रुसको इतिहास पुनर्लेखन गर्दा

रुसको इतिहास खोतलेर हेर्दा सबैभन्दा पीडादायक अध्यायलाई सुरुदेखि नै छायामा पारेको पाइन्छ

२०७५ पौष २० शुक्रबार ०८:२६:०० | काठमाडाै‌

मेरो देशका नागरिक प्रायः भन्ने गर्छन्– रुस अप्रत्याशित इतिहास बोकेको देश हो । यो भनाइ सत्य हो । शक्तिमा भएकाहरूको राजनीतिक एजेन्डा र राजनीति रंगलाई ठाउँ दिन हाम्रो देशको इतिहास प्रायः पुनर्लिखित हुँदै आएको छ । सोभियत संघले सन् १९४५ मा नाजी जर्मनीमाथि हासिल गरेको जितको वार्षिक खुसियाली मनाउने क्रममा यो मानसिकता स्पष्ट रूपमा झल्किने गरेको छ ।

विजयोत्सवको अवसरमा सडकमा सैनिक परेड, स्मृति समारोह तथा कन्सर्टको आयोजना गरिन्छ । किन्डरगार्टेनरहरू सैनिक पोसाकमा सजिन्छन् । सरकारी अधिकारीले सम्झनाका रूपमा सेन्ट जर्जको प्रतीकलाई कालो तथा सुन्तला रंगको रिबनमा उन्छन् । रुसले यसलाई जितको उन्मादका रूपमा व्याख्या गर्छ ।

रुसको इतिहासमा सोभियत युनियनका सफलता तथा क्रियाकलापलाई प्राथमिकता र केन्द्रमा राखिएको छ । दोस्रो विश्वयुद्ध सुरु हुँदै गर्दा जोसेफ स्टालिन र एडल्फ हिटलरबीच भएको समझदारीदेखि जापानमाथि अमेरिकी सेनाले हासिल गरेको जितलाई अनावश्यक अंश ठान्दै रुसी इतिहासबाट हटाइएको छ ।

रुसको इतिहास संशोधन गर्दा दोस्रो विश्वयुद्धको सिलसिलासमेत पुनर्लेखन गर्नुपर्ने हुन्छ । बाँकी विश्वका लागि दोस्रो विश्वयुद्ध १ सेप्टेम्बर १९३९ बाट सुरु भयो ।

तर, रुसका लागि ‘विशाल देशभक्ति युद्ध’ हिटलरले सोभियत संघमा आक्रमण गरेपछि सुरु भयो भने ९ मे १९४५ नाजी जर्मनीले आत्मसमर्पण गरेपछि समाप्त भयो । तर, सोही वर्षको अन्त्यमा जापानले औपचारिक रूपमा आत्मसमर्पण गरेको समयलाई रुसले दोस्रो विश्वयुद्ध समाप्ति मिति मान्दैन ।

 राष्ट्रिय गौरवसँग जोडिएको शीतयुद्ध हारेपछि पाएको पीडादायक लज्जालाई भुलाउन विश्वयुद्धमा सोभियत युनियनले पाएको सफलतालाई रुस सरकारले रुसी जनतामाझ बाँढ्ने गरेको छ । विभिन्न अध्ययनले पनि रुसी जनताको गर्वको प्रमुख कारण इतिहास नै भएको देखाउँदछन् ।

दोस्रो विश्वयुद्धमा सोभियत संघले पाएको विजयलाई जोड दिनुको कारण सन् २०१४ मा युक्रेनमाथि रुसले गरेको सैन्य हस्तक्षेपलाई वैधानिकता दिनु पनि हो । सन् २०१३ को युरोमेडन प्रदर्शनपछि रुसको राजनीतिक परिवर्तन युरोपियन युनियननजिक पुगेको छ ।

रुसी प्रोपोगान्डा मेसिनले यस परिवर्तनलाई पश्चिमा जगतले रचेको ‘नवनाजी कु’का रूपमा व्याख्या गर्न सकेको छैन । रुसी जनताले राज्यको स्वामित्वमा रहेका रुसी टेलिभिजनमा फासीवादी शक्तिहरूले रुसका छिमेकी देशहरूको सुरक्षामाथि धावा बोलेको भन्ने समाचारहरू प्रसारण भएको हेर्ने गर्छन् ।

युक्रेनमा बस्दै आएका हजारौँ साम्प्रदायिक रुसी नागरिकको उद्धारका लागि मस्को युक्रेन जानुपरेको हो भन्ने प्रकृतिका समाचार प्रसारण हुने गरेका छन् । दोस्रो विश्वयुद्ध जित्न युद्ध लडेका बहादुर पुर्खाहरूको प्रशंसासहितको सम्झनाले रुसमा पुरानो सोभियत सत्तालाई आंशिक रूपमा पुनर्जागृत गरेको छ ।

सैन्य परेडमा जुँगासहितका स्टालिनका तस्बिर देखिन थालेका छन् । स्टालिनको नाम जोडेर सडकका नामहरू राखिन थलेका छन् ।

नाजी जर्मनीले गरेको अपराधसँग सोभित संघले गरेका अपराधको तुलना गर्न रुसमा प्रतिबन्ध लगाइएको छ । सन् २०१४ मा नाजीवादविरुद्धको कानुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका थिए । यस व्यवस्थाअनुसार दोस्रो विश्वयुद्धका दौरान सोभियत संघले गरेका क्रियाकलापबारे नियतवश झुटो सूचना फैलाउने तथा रुसको सैन्य कीर्ति धमिल्याउनेलाई कारबाही गरिन्छ ।

