिन्छ । यसको प्रभाव कतिसम्म रहिरहला भन्नेमा भने केही शंकै छ । केही समयपछि यसको प्रभाव उड्छ वा काम र लगानी सहुलियतमा यसको प्रभाव दीर्घकालीन रहन्छ भन्नेमा विवाद पनि छ । त्यस्तै उता फेडले पनि मुद्रास्फीति २ प्रतिशत नजिक राख्न ब्याजदर वृद्घि गत वर्षको जस्तै जारी राख्छ वा राख्दैन भन्ने कुराले पनि आर्थिक वृद्घिमा महत्वपूर्ण प्रभाव पार्छ । गत वर्ष फेडले चारपटक ब्याजदर बढाएको थियो । ट्रम्पको भनाइमा अमेरिकी अर्थतन्त्रमा रहेको एउटै समस्या भनेको फेड हो र यसले थुपै्र हानि गर्न सक्छ ।  त्यस्तै अमेरिकाको व्यापार प्रतिबन्धमा भएको वृद्घिले पनि अमेरिकी आर्थिक वृद्घि र अन्ततः अन्तर्राष्ट्रिय व्यापारलाई नै कमजोर पारिदिन सक्छ । चीनमाथि अमेरिकाले लगाएको प्रतिबन्ध र त्यसको जवाफमा चीनले लगाएको प्रतिबन्धका कारण विश्व अर्थतन्त्र नै समस्यामा पर्न सक्ने देखिएको छ । चीनका अधिक वस्तुमाथि अमेरिकाले आयात महसुल लगाउने र बढाउने क्रम तीव्र छ ।

यी दुई राष्ट्रका प्रमुखहरूबीच व्यापार युद्ध केही मत्थर बनाउने विषयमा वार्ताहरू भएका भए पनि यसको समाधान यति छिट्टै निस्कने छाँट भने देखिन्न । स्टिल र आल्मुनियममा अमेरिकाले लगाएको आयात महसुलका कारण ठूलो संख्यामा अमेरिकी व्यापार साझेदारहरू नराम्ररी प्रभावित भएका छन् । व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई आर्थिक परिदृश्यको कालो बादलका रूपमा हेर्न सकिन्छ ।  उता युरोपमा पनि आफ्नै समस्याहरू छन् । गत वर्षको तेस्रो त्रैमासको तथ्यांकले १९ युरोपेली सदस्य राष्ट्रको समूह युरोजोनको अर्थतन्त्र नराम्ररी सुस्ताएको देखाएको छ । युरोपमा सवारीसाधनको कार्बन उत्सर्जनमाथिको अनुसन्धानबाट मोटर उद्योगमा केही बाधा उत्पन्न भएका कारण पनि आर्थिक वृद्घि प्रभावित भएको हुन सक्छ र यो केही समयका लागि मात्रै पनि हुन सक्ने अनुमान छ । तर, यो आर्थिक वृद्घिको गति गुम्ने कुराको सुरुवात पनि हुन सक्छ । 

गत वर्ष विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या भनेको चीन र अमेरिकाको व्यापार युद्ध नै थियो । यसले विश्वव्यापीकरण र आर्थिक वृद्धिमा बाधा आउने डरलाई बढाइदिएको थियो र भयो पनि त्यस्तै । दुई राष्ट्रबीचको व्यापार प्रतिबन्धका कारण विश्व अर्थतन्त्रले चोट खायो । तर, यो वर्ष भने  वित्तीय बजार र विश्वव्यापी कर्पोरेसनले यी दुई पक्षलाई वार्ताको टेबुलमा ल्याउनेछ । 
 

त्यस्तै बेलायत युरोपेली संघबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटजस्ता व्यापारिक चिन्ता पनि युरोपमा छँदै छ । बेलायतले आगामी मार्च २९ मा युरोपेली संघ छोडिसक्नुपर्नेछ । यस्ता परिणामहरूले बेलायत तथा युरोपेली क्षेत्रबीचको व्यापारमा ठूलो बाधा निम्त्याउन सक्ने जोखिम पनि उत्तिकै छ ।  यसै क्रममा सेयर बजारको कुरा गर्ने हो भने गत वर्ष विश्वको सेयर बजार विश्वव्यापी वित्तीय संकटयताकै खराब अवस्थाबाट गुज्रिएको थियो । सेयर मूल्यमा आएको कमी आउन लागेको व्यापक आर्थिक समस्याको चेतावनीयुक्त संकेत पनि हुन सक्छ । तर, घट्दो सेयर मूल्यलाई आउन लागेको आर्थिक मन्दीको विश्वसनीय सूचक भने मान्न सकिँदैन । बजारले कहिलेकाहीँ खराब संकेत पनि दिन सक्छन् । 

सरकारी ऋणको पनि व्यापार हुने ऋण बजारलाई पनि अमेरिकी आर्थिक परिदृश्यको चेतावनी संकेतका रूपमा पनि लिइएको छ । यसको अर्थ के हो भने यो वर्ष नभए पनि अर्को वर्ष अमेरिकामा आर्थिक मन्दी आउने अनुमान गरेका छन् । अर्थशास्त्रीहरूले अनुमान गरेका मन्दीको सामना गर्न सरकार र फेडलाई धेरै कठिन हुने पनि चेतावनी दिइएको छ ।   चीनमा पनि सरकारी र निजी क्षेत्रको ऋणका कारण अर्थतन्त्रको आकारबारे चिन्ता उब्जिएको छ र यसले पनि वित्तीय स्थायित्वलाई कमजोर बनाउन सक्छ । व्यावसायिक सर्वेक्षणअनुसार डिसेम्बरमा चीनमा नयाँ म्यानुफ्याक्चर अर्डर दुई वर्षमा पहिलोपटक घटेको छ । यीबाहेक, विश्वव्यापी असमानता, असमानता आर्थिक विकास, गरिबी, गैरनवीकरणीय ऊर्जाको पतन, वातवारणको दुरुपयोग, विश्वव्यापी तापक्रम वृद्घि र वित्तीय बजारको अपर्याप्त नियमनसँग जोडिएको व्यवस्थित समस्याहरूले पनि विश्वको आर्थिक परिदृश्य धूमिल बनाउने देखिन्छ ।

एजेन्सीको सहयोगमा