यतिसम्म कि दोस्रो विश्वयुद्धताका नाजीवादी र सोभियतवादीहरूबीच साझेदारी भएको थियो भन्ने संकेत मात्र गर्दा पनि रुसमा सजायको भागीदार हुनुपर्छ । पोल्यान्डमा पनि यस्तै व्यवस्था छ ।

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले सन् २०१८ मा पोल्यान्डको ‘स्मृति कानुन’ संशोधन गरे । जसअनुसार पोल्यान्डमा नाजीले गरेको अपराधमा तत्कालीन पोल्यान्ड सरकारको मिलेमतो भएको भनी कसैले आवाज उठाउन नसक्ने व्यवस्था राखिएको छ ।

विभिन्न घटनाक्रमलाई हेर्दा इतिहासका काला पानालाई रुस अझै स्विकार्न तयार छैन भन्ने स्पष्ट हुन्छ । विगतका घटनाको जिम्मेवारी लिनेभन्दा पनि तिनलाई लुकाउन रुस उद्यत् छ । यसकारण, भविष्यमा इतिहास खोतल्नेको भविष्य पनि जोखिमले घेरिएको हुनेछ ।
 

दोस्रो विश्वयुद्धताका पोलिस भूमिका भएका अपराधसँग पोल्यान्ड सरकारको संलग्नता जोडेर आरोप लगाउनेहरू अहिले कारबाहीको भागीदार हुनुपर्छ । आलोचकहरूले चाहिँ विरोधीलाई सिध्याउन डुडा सरकारले यस्तो व्यवस्था लागू गरेको भनी आलोचना गर्दै आएका छन् ।

तर, यस व्यवस्थालाई लिएर घरेलु तथा अन्तर्राष्ट्रिय समुदायले व्यापक भत्र्सना गरेपछि पोलिस कानुन निर्माताहरूले पछाडि हट्दै सजाय नरम बनाएका छन् । तर, रुसमा स्थिति निकै खराब छ । पुटिन सरकार विरोधी अभियन्ताविरुद्ध यस कानुनको प्रयोग गरेर उनीहरूको मुख थुन्ने हतियारका रूपमा प्रयोग गर्दै आएको छ ।

उदाहरणका लागि, पुटिन सरकारको प्रतिपक्ष दलका नेता अलेक्जाई नभाल्नीका समर्थकहरूले सोसल मिडियामा दोस्रो विश्वयुद्धसँग जोडिएको भोल्गोग्राडस्थित एक स्मारकको तस्बिर फोटोसप गरेर सेयर गरेको नाउँमा नाभाल्नीलाई पक्राउ गरियो ।

रुसी सेनाको गौरवसँग जोडिएको प्रतीकको अवहेलना गरेको आरोपमा नाभाल्नीलाई पक्राउ गरिएको थियो । केही अज्ञात समूहले उनीमाथि हातपात पनि समेत गरेका थिए ।

रुसको इतिहासलाई खोतलेर हेर्दा इतिहासका सबैभन्दा पीडादायक अध्यायलाई सुरुदेखि नै छायामा पारेको पाइन्छ । त्यसकारण रुसको इतिहास खोतल्ने कार्य कम जोखिमपूर्ण छैन । उत्तरी रुसमा रहेको अँध्यारो सन्दरमोख जंगलमा भएको घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ ।

त्यस क्षेत्रमा सन् १९३७ मा स्टालिन नेतृत्वको नरसंहारमा सयौँ निर्दोष मानिसहरू मारिएका थिए । १९९० को दशकमा मारिएकाहरूको सामूहिक चिहान भेटिएयता हरेक वर्ष उनीहरूको सम्झनामा श्रद्धाञ्जली दिन मानिसहरू भेला हुने गरेका छन् । यस वर्ष पनि यस्तो भेलाको आयोजना भयो ।

तर, कुनै पनि सरकारी अधिकारी श्रद्धाञ्जली सभामा सहभागी भएनन् । सो सामूहिक चिहान पत्ता लगाउने तथा उत्खनन गर्ने इतिहारकार युरी डिमित्राभ यतिवेला जेल सजाय काटिरहेका छन् ।

धर्मपुत्रीमाथि यौनदुव्र्यवहार गरेको ठहर गर्दै उनलाई सजाय दिइयो । डिमित्राका समर्थकहरूका अनुसार सोभियत संघले गरेको अपराधको पर्दाफास गरेका कारण उनलाई कारबाही गरिएको हो । डिमित्रालाई कारबाही गरेको केही हप्तापछि रुसको सैनिक इतिहास समाजले सो क्षेत्रमा उत्खनन गर्न थाल्यो ।

हिउँदेयुद्ध दौरान फिनल्यान्डका गुरिल्ला सेनाबाट हत्या गरिएका सोभियत सेनाको शव गाडिएको भनी प्रमाणित गर्न सरकार नै लागिपर्‍यो ।   यी घटनाक्रमलाई हेर्दा, इतिहासका काला पानालाई रुस अझै पनि स्वीकार गर्न तयार छैन भन्ने स्पष्ट हुन्छ ।

विगतमा भएका घटनाको जिम्मेवारी लिनेभन्दा पनि ती घटनालाई लुकाउन रुस उद्यत् छ । यसकारण, भविष्यमा इतिहास खोतल्ने भविष्य पनि जोखिमले घेरिएको हुनेछ ।

(लेखक रुसी उपन्यासकार तथा निबन्धकार हुन् । ‘द माउन्टेन एन्ड द वाल’ र ‘ब्राइड एन्ड ग्रुम’ उनका प्रसिद्ध कृति हुन् ।)

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

प्रतिकृया दिनुहोस